बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १५:४७ | UK Time: 11:02

लोग्नेले ढाँट्दा अरूलाई सास्ती

वीनेपाली
२०७१ कार्तिक १० गते १३:३९

khimakala

मुस्किलले १० जना मानिस अटाउन सक्ने झुपडी। रातो माटोले पोतिएका साना, सफा र चिटिक्क परेका कोठा।

बमकला खड्काको घर। घरभित्र चार वर्षकी उनकी सानी छोरी खेलिरहेकी थिइन्। ‘यसलाई केही थाहा छैन। यो सानै थिई’, माटोको घैलाबाट पानी सार्दै बमकलाले भनिन्।

तीन वर्षअघि बमकलाका लोग्ने खसे। त्यतिबेला उनी २७ वर्षकी थिइन्। उनका लोग्नेलाई एचआईभी एड्स लागेको थियो। बमकला र उनका आठ वर्षका छोरालाई पनि एचआईभी लागेको छ। यस घरमा एचआईभी नलागेको मान्छे बमकलाकी छोरी मात्र हुन् जो चार वर्षकी छिन्।

एचआईभीका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था दाङ प्लसका अध्यक्ष प्रकाश नेपालीका अनुसार दाङमा एक सय ७२ जनालाई एचआईभी लागेको छ। तीमध्ये ८२ जना पुरुष छन् भने ९० जना महिला।यीमध्ये लगभग ८० प्रतिशत मानिस भारतमा एचआईभी सङ्क्रमित भएर नेपाल फर्किएका हुन्।

०७१ असारसम्ममा एचआईभीले गर्दा दाङका १५ जना मानिसको मृत्यु भइसकेको छ।
एचआईभी लागेका धेरैले बेलैमा आफूलाई एचआईभी लागेको बताउँदैनन्। यसले गर्दा समस्या अझ जटिल बन्छ। बमकलाको श्रीमानले आफूलाई एचआईभी भएको कुरो लुकाए। श्रीमान् बारम्बार बिरामी पर्दा पनि बमकलाले कहिल्यै उनलाई एचआईभी लागेको शङ्का गरिनन् किनकि उनी आफ्ना लोग्नेलाई धेरै विश्वास गर्थिन्। उनको उपचारमा जग्गाजमिन र गरगहना सबै सकियो। अब बाँकी बसेको छ झुपडी मात्र।

लोग्नेले नढाँटेका भए उनी जीवितै हुन्थे होलाजस्तो लाग्छ बमकलालाई। दाङको लक्ष्मीपुर गाविसको भकारे गाउँमा १९ वर्षको उमेरमा विवाह गरेकी बमकला हाल ३० वर्षकी भइन्। उनका श्रीमान् मित्रलाल खड्का ०६८ मा ४० वर्षको उमेरमा बिते। उनी भारतमा काम गर्थे। उनले मुम्बईको राम्रो होटलमा काम गर्ने गरेको बताएका थिए। त्यतिबेला उनी हट्टकट्टा थिए, राम्रै पैसा कमाउँथे।

मित्रलाल सधैँ एक्लै अस्पताल जान्थे। दाङका अस्पतालमा जाँच्न नमिल्ने भएकाले टाढाको अस्पताल जानुपर्ने बताउँथे। दश दिनजति पछि मात्र घर फर्कन्थे। उनले धेरैपटक ‘यहाँका अस्पतालमा उपकरण छैन। भारत जानुपर्ने भयो’ भनेका थिए। के भएको भनेर सोध्दा उनले कहिल्यै बताएनन्। अन्त्यमा उनी ज्वरो र पखालाले नराम्ररी थलिए। त्यसपछि भारतको रूपेडियामा जचाउँदा उनलाई एचआईभी भएको कुरा गाउँकै भिनाजु पर्नेले थाहा पाएका थिए। तिनै भिनाजुले मित्रलाललाई एचआईभी भएको भनी बमकलालाई बताएका थिए।

लोग्ने बितेपछि रगत जचाउन लगाउँदा बमकला र उनका छोरालाई पनि एचआईभी लागेको थाहा भयो।
गरिबीले गर्दा बमकलाले पढ्न पाइनन्। सानैमा बिहे गर्नुपर्‍यो। उमेर जति बढ्दै गयो यी दुईवटा कुरामा उनलाई त्यति नै बढी पछुतो लागेको छ। धेरै पढेको भए यस्तो अवस्था भोग्नुपर्दैनथ्यो जस्तो लागेको छ उनलाई।

आफैँले पढाउन नसकेपछि उनले छोरा खिमलाललाई काठमाडौं, कीर्तिपुरमा रहेको बेबी लाइफ होममा पठाएकी छिन्। आठ वर्षका उनका छोरा पाँच कक्षामा पढ्दै छन्। पढाइ राम्रो भएकाले उनी केही कक्षा नपढी पाँचमा पुगेका हुन्।
खिमलाललाई बाबु, आमा र उनको अवस्थाबारे राम्ररी थाहा छ। ‘म एचआईभी सङ्क्रमित भन्ने थाहा पाएपछि गाउँमा कसैले राम्रो व्यवहार गरेनन्। साथीहरू सँगै खेलेनन्, सँगै खाएनन्। नातेदारले पनि राम्रो गर्दैनथे। त्यसैले म एक्लै हुन्थेँ। मलाई कसैले माया गरेजस्तो लाग्दैनथ्यो। सबैले हेला गरेजस्तो लाग्थ्यो। मैले आमालाई धेरै कुरा सोधेँ, तर उहाँले पनि केही उत्तर दिन सक्नुभएन। अहिले म गाउँमा हुँदाभन्दा स्वतन्त्र भएको छु। यहाँ सबैले माया गर्छन्। म भविष्यमा डाक्टर बनेर एचआईभी सङ्क्रमित बालबालिकाको बिनापैसा उपचार गर्न चाहन्छु’, उनले भने।

बेबी लाइफ होमले उनलाई कक्षा १० सम्म पढाइदिन्छु भनेको छ। सो संस्थाका अध्यक्ष राजकुमार पुनका अनुसार उनको बेलाबेलामा अण्डकोष सुन्निने गर्छ।

लगभग दुई महिना पहिला हाइड्रोसिल भएकाले शल्यक्रिया गरिएको छ, हाल उनी स्वस्थ छन्। उनी एआरभी अर्थात् एचआईभी दबाउन सहयोग गर्ने औषधि लिइरहेका छन्।

बमकलालाई छोरी कसरी पढाउने भन्ने चिन्ता छ। उनले छोरीलाई भर्खरै गाउँकै स्कुलमा भर्ना गरिदिएकी छिन्। उनी पढ्न निकै रुचाउँछिन्। बमकलाको एक मात्र सपना छोराछोरीलाई उच्च शिक्षा दिनु हो। तर, यसका लागि उनीसँग केही उपाय छैन।

एचआईभी लागेका अरू गरिबलाई जस्तै बमकलालाई पनि घर कसरी चलाउने भन्ने चिन्ता छ। एचआईभी लागेका मानिसलाई सामान्य मानिसलाई भन्दा बढी पोषिलो खानेकुरा चाहिन्छ। उनी एउटा गैरसरकारी संस्थामा काम गर्छिन्, तर त्यहाँबाट आएको मासिक रुपियाँ तीन हजारले घर चलाउन पुग्दैन।

रेडक्रस सोसाइटीले बमकलाजस्ता सङ्क्रमितहरूका लागि केही सहयोग गरेको छ।बमकलाको नियमित जाँच गरिरहेकी सामुदायिक स्वास्थ्य सल्लाहकार गीता थापाका अनुसार बमकलाको अवस्था खराब भइसकेको छैन। पोषणयुक्त खाना खाए पुग्ने र रोग प्रतिरोधात्मक क्षमता भएकाले अहिले नै उनले औषधि खानुपरेको छैन। उनको शरीरमा सिडिफोर चार सय ९५ सम्म पुगेको छ। सिडिफोर तीन सय ५० भन्दा तल झर्‍यो भने मात्रै एआरभी लिनुपर्छ। ‘यसले शरीरमा भएको भाइरसलाई दबाउन सहयोग गर्छ’, थापाले भनिन्।

दाङका एक सय आठजना सङ्क्रमितले एआरटभी सेवा लिइरहेका छन्। दाङ प्लसले उनीहरूलाई गेडागुडी, तेल र अण्डा दिँदै आएको छ। सङ्क्रमितमध्ये तीनजना सङ्क्रमित गर्भवती छन्। एकजनाले पहिल्यै बच्चा जन्माएकी छिन्। दाङ प्लसले सङ्क्रमितहरूलाई हतोत्साही नबनाउन उनीहरूलाई आपसमा विवाह गर्न प्रोत्साहन दिएको छ। हालसम्म चारवटा सङ्क्रमित जोडीले विवाह गरिसकेका छन्।

धेरैले बमकलालाई विवाह गर्न सल्लाह दिएका छन्, तर यसबारे उनले अहिले विचार गरेकी छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक