लन्डन । छिमेकका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालबाट प्रशंसै प्रशंसा बोकेर फर्किएको पनि लामै भयो । तर, त्यसको ‘लेफ्ट ओभर’ अझै चर्चामा छ सात समुद्रपारतिर । यसको सूत्रधार चाहिं हुन् हांस्य कलाकार मनोज गजुरेल । महिना दिन यता बेलायतको स्कटल्याण्डदेखि क्याट्रिक, फालमथ, बेजिङस्टोक, आसफोर्ड, लन्डन लगायत कयौं शहर डुलिसकेका गजुरेलले मोदीकै गेटअपमा उनको वाणी र हाउभाउ देखाएर बेलायतवासी नेपालीलाई हंसाइरहेका छन् । मोदीलाई बुझ्न झण्डै तीनमहिना जति खर्चेका उनले दुरुस्त नक्कल गरिदिएर यहां दर्शक मन जिते । हांसोमा केही न केही सन्देश र सामाजिक दायित्ववोध जरुरी देख्ने मनोजले मोदी नक्कलसंगै नेपालमा साउथब्लक प्रभाव समेत दर्शकलाई राम्ररी प्रष्ट्याइदिए ।
‘विषयको गाम्भीर्यता बुझिएन भने त्यो व्यंग्य होइन गाली हुन्छ’, गजुरेल भन्दै थिए, ‘हामीले पात्रमाथि होइन, प्रवृत्तिमाथि व्यंग्य गर्ने हो ।’
क्यारिकेचरबाहेक ‘स्ट्याण्ड अप’ कमेडीमा नेपाल र बेलायतका सन्दर्भ जोडेर उनले राजनीति तथा सामाज केन्द्रित कयौं प्रस्तुति दिए ।
गजुरेलको दशैं कालरात्री फोकस्टोन आर्मी ब्यारेकमा सयौं गोर्खाहरुमाझ बित्यो । त्यो बसाइमा उनले अबका लाहुरे खुकुरी देखाएर तर्साउने होइन, कम्प्युटरबाट ड्रोन हान्ने हैसियतमा पुगिसकेको चाल पाए । धेरैमा साहित्यिक र राजनीतिक चेतना समेत भएको पाएपछि गजुरेलले त्यही विषय शोमा देखाएर गोर्खा समुदायको मन जिते ।
स्कटल्याण्ड यूकेबाट स्वतन्त्र रहने वा नरहने भन्नेबारे जनमतको माहोल चर्किरहंदा उनले त्यसैमा केन्द्रित रहेर दर्शकलाई हांसो र सन्देश एक साथ दिए । ‘न भित्ता पोतिएका, न मतदाता किनबेच, न टायर पोलिएका, न भीडभाड । देशै विभाजन हुने चुनाव पनि यति शुन्य हुने रहेछ भन्ने कुरा झल्कांए’, उनी सम्झन्छन् ।
संविधान लेखनमा देखिएको शिथिलता पनि उनको बिकाउ विषय रह्यो । ‘पहिले ६०१ लाई जितायौं तीन करोडले हारे, दोश्रो संविधानसभामा पनि ६०१ लाई नै जितायौं जनताले हारे । अब तेश्रो चुनाव पनि भयो भने दुई चार नेताले जित्छन्, सिंगो देशले हार्छ’, गजुरेलले यस्तै वास्तविकता देखाउंदा नेताहरुदेखि रुष्ट दर्शक झन् उत्तेजित भए । शोमा संगै रहेका इण्डियन आइडल प्रशान्त तामाङतिर संकेत गर्दै उनले भनेका थिए, ‘हामी नेपाली भोट दिन संसारमा सबैभन्दा अघि छौं किनभने हामीले प्रशान्त तामाङ, अनुराधा कोइराला, पुष्पा बस्नेत, तेरिया मगर लगायतलाई जितायौं तर दुर्भाग्य संविधानसभामा चाहिं हाम्रो भोट खेर गयो ।’
फेसबुक जस्तो सामाजिक सञ्जालबाट मानव मन मस्तिष्क र समाजमा पर्न गएको नकारात्मक असर अनि यान्त्रिक समाजमा आत्मीय मायाप्रेमको डोरी कसरी खुकुलो हुंदै गएको छ भन्नेबारे पनि दर्शाए गजुरेलले । प्रेम र विवाह गर्नुभन्दा पहिले तीनकुरा मन मस्तिष्कमा राख्न सुझाउंदै उनले दर्शकलाई भने, ‘विचार मिलोस् वर्ग मिलोस्, मिलोस् भावना, तब मात्र जिन्दगी सफल हुन्छ यही मेरो शुभकामना ।’
गजुरेलले नेपाली भुल्दै गएको नयां पुस्तातर्फ इंगित गर्न पनि भुलेनन् । भने, ‘भाषा बांचे देश बांच्छ, देश बांचे जाती, जाती बांचे हामी बांच्छौं, बांच्छन् छोरा नाती ।’
बेलायतवासी नेपाली विभाजनतिर लम्किरहेकामा उनलाई पटक्कै चित्त बुझेको रहेनछ । दलका प्रवासी संगठन विभाजित, जात जाती र समाज विभाजित । यही प्रसंगमा उनले नेपाल भन्दा बेलायतकै राजनीति गर्न सुझाव दिए । कम्तीमा साताको आधा घण्टा देशको चिन्ता लिन पनि उनको आग्रह थियो ।
दक्षिण एसियालाई युरोपेली मापदण्डमा पुर्याउने परिकल्पनामा सार्क राष्ट्र प्रमुखहरुबीच शुरुबाटै कस्तो खिचातानी हुन्छ भन्ने उनको गजुरियल कल्पना पनि रुचिको विषय रह्यो । बेलायत आएका बेला बीबीसी हिन्दी सेवाका लागि प्रत्यक्ष अन्तर्वार्ता दिन पाएकामा मख्ख उनी तिहारमा नेपाल पुगेर फेरि क्यानडा जाने सोचमा छन् ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल