आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले सडक आन्दोलनको कार्यक्रम फिर्ता लिन एकीकृत नेकपा माओवादीसहितका दलहरुलाई आग्रह गरेका छन्।Sushil_Koirala

पार्टी मुख्यालयमा सानेपमा दसै, तिहार र छठको अवसरमा मंगलबार आयोजित चियापान कार्यक्रममा आन्दोलन र विवादबाट नभै स्थायित्व र शान्ति वार्ताको माध्यमबाट आउन प्रधानमन्त्री कोइरालाले आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन्। एकीकृत माओवादीका नेतृत्वमा रहेको २२  दलले सत्तारुढ गठबन्धनले सहमतिको प्रक्रिया नभै बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्न खोजेको भन्दै दुई साताको सडक आन्दोलनको कार्यक्रम सोमबार सार्वजनिक गरेका छन्।

उनले सहमतिको आधारमा संविधान जारी गर्न गम्भीर हुन पनि अनुरोध गरे।

‘माघ ८ गते भित्र संविधान जारी हुने कुरामा म विश्वस्त छु । मसँग वार्ता र सहमतिमा आउन अग्रह गर्दछु’ कोइरालाले भने, ‘माघ ८ मा संविधान जारी हुदैन भनेर अशुभ नबोल्नुहोस।’

चियापानमा सहभागी हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई नेकपा-माओवादीदेखि राप्रपा नेपालसम्मलाई समेट्ने गरी प्रस्ताव ल्याउन चुनौती दिए।

ओलीले शान्ति, संविधान, लोकतन्त्र, राष्ट्रिय एकता र अखण्डताका विषयमा जो विपक्षमा उभिन्छ त्योसँग सहमति नहुने बताए। ‘सहमति गर्ने हो तर सहमति नै नहुने विषयमा सहमति गर्ने कुरा भएन,’ ओलीले भने। उनले सात भन्दा कम प्रदेश हुनुपर्छ भन्ने एमालेको आडन भएको बताएका थिए।

कार्यमममा सहभागी रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि दवाव दिन आन्दोलन शुरु गरेको बताए ।

विसं २०३५ मा राष्ट्रिय मेलमिलाप बढावा दिन कांग्रेसका तत्कालीन पार्टी सभापति बिपी कोइरालाले भारत निर्वासनबाट फर्केपछि  चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न शुरु गरेका हुन्। यसअघिका सभापति कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले पनि निरन्तरता दिएका थिए। गणेशमान सिंहले पनि आफ्नो निवास चाक्सीबारीमा चियापान कार्यक्रम आयोजना गर्ने गरेका थिए।

प्रधानमन्त्री कोइरालाले देश अहिले पनि असहज परिस्थितिमा रहेकाले चियापनको महत्व र सन्देश उत्तिकै सान्दर्भिक भएको बताए। चियापानमा पार्टीका नेता, संवैधानिक निकाय, कूटनीतिक क्षेत्र र नागरिक क्षेत्रका प्रतिनिधि र कार्यकर्ताको बाक्लो उपस्थिति थियो। काठमाडौं बाहिरका काँग्रेसी कार्यकर्ता सहभागी देखिन्थ्यो।

कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री वामदेव गौतम, एमालेका नेता माधवकुमार नेपाल, एमाओवादीका नेता डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डेलगायत उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री