तीन दलको बैठक विना निष्कर्ष टुङ्गियो


काठमाडौं। सविधानको अन्तरबस्तुमा सहमति खोज्न बसेको संविधानसभाका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष समाप्त भएको छ। प्रमुख दलहरुले संविधानका विषयमा आ आफ्नै पूर्व अडान दोहोर्‌याएपछि प्रधानमन्त्री निवास बालुवटारमा आइतबार भएको तीन दलको बैठक बिना निष्कर्ष टुङ्गिएको हो।three_party_flags

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उप-प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतमले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा मिल्न नसकेको विषयमा सहमति खोज्नका लागि छलफल भएपनि सहमति केही नबनेको बताए।

गौतमले प्रमुख तीन दलबीच सहमति निर्माण गर्नका लागि आन्तरिक, द्वीपक्षीय, बहुपक्षीय छलफल गर्ने निर्णय भएको बताए। उनले सोमबार पुन: बैठक बस्ने विषयमा भने सहमति भएको बताएका छन्।  दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली सहितका महत्वपूर्ण विषयमा सहमति जुट्न बाँकी छ।

एमालेका अर्का उपाध्यक्ष भीम रावलले माघ ८ गते संविधान जारी गर्ने गरी तयार पारिएको समयसीमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सहमति खोज्न छलफल भएको बताएका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा रहेको समितिलाई दोस्रो पटक असोज १४ भित्रै विवादित विषयमा सहमति खोज्न समय सीमा तोकेपछि त्यो कार्यान्वयन गर्न दलहरु असफल भएका थिए।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले सहमति नभएको विषयलाई प्रक्रियामा लगेर भएपनि माघ ८ गते संविधान जारी गर्नु पर्ने पक्षमा देखिएका छन् भने एकीकृत नेकपा माओवादी र मधेशवादी दललहरु भने सहमति गरेर अघि बढ्नु पर्ने अडान राख्दै आएका छन्। समितिका सभापति रहेका भट्टराईले प्रक्रियामा लगे आफूले राजिनामा दिने चेतावनी दिइसकेका छन्। कार्यतालिकाअनुसार असोज २१ गते समितिले संविधानसभामा सहमति हुन नसकेको विषयमा प्रश्नावली बुझाउनु पर्ने छ। सोही प्रश्नावलीअनुसार संविधानसभाको बैठकमा मतदान हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री