राप्रपा नेपालले राजनीतिक सम्मेलन बहिस्कार गर्ने

संविधानसभा बाहिर रहेका दलहरुलाई पनि संविधान निर्माण प्रक्रियामा संलग्न गराउन मंगलबार आयोजना गर्न लागिएको सर्वदलीय राजनीतिक सम्मेलन चौथो ठूलो दल राप्रपा नेपालले बहिस्कार गर्ने भएको छ । राप्रपा नेपालको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष कमल थापाले औचित्य र अर्थहीन राजनीतिक सम्मेलन बहिस्कार गर्ने बताए ।kamal thapa
‘संबिधाननिर्माण गर्ने सन्दर्भमा संबिधानसभाको विकल्प खोज्ने तथा संबिधानसभालाई अबमुल्यन गर्ने कुनै पनि कार्य राप्रपा नेपाललाई स्विकार्य हुने छैन’ थापाले भने, ‘संबिधान निर्माण कार्यमा राप्रपा नेपालको निरन्तर रचनात्मक सहयोग रहने छ तथा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता बिषयमा अन्तिम निर्णय गर्नु पुर्व जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गरिनु पर्दछ भन्ने राप्रपा नेपाल जोडदार माग गर्दछ ।’ नेपाली कांग्रेस नेकपा एमाले एकीकृत नेकपा माओवादी र नेकपा-माअाेवादीबीच भदाै ३१ राजनीतिक सम्मेलन गर्ने सहमति भएको हो ।

राप्रपा नेपालद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ

भोली २०७१ भाद्र ३१ गते हुने भनिएको सर्वदलीय राजनैतिक सम्मेलनमा सहभागि हुन नेपाल सरकारको तर्फबाट माननीय शान्ति तथा पुननिर्माण मन्त्री नरहरि आचार्यबाट राप्रपा नेपाललाई निमन्त्रणा प्राप्त भएको छ । तत्सम्बन्धमा राप्रपा नेपालको धारणा देहाय बमोजिम रहेको छ ः
१) नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा(एमाओवादी)ले संबिधानसभामा रहेका अन्य सबै दलहरुलाई निषेध गरी तथा ती दलहरुसंग कुनै परामर्श नै नगरी हैकमवादी ढंगबाट सम्मेलन गर्ने बारे गरिएको निर्णयप्रति राप्रपा नेपाल गंभीर आपत्ति प्रकट गर्दछ । सम्मेलनको बिषयसूचि र सहभागिताका सन्दर्भमा कायम गरिएको आधार र मापदण्ड सर्वसत्तावादी, पुर्वाग्रहपूर्ण र हेपाहा रहेको छ ।
२) जनताको चाहना अनुरुप प्रजातान्त्रिक संबिधान निर्माण गर्नका निमित्त जनताले संबिधानसभाको चुनाव गरेको हो । संबिधानसभा सार्वभौम जनताको आधिकारिक प्रतिनिधि संस्था हो । सो संस्थालाई उपेक्षा गर्ने तथा ओझेलमा पार्ने ढंगबाट संबिधानको अन्तर्वस्तुका बिषयमा समानानन्तर रुपमा सभा वा सम्मेलन गर्नु संबिधान र प्रजातन्त्रको भावना विपरित रहेको छ । गैरसंबैधानकि निकायमा विधि विपरित निर्णय गर्ने अनि त्यस्तो निर्णयलाई संबिधानसभाले छाप लगाउनु पर्ने काम दुर्भाग्यपूर्ण हुनेछ । यस्तो कार्यले सार्वभौम जनताको निर्णायकत्वलाई कुण्ठित तुल्याउने छ ।
३) संबिधानसभालाई अबमुल्यन गर्ने गरि केहि सिमित दलहरुको राजनैतिक स्वार्थ परिपुर्ति गर्न तथा सहमति कायम गर्ने आवरणमा मोर्चाबन्दि गर्ने यस्तो कार्यले संबिधान निर्माणको प्रक्रियालाई थप जटिल बनाउने छ । यो सम्मेलनको कुनै औचित्य छैन र यो केवल निर्रथक अभ्यास मात्र हुनेछ । यसले आगामी माघ ८ गते संबिधान निर्माण गर्ने प्रतिवद्धतालाई समेत नकारात्मक असर पार्नेछ ।
४) माघ ८ भित्र संबिधान निर्माण गर्ने हो भने तत्काल अन्तरिम संबिधान र संबिधानसभा नियमावली बमोजिम विधि र प्रक्रिया अनुसार निर्णय गर्नु पर्दछ ।
५) उपरोक्त पृष्ठभूमिमा हुन लागेको औचित्यहिन तथा निर्रथक राजनैतिक सम्मेलनमा  राप्रपा नेपाल सहभागि हुने छैन । संबिधाननिर्माण गर्ने सन्दर्भमा संबिधानसभाको विकल्प खोज्ने तथा संबिधानसभालाई अबमुल्यन गर्ने कुनै पनि कार्य राप्रपा नेपाललाई स्विकार्य हुने छैन । संबिधान निर्माण कार्यमा राप्रपा नेपालको निरन्तर रचनात्मक सहयोग रहने छ तथा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता बिषयमा अन्तिम निर्णय गर्नु पुर्व जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गरिनु पर्दछ भन्ने राप्रपा नेपाल जोडदार माग गर्दछ ।
कमल थापा
अध्यक्ष
मिति ः २०७१ भाद्र ३० गते

प्रतिक्रिया

सम्बन्धित सामाग्री