संरक्षक डा.सुवेदीको अभिव्यक्तिपछि एनआरएनए यूके विवाद नयां मोडमा

03-15-2013surayasubedi

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतका संरक्षक प्रा. डा. सूर्य सुवेदीको काउन्सिल बैठकमा व्यक्त धारणाले एनआरएनए यूके विवाद नयां मोडमा प्रवेश गरेको छ । डा. सुवेदीले फार्नबोरोमा आइतबार आयोजित तेश्रो काउन्सिल बैठकमा एनआरएनए यूके दर्ता नभएको गैर कानुनी छ भनेपछि कार्यसमिति आफ्नै संरक्षकप्रति रुष्ट भएको छ । संरक्षक जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले लगाएको आक्षेपको छानवीन हुनुपर्ने माग संस्थाको छ ।

सुवेदीकै पहलमा संस्थामा हाल आकासिएको विवाद साम्य हुने अपेक्षा बढिरहेका बेला संरक्षक सुवेदीले एनआरएनए यूके गैर कानुनी छ र यसले गैर कानुनी रुपमा पैसा उठाउन पाउंदैन भन्ने अभिव्यक्ति सयौं संस्थाका प्रतिनिधिमाझ राखेका थिए ।
‘आफैं कानुनवीद र संरक्षक भएको व्यक्तिले आफ्नै संस्थालाई गैर कानुनी भन्दा हामीलाई दुःख लागेको छ’, अध्यक्ष योगेन क्षेत्रीले वीनेपालीसंग भने, ‘उहांले कुन हैसियतमा संस्थाकै प्रतिष्ठामा आंच आउने गरि आक्षेप लगाउनुभयो त्यो छानवीन होस् भन्ने मेरो माग छ ।’ कानुनी रुपमा काम गरिरहेको संस्थालाई इलिगल भन्दा आफू दुःखी भएको बताउंदै क्षेत्रीले संस्थाले केही दुरुपयोग नगरेको र आफ्नो अकाउन्ट अडिट गर्न राजी भएको समेत प्रष्ट्याए ।

सुवेदीले आजै देखि आफू संरक्षकमा नबस्ने भन्ने अभिव्यक्तिलाई पनि संस्थाले गम्भीर रुपमा लिएको छ । सुवेदीले मौखिक रुपमा बस्दिन भनेर मात्र संरक्षक पद छाड्न नमिल्ने क्षेत्रीले बताए । ‘आर्थिक घोटालाका कुरा छन्, विधि विधानका कुरा र आगामी कदमबारे सबैमा जिज्ञासा छ । यस्तो परिस्थिति र चुलिएको विवाद साम्य बनाउनुपर्ने बेला त्यो नटुग्याई उहांले मुक्ति पाउनुहुन्न’ क्षेत्रीको अडान छ ।

काउन्सिल बैठकमा एउटा प्यानलको संयोजकका नाताले निर्वाचन प्रक्रिया, आचारसंहिता, विधि विधान र तीव्र विवादबारे स्पष्ट पार्न सबैले आग्रह गरिरहंदा सुवेदीले ति प्रसंगमा पटक्कै उच्चारण नगरेपछि यसमा पनि संस्था चिढिएको छ ।

कानुनका ज्ञाता सुवेदीले संस्था विधि विधान अनुरुप चल्नुपर्छ भनिदिने बित्तिकै २९ सेप्टेम्बरपछि अध्यक्ष पद लिन प्रतिक्षा गरिरहेका सहअध्यक्ष महेन्द्र कंडेलमाथि धक्का पुग्ने र क्षेत्री पक्षमा बलियो आवाज उठ्थ्यो तर त्यो अपेक्षा सुवेदीले पुरा नगरिदिंदा कतिपयमा आक्रोश उत्पन्न भएको हो ।

आज सांझ डाकिएको बैठकमा सुवेदीले विभिन्न आलोचना खेप्नुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री