नेपाली मेलामा हजारौं सहभागी

तस्विरः प्रमिला लावुंग राई

तस्विरः प्रमिला लावुंग राई

लन्डन । आइतबार लन्डनस्थित केम्पटन पार्क रेस कोर्स स्टेडियम नेपालमय बन्यो ।

छैटौं नेपाली मेला हेर्न हजारौं सहभागी हुंदा स्टेडियम अनि आसपास क्षेत्र नेपालीले भरिभराउ थियो । सहभागीले आफ्नै मातृभूमिको आंगनमा रमाए जस्तो अनुभूति गरे । ‘जताततै नेपाली अनि तिनका परम्परागत भेषभुषा र गरगहना देख्दा नेपाल भन्दा टाढा रहेजस्तो लागेन’, एक सहभागी अर्चना सापकोटाले भनिन् । मिनी नेपालको झल्को दिलाउंदै मेलामा बेलायतस्थित विभिन्न संघसंस्थाले परम्परागत झांकी प्रदर्शन गरे । लोकनाच देखि भैरव, घांटु र कौडा नृत्य पनि आकर्षणको केन्द्रमा रहे । खानामा रमाउनेको जमात बेग्लै थियो ।
मेला संयोजक तथा आयोजक तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङले वीनेपालीसंग 
कुराकानी गर्दै मेलामा बेलायतका विभिन्न जातीय, सामाजिक तथा पेशागत ४४ संघसंस्थाले झांकी प्रदर्शन गरेको जनाए । उनले ८ हजार भन्दा बढि दर्शक सहभागी भएको जनाउंदै मेलाले नेपाली कला संस्कृति संरक्षणबोहक नेपालीलाई एकवद्ध गर्न सफल भएको टिप्पणी समेत गरे ।

मेलाका प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली कला संस्कृति जोगाउन तमुधि यूकेले गरेको प्रयासप्रति प्रशंसा गर्दै मेलाले विविधताको देश नेपालका जनता एकतामा रमाउन सक्छन् भन्ने सन्देश दिएको उल्लेख गरे । क्षेत्रीले नेपाली सुनकोशी बाढीपीडितहरुका लागि बेलायतवासी समस्त नेपालीलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

औपचारिक चरणमा मन्तव्य दिंदै आयोजक तमुधिं यूकेका अध्यक्ष कमल गुरुङले नेपाली कला संस्कृतिको संरक्षण एवं संवद्र्धन र नेपालीहरुलाई एकै ठाउंमा एकत्रित गर्न भेला आयोजना गरिएको प्रष्ट्याए । उनले मेलाका प्रायोजक तथा स्वयंसेवक एवं अन्य सबै सहयोगी र दर्शकप्रति आभारसमेत व्यक्त गरे ।

मेलाका सहभागी प्रसन्न देखिन्थे

मेलाका सहभागी प्रसन्न देखिन्थे

मेलाको मुख्य आकर्षणमा विभिन्न झांकीबाहेक नृत्य प्रतियोगिता, चिनिया ड्रयागन नाच, कोरियन डान्स, तेक्वान्दो कला प्रदर्शनी र राफल चिट्ठा थिए । विभिन्न खाना र च्यारिटी स्टलमा पनि दर्शक रमाए । आयोजकले च्यारिटेवल संस्थालाई स्टल राख्न ५० प्रतिशत सहुलियत दिएर पनि यसपटक सहभागिता उल्लेख्य थियो । डेटिङ स्पट बनाउने तन्नेरीहरुको पनि उल्लेख्य भीड रह्यो । वृद्धवृद्धा आफ्ना दौंतरी अनि नातेदार भेट्न पाउंदा दंग देखिन्थे । यसपटक मेलाले झन् बढि लोकप्रियता बटुल्यो । कान्तिपुर एफएम, नेपाली टिभी यूके र एभरेष्टटाइम्स् डट नेटले मेलाको प्रत्यक्ष प्रसारण गरेका थिए । अगाडि पछाडि राखिएको बीग स्क्रिनले पनि मेलाको सौन्दर्यता थप्यो ।

मेलामा उत्कृष्ट झांकी प्रस्तुत गरे वापत पुन समाज यूकेले ह्याट्रिकसहित एम्बेसेडर कप हात पार्यो भने उत्कृष्ट कल्चरल परफर्मेन्स्मा लमजुङ समाज यूकेले अवार्ड जित्यो । समाजले घाटु नाच प्रस्तुत गरेको थियो । तमुधि यूकेले यसै वर्षबाट शुरु गरेको कम्युनिटी अवार्ड वुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष काजी शेर्पालाई दिइयो । गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष योगेन क्षेत्रीले शेर्पालाई कम्युनिटी अवार्ड हस्तान्तरण गरेका थिए ।

तमुधिं यूकेले सुनकोशी बाढी पीडितहरुको सहयोगार्थ एकहजार पाउण्ड दिने घोषणा गरेको छ भने विजेता पुन समाज यूकेले सात सय पाउण्ड सहयोग गर्यो । अघिल्लो वर्ष तमुधि यूकेले हेल्प नेपाल नेटवर्कलाई अढाई लाख रुपैंया प्रदान गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री