सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ००:५० | UK Time: 20:05

पत्रिका मगाएर सूचना बांड्छन् भूपू वृद्ध

वीनेपाली
२०७१ भदौ ७ गते १२:२०

picture

लन्डन । जमाना इमेल, इन्टरनेट र सोसियल मिडियाको छ । विश्वका जुनसुकै कुनामा भएका घट्ना क्षणभर घर घर पुग्ने यो युगमा फौद लिम्बु (६६) को सूचना बांड्ने शैली भने गज्जवको छ, त्यो पनि यूके रहेर ।

दुई वर्ष यता बेलायतको टिडवर्थ शहर बस्दै आएका यी वृद्ध नेपालबाटै कान्तिपुर दैनिक मगाउंछन्, नातेदार आंउदा विभिन्न म्यागेजिन झिकाउंछन् अनि बेलायतबाट नेपाल फोनै गरेर ताजा खवर टिप्छन् र बुढाबुढी भेला गरेर सुनाउंछन् । यस क्षेत्रमा करिब तीनसय भूपू गोर्खा परिवार रहेको अनुमान छ ।

एकजना युवा समाजसेवी एलबीजेड गुरुङले टिडवर्थमा चलाएको गोर्खा भेराइटी स्टोरको एउटा कोठा ति वृद्धलाई सित्तैमा सुम्पिएका छन् । त्यही कोठामा बसेर आफूले पढे सुनेको समाचार भूपू गोर्खा वृद्धवृद्धालाई प्रत्येक दिन दुई पटक सुनाउने उनको दायित्व छ । ‘अनपढ भूपू गोर्खा बुढाबुढीहरु देशको खवरबाट विमुख हुन नपरोस् भनेर यो जिम्मा लिइरहेको छु’, एक बिहान उनले सुनाए, ‘मलाई इन्टरनेट चलाउन आउंदैन् त्यसैले आफ्नो नातेदार र चिनजानका मान्छेसंग पत्रिका मगाएरै सूचना 
बांडिरहेको छु ।’ बेलायत सरकारले दिने मासिक ९ सय पाउण्ड भत्ताबाटै उनले फोन, पत्रिका खरिद खर्च र अरु दैनिक गर्जो टारिरहेका छन् ।

भित्तामा झुण्डिएको एउटा सूचना पाटीमा उनले प्रत्येक दिनका ‘मेन हेडलाइन’ लेखेर राख्छन् । संवाददाता पुग्दा उनको बोर्डमा निर्दयी प्रकृतिले निम्त्याएको विनास र बाढी पीडितको रोदन, चरीका परिवारले शव बुझ्न अस्वीकार गरेको खवर अनि भत्ता खाएर संविधानसभामा गयल हुने सभासदहरुको समाचार शीर्षक प्राथमिकतामा थिए । सूचना पाटीमा उनले काठमाण्डौंको खाद्य तथा तरकारी बजार भाउ समेत नियमित टिप्छन् । बेलायतको स्थानीय समुदायमा हुने हरेक कार्यक्रम विवरण पनि उनको पाटीमा समावेश हुन्छ ।

देश विदेशका खवर बुझिरहने भएकाले टिडवर्थ नेपाली कम्युनिटीले मिडिया 
कोअर्डिनेटरको जिम्मा पनि यिनकै कांधमा हालिदिएको छ ।

खवर प्रदानसंगै वृद्धवृद्धामाझ गफिने थलो पनि यही गोर्खा भेराइटी स्टोर बन्छ । भूपू गोर्खाहरुको सत्याग्रह आन्दोलन र संविधान बन्ने नबन्नेमा पति ति घोत्लिंदै थिए । पसल धनी एलबीजेड गुरुङले बुढाबुढीलाई चिया, नास्ता सित्तैमा उपलव्ध 
गराइदिएका छन् ।
सेभ द चिल्ड्रेन यूके कार्यालयमा १९ वर्ष काम गरेका यी वृद्धसंग आर्मीमा सात वर्ष सेवा गरेकै प्रतिफल अहिले आवासीय अधिकार छ । साथमा श्रीमति छिन् तर उनका हुर्र्किएका चार छोरा र एक छोरी नेपालमै भएकाले बेलायत बसिरहन उनलाई कत्ति चाह छैन् । ‘गोरा सरह पेन्सन पाए तुरुन्त फर्कने थियौं’, उनले गुनासो पोखे, 
‘हामी बाख्रा भैंसी डुलाएर छर छिमेकमा गफ गर्दै हिंड्ने मान्छेलाई बेलायती परिवेश मिल्दै मिल्दैन् ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक