सिन्धुपाल्चोक पहिरो पीडितलाई द ब्रिटिस कलेजको सहयोग

10511601_915993631749308_3014614474159554281_o
सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा गएको भीषण पहिरो कारण विस्थापित बनेकाहरुलाई द ब्रिटिस कलेजले राहत सहयोग गरेको छ । बुधबार घटनास्थल पुगेको कलेजका शिक्षक र विद्यार्थीहरु सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई २ लाख नगद, खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएको हो ।
कलेजका उपाध्यक्ष सगुन शर्मा र मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले २ लाख नगद, लत्ताकपडा र खाद्यान्न संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
राहात रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले द ब्रिटिस कलेजले घटना भएदेखि नै चासो देखाएको बताउँदै मानवीय सहयोगका क्षेत्रमा निकै संवेदना भएको आफूले पाएको बताए । “द ब्रिटिस कलेजले घटना भएदेखि नै सहयोगका लागि चासो देखाउँदैआएको थियो,” उनले भने, “कलेजले मानवीय संवेदना बुझ्ने जुन कल्चर विद्यार्थीहरुलाई दिइरहेको छ त्यो निकै सराहनीय छ ।” उनले जुरे पहिरोमा पीडितहरुको दुःखमा मलम लगाउन आउने विद्यार्थी र गुरुवर्गलाई धन्यवाद समेत दिए । उनले पीडितका लागि आएको सहयोग वास्तविक पीडितहरुले पाउने बताए । “तपाईंहरुले जुटाउनु भएको सहयोग वास्तविक पीडितहरुले पाउनेछन्,” उनले भने, “खर्च हामीले पारदर्शी रुपमा राखेका छौं ।” उनले अझै खतरा टरी नसकेको बताउँदैं पीडितहरुको अस्थायी र स्थायी पुनस्थापना चाडैं सुरु हुने भएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।
सहयोग हस्तान्तरणपछि कलेजका उपाध्यक्ष शर्माले आफूले कलेज र विद्यार्थीका तर्फबाट पिडितहरुलाई सानो सहयोग जुटाएर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । “हामीले पीडितहरुलाई विद्यार्थी र ब्यवस्थापनको प्रयासमा सहयोग हस्तान्तरण गर्न पाउँदा खुशी छौं,” शर्माले भने, “हामीले नेपाली नागरिक हुनुको दायित्वमात्र निभाएका हौं ।”
कलेजका मार्केटिङ म्यानेजर श्रेष्ठले आफूले विभिन्न सामाजिक कार्यहरुमा हातेमालो गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि परोपकारी कामहरुलाई अझ वृद्धि गर्ने बताए ।
कलेजका विद्यार्थीहरुले चलाएको सुनकोशी सहयोग कार्यक्रमका संयोजक एन्जल शर्माले आफूहरु पढाइका साथै मानवीय र परोपकारी काम गर्न पाउँदा खुशी रहेको बताए । उनले कलेजले आफूहरुले चलाएको उक्त अभियानमा सहयोगी भूमिका खेलेको भन्दा धन्यवाद समेत दिए ।
द ब्रिटिस कलेज कँडेल ग्रुप अफ कम्पनिजद्वारा नेपालमा सञ्चालित शैक्षिक संस्था हो । नेपाल र बेलायतमा कँडेल ग्रुप अफ कम्पनिजले शैक्षिक संस्था, रेस्टुरेन्ट, फार्मेसी र प्रोपर्टी लगायतका व्यवसायमा लगानी गरेका छन् । कँडेल ग्रुपले विभिन्न किसिमका परोपकारी कार्यहरु सञ्चालन गरिरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री