बाढी पहिरोले मृतकको संख्या बढ्दै, उडान प्रभावित, राजमार्गहरू अवरुद्द

काठमाडौँ । साउन सकिन लाग्दा आएको अविरल वर्षाका कारण देशका विभिन्न भागको जनजीवनमा क्षति पुगेको छ ।
विभिन्न स्थानमा गरी हालसम्म कम्तीमा दश जनाको निधन भैसकेको छ भने पूर्वपश्चिम राजमार्ग लगायत विभिन्न सडक मार्ग अवरुद्ध भएका छन् । प्रतिकूल मौषमका कारण आन्तरिक उडान रद्द भएका छन् भने विद्यालय लगायतका भौतिक संरचना बग्न पुगेका छन् ।
बाँकी क्षतिको विवरण आउन केही दिन लाग्ने छ । बाढी पहिरोले मृतकको संख्या बढ्ने अनुमान छ ।

सिन्धुलीमा एकको मृत्यु

सिन्धुलीमाढी। विगत दुई दिनदेखि परेको अबिरल बर्षापछि आएको बाढीले बगाएर सिन्धुली जिल्लामा एक जनाको मृत्यु भएको छ । १० घर डुवानमा परेका छन् भने ग्रामीण सडकमा यातायात सेवा वन्द भएको छ ।
कमला नदीमा आएको बाढीले बगाएर हत्पते गाविस–७ निवासी ६२ बर्षिय भक्तबहादुर श्रेष्ठको बुधबार बेलुका मृत्यु भएको स्थानीय शिक्षक हेमप्रसाद अधिकारीले जानकारी दिए । घरबाट निपाने गाविसतर्फ जाँदै गर्दा कमला नदीको बाढीले बगाएर श्रेष्ठको मृत्यु भएको हो । मृतक श्रेष्ठको लास निपाने गाविसमा नदी किनारमा फेला परेको थियो ।
कमला नदीमा आएको बाढीकै कारण कमलाखुँज क्षेत्रका हत्पते, सिर्थौली, टाँडी र दुधौली गाविसका बासिन्दाको सदरमुकामसँग आउने जाने सम्पर्क रोकिएको स्थानीय बासिन्दाको भनाई छ । त्यस्तै कमला नदीमा आएको बाढीबाटै सिर्थौली गाविस–१ मा रहको मुसहर बस्तीको १० घर डुवानमा परेका छन् । आफ्नो घर डुवानमा परेपछि उनीहरु गाँउमा अरुको घरमा आश्रय लिएका स्थानीय बासिन्दा थानेश्वर काफ्लेले बताए ।
बेलघारी गाविसको झुँगाखोलामा आएको बाढीले काठेपुल बगाएको छ । मरिणखोलामा आएको बाढीले महादेवस्थान गाविसका ५० घर जोखिमा परेका छन् ।
ग्रामीण सडक अन्तर्गत पर्ने विभिन्न खोलामा बर्षाका कारण पानीको सतह बढेपछि सदरमुकाम सिन्धुलीमाढीबाट कपिलाकोट, भिमान्–दुधौली, चक्मके, मझुवा चल्ने यातायात सेवा ठप्प भएको छ । बर्षाका कारण जनजीवन कष्टकर बनेको सदरमुकामका बासिन्दा शंकरप्रसाद चौलागाईले बताए ।

कमलाको पूर्वी तटबन्ध भत्कियो, सयौँ घर डुबानमा

सिरहा । जिल्लाको पश्चिमवर्ती गाविस सारश्वर दुई दिनदेखि परेको वर्षाका कारण कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि डुबानमा परेको छ ।
सारश्वर–१ र २ का करिब ६० घर डुबानमा परेको स्थानीय विमल गुप्ताले जानकारी दिए । स्थानीय बौका दफाली, चन्द्रकुमार ठाकुर, सञ्जय साहलगायतको घरमा पानी पसेको छ । उनीहरू सबै विस्थापित भएका छन् ।

स्थानीय विमल गुप्ताले भने–“आज बिहान ६ बजे आएको बाढीले गाउँ डुबायो । अहिले यहाँ भागाभाग भएको छ । सबै सुरक्षित स्थान खोज्न थालेका छन् ।” गाउँ डुबानमा परे पनि चारजना प्रहरी मात्र आएकाले उनीहरू केही गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

मन्दिरमा पूजा गर्न शिवमन्दिर पुगेकी स्थानीय शिव साहको नाम नखुलेको ६० वर्षीया आमा गम्भीर घाइते भएकी छन् । उहाँलाई बाढीले बगाएको र स्थानीयले देखेपछि उद्धार गरिएको स्थानीय देवेन्द्र यादवले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बाढीले गाउँ बगाएको सूचना पाएको र प्रहरी परिचालन गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“कमलाको पूर्वी तटबन्ध नै भत्काएको सूचना पाएकाले चिकना, विष्णुपुर प्ररा, भोक्राहा लगायतका गाउँ पनि डुबानमा परेको हो । सबै ठाउँमा उद्धारका लागि प्रहरी परिचालन गरिसकेका छौँ ।”

नारायणी र राप्ती नदीको बाढीमा सतर्क रहन प्रशासनको आग्रह
चितवन । लगातारको भारी वर्षाका कारण चितवनको राप्ती र नारायणी नदीमा बाढीको सतह अहिले चेतावनी नजिक पुगेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार बाढी बढ्ने क्रममा रहेकाले सतर्क हुन र हरेक सूचनाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ । जिल्ला विकास समितिका विपद् व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइँटेलका अनुसार अहिले नारायण नदीमा बाढीको सतह ६ दशमलव ६६ मिटरमा पुगेको छ । नारायणीमा ६ दशमलव ८० मिटर आएमा चेतावनी तह मानेर सबैमा सूचना प्रवाह गरिन्छ भने आठ मिटर नाघेपछि खतराको सङ्केत मानिन्छ ।

यस्तै चितवनको राप्ती नदीमा अहिले बाढीको सतह २ दशमलव ५ मिटर पुगेको जल तथा वर्षा मापन केन्द्र राप्तीका कर्मचारी बद्री ढकालले बताउनुभयो । यहाँ पनि चेतावनी तह नजिक भएकाले विपद् व्यवस्थापन समितिलाई खबर गरिसकिएको उहाँले बताउनुभयो ।

चितवनमा अहिले पनि भारी वर्षा जारी छ । बुधबार साँझदेखि चितवनलगायत आसपास क्षेत्रमा वर्षा रोकिएको छैन ।

कालिकोटमा पहिरोले बिद्यालयको भवन बगायो

कालिकोट । कालीकोट जिल्लामा निरन्तर परेको अविरल बर्षाका कारण वाढि पहिरो जाने क्रम चलिरहेको छ ।
पहिरोकै कारण सीपखाना गाविसको वडानं। ७ मा रहेको मालिका निमावि कोलीगाउँको विद्यालयको २ कोठे अफिस भत्काएको छ । अफिसको पछाडिवाट आएको ठुलो पहिरो बिद्यालयको लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्रीका साथै कुर्चि, टेवल, दराज लगायतका अन्य सामानहरको क्षेति गरेको प्रधानाध्यापक राजेन्द्रनाथ योगिले जानकारी दिनुभयो ।
उहाँले पहिरो गएको तत्कालै इइलाका प्रहरी चौकी स्यूनालाई जानकारी गराई ३ लाख ९ हजार ६ सय ८५ बराबरको सामानको मात्र मुचुल्का गरेको र पहिरोले अरु अफिसियल शैक्षिक सामग्रीको के कति क्षेति भएको छ भन्ने बिषयमा एकिन भईनसकेको बताउनुभयो ।

वर्षाले आन्तरिक उडान प्रभावित
देशभर परेको अविरल वर्षाले अधिकांश आन्तरिक गन्तव्यका उडान प्रभावित भएका छन्। खराब मौसमका कारण बिहीवार मध्यान्हसम्म दुर्गम क्षेत्रका सबै उडान रद्द भएको आन्तरिक विमानस्थल प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए। चुडालका अनुसार सुगम गन्तव्यका उडानसमेत प्रभावित भएका छन्।

बिहीवार बिहान १० बजेपछि भैरहवा, नेपालगञ्ज र विराटनगरमा बुद्ध र यति एयरलाइन्सले उडान भरेका छन्। त्रिभुवन विमानस्थलबाट सामान्यतस् बिहान साढे ६ बजेदेखि आन्तरिक उडान सुरु हुन्छ।

१० बजेसम्म त कुनै कम्पनीले उडान गरेका थिएनन् तर अहिले बुद्ध र यतिले भैरहवा र नेपालगञ्जमा दुईदुईवटा उडान भरे’, आन्तरिक विमानस्थल प्रमुख चुडालले भने, ‘उनीहरुले विराटनगरमा ४र५ वटा उडान भरेका छन् ।
जाजरकोटमा पहिरोले घर पुर्दा एकै घरका दुईको मृत्यु

जाजरकोट । जाजरकोटको सक्ला–३ वण्डालामा पहिरो जाँदा एकै घरका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन ।

मृत्यु हुनेमा ३४ वर्षीया नवरती, उनका ७ वर्षीय छोरा नवराजको मृत्यु भएको छ । बाबु ३५ वर्षीय जयलाल र ८ वर्षीया कमला र १० वर्षीया आरती बोहरा गम्भीर घाइते भएका छन् ।

घाइतेको उपचारका लागि स्वास्थ्य चौकी सेपुखोला सक्लाका इन्चार्ज वीरराजसिंह घटनास्थलमा पुगेर उपचार सुरु गरिसकेको जानकारी दिएका छन् । घाइतेको उपचार जारी राखे पनि अहिलेसम्म होस खुलेको छैन । नियमित पानी परिराखेकाले यहाँका तीनवटा घर पनि बगेका छन् ।

नन्दे कुमाई, भरुने कुमाई, कालीबहादुर कुमाईको घर पहिरोले बगाइसकेको छ । नियमित पहिरो गएका कारण उद्धारमा समस्या परेको वण्डालाका डिल्ली रावलले टेलिफोनमार्फत जानकारी दिएका छन् । पहिरोले बिहीबार बिहान ३ बजे घर बगाएको थियो । यो क्षेत्र सदरमुकामबाट दुई दिनको पैदल दूरी पर्दछ ।

कोशी राजमार्ग बगायो

धनकुटा । अविरल बर्षातको कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अवरुद्ध भएको छ। गएको बर्ष बाढीले बगाएको सडकमा बनाइएको अस्थायी डाईभर्सनलाई बुधबार राती भत्काएपछि सडक अवरुद्ध भएको हो।

बाढी छेक्नको लागि बनाइएको करिब दुईसय मिटर लामो बाँध भत्किएको छ। सडक अवरुद्ध भएपछि कोशी पहाडका धनकुटा भोजपुर तेह्रथुम र संखुवासभा जिल्लामा यातायात विच्छेद भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री