कटवालको आत्मकथा यसै साता

Rookmangad Katwal Biography cover Image

काठमाडौं । पब्लिकेशन्स नेपालयले जीवनीमा आधारित कृति प्रकाशन गर्ने क्रममा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथा पाठक सामू प्रस्तुत गर्न लागेको छ ।
यसै साता बजारमा उपलब्ध हुने यो पुस्तकले एक प्रतिवद्ध सैनिकको भोगाइमार्फत नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्डमा घटेका रोचक जानकारीहरु सार्वजनिक 
गर्नेछ ।
कटवालको जीवन झट्ट पत्याइहाल्न नसकिने कथाहरुले भरिएको छ । पुस्तकमा राजा महेन्द्रले पूर्वाञ्चल सवारीमा कटवाललाई फेला पारेदेखि उनी प्रधानसेनापति हुंदासम्मको रोचक प्रसङ्ग छन् । कटवाल साथीको करकापले सेनामा भर्ती भए । सुरुदेखि नै हक्की स्वभाव, कडा मिजास र जोखिम मोल्ने तत्परता उनका पहिचान बने ।
माओवादी द्वन्द्व र शाही कदम हुंदै जनआन्दोलन २०६२÷६३ छिचोलेपछि प्रधानसेनापति भएका यिनकै पालामा नारायणहिटी राजदरबारबाट बिदाइको हात हल्लाउंदै राजा–रानी निस्किए ।
नेपाली सेनाको ‘व्यावसायिक विश्वसनीयता’ बढाएको जस पनि यिनलाई जान्छ । कटवालले राजसंस्था टिकाउने उपायमा राजा ज्ञानेन्द्रलाई सम्झाई बुझाई गर्न खोजे, नेपाली सेनामाथि कुनै सम्झौता गर्न नदिन संक्रमणकालका राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालासँग झुत्ती खेले, माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारे । यी सबै प्रसङ्गहरुको तथ्यसहितको वर्णन पुस्तकमा समेटिएको छ ।
एकजना सेनापतिको जीवनकथा भएपनि यो माओवादी द्वन्द्व विसर्जनसम्मको नेपाली सेनाको उथलपुथलको वृत्तान्त हो ।
२०६३ मा उनी सेनापति हुँदा सेना टुहुरो जस्तै थियो । कसैले आफ्नो नठान्ने सेना त्यहाँमाथि कटवाल महेन्द्रका धर्मपुत्र हुन् भन्ने आम बुझाई । यस्तो परिस्थितीमा
एक्लिएको सेनालाई माओवादीले निशाना बनाएको थियो । कटवालले सेना प्रजातान्त्रिक पद्दती अनुसार चल्ने विश्वास समाजको हरेक तप्कालाई गराए ।
‘नेपाली सेना राजाको प्राइभेट आर्मी भन्ने आरोप हटाउन सफल प्रधानसेनापति हुन् कटवाल,’ प्रकाशनको औचित्यबारे प्रष्ट पार्दै पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली राजनीतिको संक्रमणकालमा सुरक्षाअंगको बहुचर्चित प्रमुखका भोगाइहरु मार्फत इतिहासका कतिपय पाटाहरु खोल्ने काम यो पुस्तकले गर्नेछ ।’
‘पूर्वी पहाडको अत्यन्त सामान्य पृष्ठभूमिबाट सुरुभएको मेरो यात्रा नेपाली सेनाले ब्यहोरेको सर्वाधिक चूनौतिपूर्ण घडीमा यसको नेतृत्वसम्म जारी रह्यो,’ पुस्तकबारे कटुवाल भन्छन्, ‘सैनिक हुन्छु भनेर नचिताएको मान्छेले आफू संलग्न संस्थालाई इमान्दारिताका साथ सेवा गरेको मेरो भोगाइ पाठकहरुका निम्ति रोचक एवं हरेक देशभक्त नेपालीका निम्ति प्रेरक हुनेछ भन्ने विश्वास लिएको छु ।’
किताबमा पहाडको मध्यमवर्गीय परिवारका केटाकेटीको अवस्था, युवावयको प्रेमजाल, कुटनीतिक जिम्मेवारीदेखि कटवालको विदेशी मित्रहरुसँगको उठबसका कथाहरु पनि छन् ।
नेपाली सेना र सिपाहीलाई मुकुट बनाएर व्यवसायिक जीवनमा कटवाल कति जुझारु रहे भन्ने शव्दचित्र पुस्तकमा प्रष्टसँग पस्किएको छ । पुस्तक पत्रकार किरण भण्डारीसँगको सहकार्यमा तयार पारिएको हो ।
आनी छोइङ डोल्मा र विनोद चौधरीपछिको तेश्रो जीवनी पुस्तकका रुपमा पब्लिकेशन्स नेपालयको यो कृति आगामी बिहिवार (अगस्त १४, साउन २९) सार्वजनिक हुने नेपालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री