काठमाडौं । आधुनिक नेपाली संगीत र यसका श्रष्टाहरुको सम्झनामा आयोजना हुँदै आएको वार्षिक कार्यक्रम ‘पलेँटी उत्सव’ ले यो वर्ष तेश्रो श्रृंखला मनाउने भएको छ । बडादशैंको आगमनसँगै भित्रने यो साँगीतिक उत्सवले यसपाला परिचित गायक–गायिका दीपक खरेल, कुन्ती मोक्तान र आभासलाई प्रस्तुत गर्दैछ ।
सत्तरी र असीका दसकमा नेपाली संगीत आकासलाई सुप्रसिद्ध गीतहरु दिएका दीपक खरेल आज पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छन् । उनका ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘प्रतिक्षा गर मेरी मायालु’, ‘तिम्रो हर प्रश्नको जवाफ’ जस्ता दर्जनौं गीतहरु सदाबहार मानिन्छन् र आज पनि नेपाली जनजीब्रोमा झुण्डिएकै छन् । लामो समय श्रोता दर्शकसँगको सम्पर्कबाट पर बसेका खरेलको गत वर्ष मात्रै पलेँटी श्रृंखलामार्फत् पुनरागमन भएको थियो । उनै खरेललाई अझ बढी श्रोता दर्शकसँग प्रत्यक्ष जम्काभेट गराउने उद्देश्यले यसपाला पलेँटी उत्सवको निम्ति पनि चयन गरिएको हो । कार्यक्रममा उनले केहि नयाँ गीतहरु पनि सुनाउने छन् ।
‘हामीले सक्रिय रुपमा गाउँदाको समय र अहिलेमा प्रविधिदेखि प्रस्तुतीसम्म ठूलो अन्तर आइसकेको छ,’ खरेल भन्छन्, ‘पलेँटी उत्सवमार्फत् म श्रोतालाई फेरि पुराना दिनहरु सम्झाउनुका साथै नयाँ पुस्तालाई समेत हाम्रो समयसँग जोड्न इच्छुक छु ।’
सरकारी सेवामा लामो समय बिताएका खरेलको गत वर्षदेखि नै अवकाश जीवन सुरुभएको छ । स्वरलाई अझै पनि उत्तिकै ताजा राख्न सफल उनी पुनरागमनबाट उत्साहित भएको बताउँछन् ।
उत्सवका अर्का प्रस्तोता कुन्ती मोक्तान नेपाली श्रोतालाई परिचय गराइरहनु पर्ने नाम होइन । असीको दसक अन्त्यतिर दार्जिलिङ छाडेर नेपाल आएकी उनी विशेषगरि शास्त्रीय आधारमा बसेर श्रोताको मन जित्ने भाकाहरु सुनाउने गायिकाका रुपमा परिचित छिन् । उनका ‘माथि माथि सैलुङेमा’, ‘ गोठालो जाँदा’, ‘धरान धनकुटा’, ‘कहिले काँहि मलाई पनि’ र ‘तिम्रो मायाले मलाई डोर्याइ ल्यायो’ जस्ता गीतहरुले सबैखाले श्रोताको मन जितेको छ ।
‘यसअघि पलेँटी श्रृंखलामा प्रस्तुत हुँदा संगीतका गम्भीर श्रोताहरु पाएर प्रभावित भएकी थिएँ,’ मोक्तान भन्छिन्, ‘कार्यक्रममा केहि नयाँ सिर्जना पनि प्रस्तुत गर्ने तयारी गरिरहेकी छु ।’
पलेँटीलाई दस वर्षदेखि सञ्चालन गर्दै आएका संयोजक एवं गायक आभास स्वयं पनि यसपटक प्रस्तुत हुने तयारीमा छन् । प्रगतिशिलकालीन संगीत ‘संकल्प’बाट सुरुभएर पछिल्लो समय कविताहरुमा आधारित सिर्जनालाई बढी जोड दिँदै आएका कवि एवं गायक आभास प्रयोगवादी संगीतकारका रुपमा पनि चिनिन्छन् ।
‘मेरा सिर्जना भए पनि यसपाला सबै गीतहरु सामूहिक स्वरमा प्रस्तुत हुनेभएको छ,’ आभास भन्छन्, ‘नेपाली श्रोताका निम्ति क्यान्टेटाको प्रभाव दिने हिसाबले
नौला खाले काब्य संगीत तयार पारेको छु ।’
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित