इजरायलका नेपाली भन्छन्– अब त गोला बारुदसित बानी परिसक्यो

तस्बीर एजेन्सी

तस्बीर एजेन्सी

करुण अर्याल
तेलअभिव, इजरायल । इजरायल र हमास नियन्त्रित गाजापट्टिमा १४ दिनदेखि जारी युद्धमा करिब ६०० जनाको ज्यान गइसकेको छ भने ३ हजार जति घाइते र हजारौँ घरबारविहीन भएका छन् । मध्यपूर्वमा घरिघरि बल्झने यो तनावले अहिले विश्वको ध्यान तानेको छ । तथापि इजरायलमा कार्यरत करिब छ हजार नेपालीहरु भने यस युद्धबाट खासै जोखिम महसुस नगरेको बताउँछन् ।
इजरायलको सुरक्षा व्यवस्था मजबुत हुनु र केही वर्षअघि विकसित रकेत प्रतिरोधी प्रविधि (आयोन डोम) का कारण आफूहरुले असुरक्षित महसुस नगरेको नेपालीहरुको भनाइ छ । हमासले हानेको रकेटलाई आकाशमै समातेर बस्ती नभएको क्षेत्र वा समुन्द्रमा खसाल्ने आयोन डोम अहिलेसम्म ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ ।
छ वर्षदेखि केयरगिभरको रुपमा आस्दोदमा कार्यरत जनक गौतम सात तल्ले भवनको पाँचौ तल्लामा बस्छन् । उनी भन्छन्, “बस्ने घरमा बंकर छैन । भुइँतल्लामा झर्ने समय पनि हुँदैन । त्यसमा पनि ह्वीलचेयरमा बस्ने बिरामी मालिक (बलाइत)लाई तल्लो तलामा लैजाने सम्भावना नै हुँदैन । त्यसैले सल्लाह गरी घरकै सुरक्षित स्थानमा बस्छौ ।” बारम्बार साइरन बज्दा डर लागे पनि अहिलेसम्म त्यस्तो खतरा आइनपरेको उनी बताउँछन् ।
आठ वर्षदेखि यहाँ कार्यरत र हाल रेखोबोत बस्ने दाना श्रेष्ठले विगतमा यस्ता धेरै युद्ध देखेकाले आपूmलाई डर नलागेको र साइरन बज्दा बलाबाइतलाई लिएर सुरक्षित स्थानमा जाने गरेको बताइन् । यसैगरी, विगत आठ वर्षदेखि केयरगिभरको रुपमा जेरुसलेममा कार्यरत अर्जुन जयसवाल अन्यत्र जस्तो जेरुसलेममा त्रास नभएको बताउँछन् । उनी भन्छन् “अहिलेसम्म ३÷४ वटा रकेट आएकोमा सबै आकाशमै विस्फोट भयो ।” आफुले काम गर्ने घरमा बंकर नभएको र साइरन बन्दा बलाबाइतलाई लिएर भ¥याङमुनी जाने उनी बताउँछन् ।
गाजादेखि नजिकको क्षेत्र आस्केलोनमा कार्यरत बसु श्रेष्ठ सो क्षेत्रमा दैनिक रकेट आउने गरेको उल्लेख गर्दै भन्छिन्, “साइरन बज्दा सुरक्षित स्थानतिर गइन्छ । आफ्नो घरमा बँकर नभएको र बलावाइतलाई पनि सुरक्षित गर्नुपर्ने दायित्व भएकाले घरकै सुरक्षित कुनामा दुवै जना लुक्नुपर्छ” उनले भनिन् । साइरन बज्दा त डर लाग्छ, तर यसअघि पनि युद्ध देखेकाले सामान्य लाग्ने गरेको बताउने उनले थपिन् “आइरन डोम नहुँदा त बाँचियो त्यसैले अहिले हतास भएको छैन ।”
गाजादेखि सबभन्दा नजिक करिब छ किलोमिटरको दुरीमा रहेको स्देरोतमा केयरगिभरको रुपमा कार्यरत कविता ढकाल दैनिक औसतमा आठ÷दशवटा रकेट आफु बसेको क्षेत्रमा आउने बताउँदै भन्छिन्, “सबै आइरन डोमले निस्तेज गर्छ ।” केही दिनअघि आफु बसेको घरमाथि नै आइरन डोमले रकेट निस्तेज गरेको, त्यसका टुक्राहरु घरको छतमा खसेको र घर नै थर्केको बताउँदै उनले भनिन्, “हामी सबै सुरक्षित छौँ, बढी आवाज आउँदा भने कान नै थुन्नु पर्छ ।” सीमा क्षेत्र भएकाले इजरायली सेना तथा गाजाबाट प्रहार हुने रकेट र बमको आवाजले रातभर सुत्न भने असुविधा भएको उनको भोगाइ छ । यसअघि पनि लडाइँ देखिसकेकाले बम र रकेटको आवाजसित परिचित भइसकेको उनी बताउँछिन् । आफु बस्ने क्षेत्रमा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको उल्लेख गर्दै ढकाल आश्वस्त पार्छिन्, “इजरायलको सुरक्षा स्थिति राम्रो भएकाले डर मान्नु पर्दैन ।”
यसपटक जेरुसलेम, तेलअभिव, स्देरोत, आस्दोद, वीरसेवा, आस्केलोन, किरात गात, नेतिभोदलगायतका क्षेत्रमा गाजाबाट दैनिक रकेट प्रहार भैरहेका छन् । पहिले तेलअभिवसम्म रकेट आइ पुग्दैनथ्यो तर यसपटक तेलअभिवलाई बढी लक्षीत गरिएको देखिन्छ । जानकारहरुका अनुसार अहिले हमाससँग १७ देखि १६० किलोमिटर दुरीसम्म हान्नसक्ने रकेट छ । गाजा पट्टिबाट तेलअभिवको ६५ किलोमिटर टाढा छ ।
इजरायलस्थित नेपाली राजदुत प्रल्हादकुमार प्रसाई अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी दिन्छन् । दुतावासले इजरायली सरकारका उच्च अधिकारी, सुरक्षा निकाय तथा एशियाली दुतावासहरुसँग नियमित सम्पर्क गरिरहेको बताउँदै सुरक्षाका नियम पालना गरे केही नहुने राय सबैले दिएको उनले उल्लेख गरे । युद्धका बेला आत्तिनु स्वभाविक भए पनि सुरक्षाका लागि सर्तकता अपनाए केही हानी नहुने उनको पनि भनाइ छ ।
तीन इजरायली युवाको अपहरण र हत्यापछि चर्केको द्वन्द्व युद्धमा परिणत हुन गएको हो । इजरायलले अप्रेशन प्रोटेक्टिभ एज नाम दिएको यस युद्धमा इजरायलको हवाई आक्रमणमा परी गाजाका करिब ५३५ जना प्यालेस्टिनी र २५ सैनिक र दुई सर्वसाधारण गरी इजरायलतर्फ २७ जनाको मृत्यु भएको छ । शुरुमा हवाई आक्रमणमा उत्रिएको इजरायलले बिहीबार रातिदेखि जमिनबाट पनि आक्रमण शुरु गरेको छ । यससँगै तत्काल युद्धविरामको आशा पनि टरेको छ ।
तथापि संयुक्त राष्ट्रका महासचिव बान की मुनले कतार र अमेरिकी विदेश मन्त्री जोन केरीले इजिप्टको भ्रमण गरी मध्यपूर्वको समस्या समाधानका उपाय खोज्दैछन् । यसअघि इजिप्टको युद्धविराम प्रस्तावमा सहमति हुन सकेन भने पछिल्ला दिनमा कतारले मध्यस्थताका लागि पहल गर्दैछ ।

अर्याल गोरखापत्र दैनिकमा कार्यरत पत्रकार हुन् 

प्रतिक्रिया

सम्बन्धित सामाग्री