लन्डन । बेलायतस्थित प्रवासी नेपाली समुदायले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन परराष्ट्र मन्त्री डा. महेन्द्रबहादुर पाण्डेसँग आग्रह गरेका छन् ।
‘यौनहिंसा अन्त्यका लागि विश्व सम्मेलन’ मा भाग लिन लण्डन आएका मन्त्री पाण्डेसँग मंगलबार दूतावास भवनको साक्षात्कारमा उनीहरुले हाल एमआरपी पाउने प्रक्रिया अत्यन्त झण्झटिलो र लम्बेतान भएको भन्दै त्यसलाई छिटो छरितो र सहज बनाउन माग गरेका हुन् । ‘एमआरपीका लागि तीन÷चार महिना पर्खिनुपर्ने समस्यालाई तत्काल हल गर्नुपर्छ’, सहभागी विभिन्न संघसंगठनका प्रतिनिधिहरुले भने, ‘युरोपलाई बेस बनाई बेलायतमा मेशिन राख्न सरकार तयार भए एमआरपी बापत तिर्ने रकममा वृद्धि गरेपनि मान्य हुन्छ ।’ युरोपका २७ मुलुक र बेलायतस्थित नेपालीका पासपोर्ट छाप्ने काम लण्डन दूतावासमार्फत गर्नुपर्ने सुझाव उनीहरुको थियो ।
करिब २५ लाख लिखित पासपोर्टलाई एमआरपीमा लैजानुपर्ने अनुमान परराष्ट्र मन्त्रालयको छ । हाल मन्त्रालयले दैनिक ६ हजार सातसय एमआरपी पासपोर्ट छाप्दै आएको छ । तर माग भने ८ हजारभन्दा माथि छ । आगामी एक महिनाभित्र एमआरपी उत्पादनलाई वृद्धि गरी ८ हजार पुर्याइने लक्ष्य रहेको मन्त्री पाण्डेले जानकारी दिए । एमआरपीको गुणस्तर वृद्धि गर्नुपर्ने भएकाले छलफलसमेत भैरहेको उनको भनाइ थियो । ‘पानी पर्ने बित्तिकै एमआरपीका लागि प्रयोग गरिएको कागज काम नलाग्ने भएकाले गुणस्तरीय बनाउन जरुरी छ’, मन्त्री पाण्डेले भने । अन्तिम समयमा आएर ‘क्यू’ बस्ने नेपाली परम्परालाई तोड्दै बेलैमा एमआरपी बनाउन उनले सबैलाई आग्रह गरे ।
राजदूत नियुक्तिमा भैरहेको ढिलाइका बारेमा जिज्ञासा मेटाउँदै मन्त्री पाण्डेले नेपालको परराष्ट्र नीति आधारभूतरूपमा तय गरी नियुक्ति प्रक्रिया शुरु गरिने जानकारी दिए । ‘राजदूत भएपछि गर्नुपर्ने काम र कुन देशमा जाँदा कुन कुन काम गर्नुपर्छ भनेर थाहा पाएको व्यक्तिलाई मात्र राजदुत गर्ने गरी मापदण्ड बन्छ’, परराष्ट्र मन्त्री पाण्डेले आफनो योजना सुनाउँदै भने, ‘यसपटक राजनीतिक नियुक्तिभन्दा पनि राजनीतिक क्षेत्रबाट ५० प्रतिशत र क्यारिएर डिप्लोम्याटबाट ५० प्रतिशत नियुक्ति हुन्छन् ।’
गोर्खा सैनिकले नागरिकता र पासपोर्टमा जन्ममिति नमिल्दा भोग्नुपरेका समस्या समाधानका लागि नेपाल पुग्ने बित्तिकै पहल शुरु गर्ने मन्त्री पाण्डेको भनाइ थियो ।
सहभागीले नेपाली नागरिकता कायमै राख्न पाउने व्यवस्था मिलाउन र निवृत्त गोर्खा सैनिकले प्राप्त गर्ने सुविधा, सहुलियतलाई समन्यायिक बनाउनका लागि पहल गर्न पनि सरकारलाई आग्रह गरेका थिए । सरकारले आप्रवासी नेपालीको श्रम, सीप र ज्ञानलाई मातृभूमिको विकास र प्रगतिमा संगठित रुपमा लगाउन सक्नुपर्ने सुझाव उनीहरुको थियो ।
मन्त्री पाण्डेले विदेशमा रहेका सेवाग्राहीलाई मिसनहरुमार्फत समयमै एमआरपी उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका थिए । स्रोतसाधन अभावका कारण एमआरपी सुधारलाई छिटोछरितो बनाउन समस्या भएको उल्लेख गर्दै सकेसम्म यसमा सुधार गर्ने उनको भनाइ थियो । मुलुकको विकासको गति तीव्र पार्न गैरआवासीय नेपालीको सहयोग महत्वपूर्ण हुने भन्दै त्यसमा योगदान दिन उनले बेलायतीबासी नेपालीलाई आग्रह गरे । खासगरी पर्यटन, लगानी र वैदेशिक व्यापार क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
मन्त्री पाण्डेले बेलायतमा धेरै संघसस्था खुलेपनि हार्दिकतापूर्ण सम्बन्ध स्थापित गर्न आग्रह गरेका थिए । उनले लोकतान्त्रिक संविधान निर्माण गरी लागू गर्न सरकार कटिवद्ध रहेको पनि बताए । बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातिय, बहुधार्मिक नेपाली समाजको चरित्र अनुकूल सबै पक्ष समेटेर मेलमिलाप र एकतावद्ध समाज निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘नियम र पद्दतिमा आधारित कार्यशैली अपनाउन सके नेपाली मात्रको शान्ति र प्रगतिको इच्छालाई मूर्तरुप दिन सकिन्छ’, उनले भने ।
उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक धिताल, दूतावासका कार्यवाहक राजदूत तेजवहादुर क्षेत्री, दूतावासका कुटनैतिक अधिकारीहरु, प्राध्यापक सूर्य सुवेदी, समाजसेवी राघवप्रसाद धिताललगायत बेलायतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।
यसैबीच, मंगलबार अपराह्न मन्त्री पाण्डेले ब्रिटेन नेपाल सोसाइटीका सभापति रोजर पोर्टरसँग भेट गरे । उक्त भेटमा पाण्डेले बेलायत र नेपालबीच जनस्तरको सम्बन्ध अझ बलियो र सुदृढ पार्न विशेष योगदान गर्न उक्त संस्थालाई आह्वान गरेको दूतावासले जनाएको छ । उता, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ग्राहम मिन्स्् लगायतका पदाधिकारीहरुसँगको भेटमा नेपाल–बेलायत सम्बन्ध दुुईसय वर्ष पुग्न लागेको अवसरमा नेपालको निकासी व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा नेपाली पक्षसँग निकट रहेर सशक्तरूपमा कार्य गर्न पाण्डेले आग्रह गरेका थिए ।
सोही दिन अपराह्न पाण्डेले लण्डन विश्वविद्यालयका उपकुलपति प्राध्यापक सर एड्रियन स्मिथ, प्रो भाइस चान्सलर(अन्तर्राष्ट्रिय) डा. मेरी स्टियान्सीसँग भेट गरी सो विश्वविद्यालय र नेपालका विश्वविद्यालयबीच ज्ञान आदानप्रदानको अभिवृद्धि गर्न र आपसी सहयोग विस्तार गर्ने विषयमा छलफल गरेको दूतावासले जनाएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च