काङ्सोरे पुरस्कार स्व.ईमानसिं चेम्जोङलाई मरणोपरान्त प्रदान

धरान । तीन वर्षको अन्तरालमा प्रदान गरिने काङ्सोरे पुरस्कार यस वर्ष मरणोपरान्त स्व ईमानसिं चेम्जोङलाई प्रदान गरिएको छ ।

लिम्बुवान नागरिक समाज यूकेको आयोजनामा शनिबार ६ जुलाई २०२५ मा धरान–१५ स्थित चुम्लुङ हिम सभाहलमा आयोजित विशेष समारोहमा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले एक लाख रुपैयाँ नगद र सम्मानपत्र (ताम्रपत्र) स्वर्गीय चेम्जोङका कान्छा छोरा, अवकाशप्राप्त बिग्रेडियर जनरल मोहन सिंह चेम्जोङलाई प्रदान गर्नुभएको थियो ।

समारोहमा पुरस्कार छनोट समितिका सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र कुरुम्बाङले स्वर्गीय चेम्जोङको योगदान र जीवनीबारे प्रकाश पारे । छनोट समितिका अर्का सदस्य नरप्रसाद लुम्फुङवाले छनोट प्रक्रिया र मापदण्डबारे जानकारी गराए।

कार्यक्रममा सम्मानित व्यक्तित्वका रूपमा स्वर्गीय चेम्जोङका छोरा मोहन सिंह चेम्जोङ, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेला, सदस्य संगीता सुब्बा, सेसेमी सेनाल्बो, नेपाल आदिवासी जनजाति महासंघ धरानका अध्यक्ष हेमराज जिमी, राजनीतिकर्मी ताजुब लिम्बू र जेन्टल लावतीलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता लिम्बुवान नागरिक समाज यूकेको अध्यक्ष छत्र वनेमले गर्नुभएको थियो । नेपाल प्रतिनिधि तथा सञ्चारकर्मी निलिफा सुब्बाले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम व्यवस्थापन किरात याक्थुङ चुम्लुङ सुनसरी र धरान उपमहानर पालिका कमिटीले गरेको आयोजक समाजका सचिव अमित थेवेले जानकारी दिनुभयो ।

काङ्सोरे पुरस्कार लिम्बु समुदायको सामाजिक, सांस्कृतिक र बौद्धिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानस्वरूप प्रदान गरिँदै आएको प्रतिष्ठित पुरस्कार हो । समाजले सन् २०२२ (वि.सं.२०७९) मा पहिलो पटक याक्थुङ भाषा, सिरिजङ्गा लिपिको प्रचार र चार दशकदेखि लिम्बुवानको मुद्दा उठाउन सक्रिय भूमिका खेलेबापत् पान्थर याम्बोङका नेता वीर नेम्वाङलाई प्रदान गरेको थियो ।

लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढङ्गले साढे एक दशकदेखि क्रियाशील रहेको लिम्बुवान नागरिक समाज यूके सन् २००९ मा बेलायतमा स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री