ल्हेन्दे खोलामा भीषण बाढी आउँदा मितेरी पुल बगायो, ३ प्रहरीसहित १८ जना सम्पर्कविहीन

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड)मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा उद्वारकर्मी नै फसेका बताउनुभयो ।

रसुवा गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीस्थित नेपाल-चीन अन्तर्राष्टिय सीमानाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बढी आई नेपाल-चीन जोड्ने मितेरीपुल बगाएपछि नदीमा पानीको बाहब बढिरहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई सचेत गराइएको छ । पछिल्लो जानकारी अनुसार बाढीमा ३ सुरक्षाकर्मीसहित १८ जना सम्पर्कविहीन बनेका छन् ।

सम्पर्कविहीन हुनेमा इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका ४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,बारा फेटा गाउँपालिका १ बस्ने २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर, बझाङ बुंगल नगरपालिका ९ बस्ने २३ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् ।

यस्तै नेपाली नागरिक बर्दियाका ३६ वर्षका जिपन चौधरी, वर्ष ३५ का सन्तोष दइत,वर्ष २५ का बुद्धिराम थारु, वर्ष २४ का लक्ष्मीनारायण थारु, वर्ष ३० का सुरेश थारु, बाग्लुङ बस्ने नरेन्द्र विक, सिन्धुपाल्चोक घर भएको कन्टेनर डिब्बा चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द, मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

बेपत्ताको सूचीमा ६ जना चिनियाँ पुरुष पनि छन् ।

उत्तरगयाधामको खोला किनारमा बाढीले बगाएर ल्याएको मानव अंगहरु फेला परेका प्रहरीले जनाएको छ ।

खोज तथा उद्धारका लागि सीमानाकामा सशस्त्र प्रहरी बल,नेपाल बिओपी टिमुरे रसुवा, नेपाली सेना श्रीनाथ गण सुरक्षा पोष्ट टिमुरे र ईलाका प्रहरी कार्यालय टिमुरे रसुवालगायतको टोली परिचालन गरिएको छ ।

धादिङ : दुई शव भेटिए
त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

नुवाकोट : दुई जनाको सकुशल उद्धार
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री