जुलाई १ देखि नेपाली भिलेज यूकेको सेयर खरिद-बिक्री

वेल्स, बेलायत । नेपाललाई बेलायतमा चिनाउने मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापनाको उद्देश्यले सुरु गरिएको नेपाली भिलेज युकेको यही जुलाई १ तारिख २०२५ देखि सार्वजनिक रूपमा सेयर खरिद-बिक्री हुने भएको छ ।

स्कटल्याण्डमा २३ जूनमा आयोजित ‘नेपाली मेला २०२५’मा पहिलो सार्वजनिक सेयर क्याम्पेन शुभारम्भ गर्दै परियोजनाले खरिद-बिक्रीबारे जानकारी दिएको हो । प्रतिसेयर मूल्य ५ हजार ५०० पाउन्ड रहेको नेपाली भिलेज यूकेका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ (एम.भी.ओ.)ले जानकारी दिनुभएको छ । उहाँका अनुसार मेलामा सयौं नेपाली तथा स्थानीय नागरिकले नेपाली भिलेज परियोजनासम्बन्धी जानकारी लिएको र धेरैले परियोजनाको उद्देश्यप्रति चासो र सहभागी हुने चाहना व्यक्त गरेका थिए ।

आगामी दिनमा पनि स्कटल्याण्डका मुख्य सहरहरूमा संभावित शेयर होल्डरहरूलाई निमन्त्रणा गरी विस्तृत जानकारीमूलक कार्यक्रम (ब्रिफिङ) आयोजना गरिने पनि उहाँले बताउनुभयो ।

परियोजनाको तेस्रो चरणको लक्ष्य प्राप्तिका लागि नेपाली भिलेज यूकेको परिसर नजिकै बिक्रीमा रहेको २२ कोठे भवन अति उपयुक्त हुने महसुस गरी गएको साधारणसभाले खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेकोले त्यसका निमित्त आवश्यक रकम जुटाउन थप ३ सय जनालाई सेयर बिक्री गर्ने योजना परियोजनाको रहेको उहाँले जानकारी दिनुभयो ।

के हो नेपाली भिलेज यूके परियोजना ?
नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै सुन्दर देश हो । भगवान् गौतम बुद्ध जन्मेको देश तथा हिमालयको भूमि पनि हो, जहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विभिन्न हिमश्रृंखला अवस्थित छन् । नेपाली कोखमा यती तथा वीर गोर्खालीहरूको गाथा बोकेको अनुभूति गर्न सकिन्छ । रोमाञ्चकारी दृश्यहरू र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर देश नेपालका नागरिक विश्वभर गौरवका साथ वीर गोर्खालीका नामले चिनिन्छन् ।

संयुक्त अधिराज्य (यूके) लगायतका यूरोपेली देशमा धेरै नेपाली समुदायको बसोबास छ । कामको सिलसिलामा ब्रिटिस सेनामा भर्ती भएका तथा विद्यार्थीको रूपमा बेलायत आएका नेपालीहरूले कालान्तरमा बेलायत र यूरोपको समृद्धिमा योगदान दिन यहीं बस्ने निर्णय गरेका हुन् । यहाँका नेपालीहरूले धेरै पहिलेदेखि नै बिदा मनाउने तथा मनोरञ्जनात्मक गतिविधि गर्नका निम्ति नेपाल झल्किने आफ्नै थलो होस् भन्ने चाहना राख्दै आएका थिए । यसैका कारण ‘नेपाली भिलेज’ निर्माणको अवधारणा जन्मिएको हो । यो त्यस्तो भिलेज हुनेछ, जहाँ जोकोहीले आफ्नो व्यस्त दैनिकीबाट छोटो विश्राम लिएर छुट्टी मनाउन वा ग्रामीण क्षेत्रको अनुभवसहित रमाइलो गर्न सक्नेछन् ।

नेपाली भिलेज यूके समुदायमा आधारित व्यावसायिक र दीर्घकालीन परियोजना हो। यो बेलायतमा मात्र नभई यूरोपकै यस प्रकारको पहिलो परियोजना हो। नितान्त समुदायसँग आत्मा जोडिएको परियोजना भएकोले स्थानीय समुदायको सहमति र स्थानीय निकायको निर्देशनमा नेपाली भिलेजले भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, ठूलो चौतारी, ऐतिहासिक ढुंगेधाराहरू, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, १०८ धारालगायतका नेपालका प्रख्यात स्मारकका साथै ध्यान केन्द्र, होटल, विवाह तथा अन्य कार्यक्रम गर्नका लागि सुविधासम्पन्न हल, पूजा, मेला तथा विभिन्न चाडपर्व आयोजनाका लागि समेत सुविधा प्रदान गर्नेछ ।

यस परियोजनाले सात समुद्रपारि पनि नेपाल र नेपालीको मौलिक पहिचान तथा कला संस्कृति झल्काउन मद्दत पुगोस् भन्ने हाम्रो ध्येय हो । ग्रामीण नेपालको झझल्को आउने आभाष हुने गरी बिदा मनाउने स्थानको निर्माण गरिनेछ ।

उद्देश्य
यस परियोजनाको मुख्य उद्देश्य मिड वेल्स, बेलायतमा ‘नेपाली भिलेज’ निर्माण गर्नु हो। नेपाली भिलेज नेपाललाई बेलायतमा चिनाउने मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापित हुनेछ । यो शान्त वातावरणमा स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न र ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने र फुर्सदको समय बिताउन सक्ने ठाउँ पनि हुनेछ ।

लक्ष्य
बेलायतको मिड वेल्समा जग्गा खरिद गरी नेपाल झल्किने संरचना निर्माण गर्नुका साथै नेपाली कला, संस्कृतिको जगेर्ना तथा सम्बर्द्धनसँगै वेल्स र नेपालको पर्यटन प्रबर्द्धन गर्नु नै यसको मुख्य लक्ष्य हो । बेलायतमा रहेका नेपाली तथा अन्य समुदायले बिदाको समयमा समेत नेपाली भिलेजमा भेला भई समुदायस्तरमा आपसी छलफल तथा मनोरञ्जनात्मक गतिविधि गर्न सक्नेछन् ।
यसका साथै, निम्न लक्ष्यका साथ नेपाली भिलेज निर्माण गर्न लागिएको हो । इच्छुक व्यक्तिहरूलाई शेयर स्वामित्व खरिद गरी यस अद्वितीय र ऐतिहासिक परियोजनाको हिस्सा बन्ने अवसर प्रदान गर्न ।

  • नेपालको पहाडी र हरियाली परिदृश्यसँग मिल्दोजुल्दो साइट किन्न (१९३ रोपनी जग्गा सन् २०२३ सालमा खरिद गरिसकिएको छ ।)
  • स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरमा समुदायहरूसँग सहकार्य गर्दै विकास र समृद्धिका लागि अघि बढ्न ।

यो परियोजनाको पहिलो चरण झन्डै पूरा भइसकेको छ । आवश्यक रकम जम्मा गरी जग्गा खरिद गर्नु र स्थानीय प्लानिङको स्वीकृति नचाहिने मर्मत कार्य साथै प्लानिङ तयारी गरी स्थानीय निकायमा पेश गर्ने कार्य पूरा भइसकेको छ। प्लानिङ् अनुमति हासिलपछि दोस्रो चरणमा नयाँ प्रवेशद्वार, कार पार्क, ठूलो चौतारी, पोखरी, ऐतिहासिक ढुङ्गेधाराहरू, नेपाली र वेल्सशैलीको छुट्टी मनाउने घर, प्रदर्शनी हल (नेपाली र वेल्स संस्कृति र कलाकृतिहरू प्रदर्शन गर्न), कार्यालय, क्याफे र जैविक फार्म निर्माण गरिनेछ ।

साथै यस चरणमा हामीले खरिद गरिसकेको १ सय ९३ रोपनी जग्गामा पैदलयात्रा गर्ने सुविधासहित नेपाल र वेल्सका प्रमुख स्मारकहरू र मठमन्दिरहरूको रिप्लिका (प्रतिकृति)हरू निर्माण गरी एउटा आकर्षक केन्द्र स्थापना गरिनेछ। हामीले तेस्रो चरणमा स्थानीय निकाय (प्लानिङ) को सहमतिमा होटल, विवाहलगायतका सभा समारोह स्थल, तालिम तथा सेमिनार हल, ध्यान केन्द्रजस्ता संरचना निर्माण गर्ने भनिएको भएपनि स्थानीय प्लानिंग अनुमति दिने निकाय हाल यो क्षेत्रमा नितान्त नयाँ र ठूला संरचना निर्माण गर्ने अनुमति दिन निकै संवेदनशीलताका साथ सजगता अपनाएको महसुस गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय MINISTRY OF CULTURE, TOURISM & CIVIL AVIATION स्थापनादेखि नै नेपाली भिलेज परियोजनामा सबैले अपनत्व पाउनुपर्छ भन्ने सोचका साथ हामीले शेयर सदस्यका रूपमा जोडिने अवसर पनि प्रदान गरिरहेका छौं। हामीले हाम्रो परियोजना निर्माण अनुमतिका लागि स्थानीय निकायमा योजना स्वीकृतिका लागि पेस गरिसकेका छौं र निकट भविष्यमै स्वीकृति पाएपछि परियोजनाको दोस्रो चरणका योजनाहरू निर्माण सुरू गर्ने तयारीमा छौं। यसै क्रममा संयोगवश नेपाली भिलेज यूकेको परिसरको नजिकै बिक्री रहेको २२ कोठे भवन जुन हाल व्यावसायिक हिसाबले ध्यान रयोग संचालन भइरहेको Tiratanaloka Buddhist Retreat Centre Aber, Talybont-on-Usk, हामीलाई हाम्रो परियोजनाको तेस्रो चरणको लक्ष्य प्राप्तिका लागि अति उपयुक्त हुने महसुस गरी गएको साधारणसभाले यसलाई खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका निमित्त आवश्यक रकमका लागि थप ३ सय जनालाई यस परियोजनामा शेयर लिने मौका दिइनेछ।

परियोजना निर्देशक तथा व्यवस्थापन समितिमा मेजर खुशीमान गुरूङ एमभिओ – अध्यक्ष तथा प्रबन्ध निर्देशक, मानप्रसाद गुरूङ – उपाध्यक्ष, लोकेन्द्रराज श्रेष्ठ – कोषाध्यक्ष, टिकाराम गुरूङ – सचिव, बिरबिक्रम भट्टराई – प्रवक्ता, क्या. सूर्यप्रकाश गुरूङ – अपरेशन, कोलिन प्रिस – प्लानिङ, जशु गुरूङ मशेंस – मार्केटिङ्, शेरबहादुर गुरूङ, मे. सोभितबहादुर हमाल ठकुरी एमभीओ, मधु गुरूङ, नन्दबहादुर बयाम्बू मगर, गंगाप्रसाद गुरूङ, डम्बरबहादुर सुनुवार र अधिवक्ता बालकृष्ण गुरूङ – कानुनी सल्लाहकार रहनुभएको छ ।

https://www.nepalivillageuk.com

तस्बिर सौजन्य : नेपाली भिलेज यूके डटकमबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री