लन्डन । बेलायत भ्रमणमा रहेका नेकपा एमाले महासचिव शंकर पोखरेलले लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।
महासचिव पोखरेलले शनिबार कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण गर्नुभएको हो । उहाँ पार्टी निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेका पदाधिकारी, पार्टी समर्थकसहित समाथि क्षेत्र पुग्नुभएको थियो ।
पुष्पगुच्छा अर्पणपछि महासचिव पोखरेलले मार्क्सवादलाई पुनर्जागृत गर्न लाग्ने प्रतिज्ञा समेत गर्नुभयो । ‘कम्युनिज्मका बारेमा जुन प्रकारका भ्रमहरु प्रचार गरिएका छन् । ती सधैंका लागि अन्त्य हुनेछन् भनेर म ठान्दछु,’ उहाँको भनाइ थियो, ‘नयाँ युगको नयाँ विचार धाराको रुपमा फेरि हामी मार्क्सवादलाई पुनर्जागृत गर्न सक्नेछौं । म उहाँको समाधिस्थलमा उभिएर यही प्रतिज्ञा गर्न चाहन्छु ।’
उहाँ ओएनएफ यूकेको नवौं अधिवेशन उद्घाटनका लागि पत्नी सुजिता शाक्यसहित बेलायत भ्रमणमा आउनु भएको हो । अधिवेशनमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् । ओएनएफ यूकेको अधिवेशन १५ जुन आइतबार बेलायतस्थित लेस्टरमा हुँदैछ । महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिनुभयो ।
बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम छ । महासचिव पोखरेल असार ८ गते (२२ जून) मा स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।