नेपाली भाषामा साहित्य, गीत संगीत उपलब्ध हुन थालेको त्यति धेरै समय बितेको छैन । करिब डेढसय वर्षयता यी कार्य भएको मानिन्छ । जस्तो भानुभक्त आचार्यले रामायणलाई नेपालीमा उपलब्ध गराए भने मास्टर मित्रसेन थापामगरले नेपाली भाषामा ग्रामोफोनमा गीत रेकर्ड गरे । त्यसअघिका सर्जकहरुको कला र कृति कि उनीहरुको कायासँगै बिलायो कि उनीहरुको प्रभाव क्षेत्रमा थप केही समय चल्यो होला । कुनै पनि ऐतिहासिक कार्य पहिलोपटक गर्ने कर्ताले के कारणले त्यस्तो कार्य गर्यो होला ? त्यतिबेलाको परिवेश कस्तो थियो होला ? अरु कसैले नगरेको काम गर्न केले प्रेरित गर्यो होला भन्ने जिज्ञासा पैदा हुनु स्वाभाविक हो ।
करिब डेढ दशकदेखि बेलायतमा बसेर नेपाली साहित्यमा कलम चलाउँदै गरेका विजय हितानलाई पनि नेपाली भाषामा पहिलोपटक ग्रामोफोनमा गीत रेकर्ड गराउने मास्टर मित्रसेनका बारेमा त्यस्तै औडाहा भएको हुनुपर्छ । त्यसैले कहिले मास्टर मित्रसेनलाई पछ्याउँदै उनी काठमाडौँ त कहिले भारतको भाग्सु धर्मशाला पुग्छन् । कहिले मित्रसेनले लडाइँ लडेको युरोपको युद्धमैदान त कहिले बेलायतकै विभिन्न ठाउँमा चक्कर काट्छन् । करिब छ वर्ष लामो अनुसन्धानपछि उनले मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’ पाठकसामू ल्याएका छन् । उनकै शब्दमा यो ‘मास्टर मित्रसेनको जीवनीमा विद्यावारिधि’ हो ।
३९० पृष्ठको यो पुस्तक ११ अगष्त १९१४ बाट शुरु हुन्छ (जुन दिन मास्टर मित्रसेन गोरखा सेनामा भर्ती भएका हुन्छन्) र २५ मार्च १९४६ मा अन्तिम श्वास फेरेसँगै अन्त्य हुन्छ । यसबीचको मास्टर मित्रसेनको जीवन भोगाइ हो यो उपन्यास । पुस्तकलाई मूलत दुई भागमा विभाजित गरेर हेर्न सकिन्छ । पहिलो मास्टर मित्रसेन एक सिँपाहीका रुपमा र दोस्रो साहित्य संगीतमार्फत नेपाली जाति सेवकका रुपमा ।
उपन्यासकारले पुस्तकमा मास्टर मित्रसेनलाई मूल कथावाचकका रुपमा उभ्याएका छन् । गीत, साहित्यमा उनको रुचि त पल्टनभित्रका दुःख कष्टका बेला होस् या चाडवाडका बेला होस् उपन्यासमा प्रकट भइहाल्छ तर उपन्यासकारले उनलाई एक दृढ सिपाहींका रुपमा पनि प्रस्तुत गरेका छन् । जो पल्टनका आफूभन्दा माथिल्ला ओहोदाका मानिसहरुसित सवाल सोध्ने हिम्मत राख्छ । यसहिसाबले उनी गोरखाहरुमाथि हुँदै आएको शोषण, अमानवीय कार्यका विरुद्धमा बोल्नसक्ने एक निडर व्यक्ति पनि देखिन्छन् ।
मास्टर मित्रसेनको जीवनको दोस्रो आयामका बारेमा त धेरैलाई थाहा पनि छ । पुस्तकमा उनलाई चित्रण गरिएको छ – उनी एक सच्चा नेपाली भाषा, साहित्य, कला, सँस्कृतिको मात्र सेवक नभई एक समाज सुधारक पनि थिए । अहिले चल्तीको शब्दमा भन्ने हो भने सामाजिक अभियन्ता । जसले नेपाली भाषाबाहेक अरुमा गीत नगाउने, तलब खाएर जागिरे नबन्ने बरु स्वेच्छाले दान संकलन गरेर नेपाली जातिको लागि लाग्ने बाटो रोजे ।
हुनत उपन्यास एउटा तथ्य लेखन होइन उपन्यासकारको काल्पनिक चामत्कारिकता देखाउने विधा हो । कसैकसैले ऐतिहासिक उपन्यास भनेर तथ्यमा उभिने प्रयास पनि गरेका हुन्छन् तर यस कृतिमा भने उपन्यासकार हितानले ८० प्रतिशत तथ्य, २० प्रतिशत काल्पनिकतामा लेखिएको बयान दिएका छन् । यस बयानले एक पाठकलाई भने कुन पाटो तथ्य होला कुन काल्पनिक होला भन्ने दुविधा भने बनाउँदो रहेछ ।
पुस्तक करिब ५५ प्रतिशत मास्टर मित्रसेनको सैनिक जीवन र बाँकी ४५ प्रतिशत अवकाशपछिको जीवनमा आधारित छ । मानिसको पहिचान कहाँनिर कतिबेला कुन कार्यले बदलिन्छ भन्न सकिन्न । किनकि उसको व्यक्तित्व निर्माणमा उसकै मात्र अधीन रहन्न । जीवनभर एउटा कर्म गरेको व्यक्ति उत्तरार्धको एउटै कर्मले अर्कै रुपमा चिनिएको पनि धेरै दृष्टान्तहरु छन् । तर मित्रसेनको सवालमा उनले ७ वर्ष २११ दिन मात्र गोरखा सैन्यमा बिताए । बाँकी करिब २८ वर्ष उनले नेपाली जातिको सेवक बनेर बिताए । जसका क्रममा उनले गीत, गजल, भजन लेखे । संगीत भरे । श्वर भरे । नाटक लेखे । कलाकार खोजे । अभिनय सिकाए । निर्देशन गर्दै ठाउँठाउँमा देखाए । जो उनको आजसम्मको परिचय हो । त्यस कारण उपन्यासको धेरै हिस्सा यस पाटोमा पो हुनुपथ्र्यो कि ?
पुस्तक सर्सती पढ्दा लागेका दुई कुरा । पहिलो, पुस्तकमा युद्ध र सैनिक शब्दहरु प्रचुररुपमा छन् । गैरसैनिक पाठकहरुलाई त्यसले पार्नसक्ने असजिलोलाई समाधान गर्न ती शब्दहरुको अर्थ राखिएको भए अझ राम्रो हुन्थ्यो । लेखक स्वयं बेलायती सेनाका पूर्व सैनिक भएकाले उनका लागि त ती शब्दहरु दैनन्दिन बोलिने, लेखिने शब्दहरु होलान् । सैन्य पृष्ठभूमिका पाठकका लागि पनि सहजै ग्राम्य शब्दशहरु होलान् तर बाँकीका लागि ती शब्दहरु भारी पर्न सक्छन् । दोस्रो, पुस्तक करिब एक सय वर्ष अगाडीको कालखण्डमा लेखिएको हुँदा त्यतिबेला चलनचल्तीको लवजका बारेमा पनि अनुसन्धान गरी त्यही शैलीमा लेखिएको भए झनै जीवन्त हुने थियो ।
साँग्रीला बुक्सले प्रकाशन गरेको सो पुस्तकका लागि हितानले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पनि पाइसकेका छन् । पुस्तकको मूल्य ६९५ रुपियाँ तोकिएको छ ।


खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’