
वासिङ्टन । अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परामर्श संस्थाले बताएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी शक्तिमार्फत विश्वलाई आकार दिन सहयोग गर्ने उहाँ महत्त्वाकांक्षी कूटनीतिज्ञ हुनुहुन्थ्यो ।
आधुनिक समयमा सम्भवतः सबैभन्दा धेरै चिनिने अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको कनेक्टिकटस्थित उहाँको घरमा निधन भएको किसिन्जर एसोसिएट्सले एक विज्ञप्तिमा बताएको छ ।
किसिन्जरको परिवारले निजीस्तरमा अन्त्येष्टि गर्ने र पछि न्युयोर्कमा स्मृति सभा आयोजना गरिने एसोसिएट्सले बताएको छ । आफ्नो यहुदी परिवार नाजी जर्मनीबाट भागेपछि न्युयोर्कमा किसिन्जर हुर्किनुभएको थियो ।
विज्ञप्तिमा उहाँको निधनको कारण उल्लेख गरिएको छैन । उहाँ एक सय वर्षमा पनि सक्रिय हुनुहुन्थ्यो र जुलाईमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न चीन जानुभएको थियो । चीन किसिन्जरका लागि सबैभन्दा दिगो विरासतमध्ये एक थियो ।
सोभियत सङ्घविरुद्ध शीत युद्धको लडाइँलाई धक्का दिने अपेक्षामा किसिन्जर गोप्यरूपमा बेइजिङ पुग्नुभएको थियो । परिणामस्वरूप राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा चीनको ऐतिहासिक भ्रमण गर्नुभयो र पछि तत्कालीन विश्वबाट पृथक बनेको मुलुक चीनसँग अमेरिकाले सम्बन्ध स्थापना गर्यो । अमेरिकासँगको सम्बन्धकै कारण चीनले तीव्र विकास हासिल गर्यो र वासिङ्टनसँगको बढ्दो प्रतिस्पर्धीका रूपमा विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो ।
किसिन्जरलाई विश्वका अधिकांश स्थानमा तिरस्कृत गरिए पनि वासिङ्टनस्थित चिनियाँ राजदूत झी फेङले उहाँलाई ‘सबैभन्दा मूल्यवान पुरानो मित्र’ भन्दै उहाँको निधनले ‘हाम्रा दुवै मुलुक र विश्वका लागि ठूलो क्षति’ पुगेको बताउनुभएको छ ।
अमेरिकामा किसिन्जरलाई राजनीतिक मूलधारमा पनि सम्मान प्राप्त भयो । प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका सदस्य एवं हालका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले न्युयोर्कमा उहाँको एक सयौँ जन्मदिनको पार्टीमा भाग लिनुभएको थियो ।
“हेनरी किसिन्जरको निधनसँगै अमेरिकाले विदेश मामिलामा सबैभन्दा भरपर्दो र विशिष्ट आवाज गुमाएको छ”, पूर्वराष्ट्रपति एवं रिपब्लिकन जर्ज डब्लु बुसले एक विज्ञप्तिमा भन्नुभएको छ ।
किसिन्जरलाई भियतनाम युद्ध अन्त्य गर्न वार्ताका लागि नोबेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो । यद्यपि युद्ध तत्काल समाप्त भएन र उहाँका उत्तरी भियतनामी समकक्षी ले डक थोले उक्त पुरस्कार लिन अस्वीकार गर्नुभयो
वाटरगेट काण्डपछि निक्सन राष्ट्रपति पदबाट बर्खास्त हुनुभयो र किसिन्जरले उहाँका उत्तराधिकारी जेराल्ड फोर्डको नेतृत्वमा काम गर्नुभयो । आफ्नो प्रभाव प्रतिविम्बित गर्ने अभूतपूर्व व्यवस्थामा किसिन्जरले एकैसाथ मुलुकको शीर्ष कूटनीतिज्ञ विदेशमन्त्री र राष्ट्रपतिको दाहिने हात मानिने राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा काम गर्नुभयो ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ