
काठमाडौँ । इजरायलमा रहेका १२ जना विद्यार्थी सम्पर्क बाहिर रहेको बताइएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई आज जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।
मन्त्री साउदका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिनुभयो ।
नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराउनुभएको हो ।
“नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाट प्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौंको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ”, परराष्ट्रमन्त्री साउदले भन्नुभयो ।
उहाँका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुशल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँको भनाइ छ ।
इजराइलमा हाल करिब चार हजार पाँच सय नेपाली ‘केयर गिभर’को रुपमा कार्यरत छन् । त्यस्तै, दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।
इजराइलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको पनि उहाँले संसद्मा बताउनुभयो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएर परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहनेगरी समन्वय समिति गठन गर्नुभएको छ । उक्त समितिले घटनाको वस्तुस्थिति बुझ्ने र घटनाको समग्र मूल्याङ्कन गरेर इजराइलमा रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने र उद्धार गर्नुपर्ने अवस्थाका लागि समेत कार्यादेश पाएको पनि मन्त्री साउदले बताउनुभयो ।
दक्षिणी इजराइलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजराइलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन दिएको पनि उहाँको भनाइ छ । त्यस्तै, इजराइल सरकारसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
जल, हवाई र स्थलमार्गबाट हमास लडाकु इजराइलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण गरेको र त्यहाँका नागरिक बन्धक बनाउने गतिविधि भएको बुझिएको पनि मन्त्री साउदले संसद्मा बताउनुभयो । त्यस्तै, इजराइलको तर्फबाट जवाफी कारबाही हुँदा गाजा क्षेत्रमा क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ ।

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा