
काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
“मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा आजै तीन सदस्यीय छानबिन आयोग गठन गर्ने र उक्त निर्णय आजै बस्ने प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने सहमति भएको छ”, सचेतक बर्तौलाले भन्नुभयो ।
सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।
प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनुहुनेछ ।
यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गर्नुभएको थियो । आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको उपस्थिति थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक