
काठमाडौँ । साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ ।
सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्यले यसपालि पहिलोपटक क्यानाडाको क्यालगरी सहरमा साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।
त्यसपछि अक्टोबर ४ (असोज १७) मा भ्यानकुभर सहरमा प्रस्तुति दिने र अन्तिम शो भने अक्टोबर ८ (असोज २१) मा क्यानाडाको टोरन्टोमा प्रस्तुत गर्ने नेपथ्यले जानकारी दिएको छ ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औँ गन्तव्य राष्ट्र हुनेछ ।
केही समययता नेपालीका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दो छ ।
सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाको रूपमा प्रस्तुत गर्ने विचारअनुरूप यसपालिको नेपथ्य क्यानाडा शृङ्खला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ ।
“क्यानाडामा हुने प्रायः नेपाली कार्यक्रम अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ”, व्यवस्थापन सम्हाल्दै आएको नेपालका किरणकृष्ण श्रेष्ठले भन्नुभयो, “नेपाली कलाकारले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपालि त्यो सम्भावनाको ढोका पनि उघार्ने अठोट लिएका छौँ ।”
अघिल्लो महिनाको शृङ्खला जापानमा भएको थियो । यात्रामा सम्मिलित आठ जना प्राविधिज्ञ एवं व्यवस्थापक र छ सङ्गीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेश हुनेछ ।
“हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए तापनि त्यहाँ बसोबास गर्ने नेपालीले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ”, ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङले भन्नुभयो, “दसैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।”
क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गीतारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनुहुने जनाइएको छ ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !