
झापा । झापा अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु तीन वर्षदेखि इराकमा बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् ।
विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् । “ओमान लाने भनेर इराक पुर्याएछन्”, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, “छ महिनासम्म कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्यो आमामात्र भनिरहेकी छन् ।”
कमलाको उद्धारका लागि हालसम्म सरकारी निकायबाट कुनै प्रयास हुनसकेको छैन । दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रष्ट हुनसकेको छैन ।
कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालनपालन हजुरआमा लखीले नै गरिरहेकी छिन् । काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन् ।
इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्याएको परिवारको दाबी छ । इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छन् ।
“अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिदोरहेछ”, छोरीको भ्वाइस म्यासेजबाट आएको खबरलाई उद्धृत गर्दै पीडितकी आमा लखीले भनिन्, “चाउचाउ र कहिलेकाहीँ रोटी आधापेट खान दिन्छन् । काममा जान आनाकानी गर्यो भने पिट्छन् । घरमा सम्पर्क गर्नसमेत दिँदैनन् ।”
बन्धक बनेकी कमलाले भ्वाइस म्यासेजमार्फत आफ्नो उद्धार नभए गिरोहले मार्ने त्रास रहेको जनाउँदै आएको उनकी आमा लखीले बताइन् । कमलाले खान नदिने मात्र नभएर चिसो भुइँमा सुत्न बाध्य पारेको र चर्को श्रम शोषण गरिरहेको बताउने गरेकी छन् ।
पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ । ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ ।
गत वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो । त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए । अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन् ।
समुन्नत नेपालकी अध्यक्ष कोपिला बस्नेतले कमलाको शीघ्र उद्धारका लागि कतैबाट पहल नभएपछि पीडितकी आमा लखी आफ्नो सम्पर्कमा आउनुभएको बताइन् । “गरिब र आदिवासी समुदायको व्यक्ति भएकाले कसैले आफ्नो कुरा नसुनेको उहाँको गुनासो थियो”, अधिवक्तासमेत रहनुभएकी बस्नेतले भनिन्, “कमला मुर्मु बिरानो मुलुकमा बन्धक अवस्थामा हुनुहुन्छ । सरकारी र प्रशासनिक क्षेत्रबाट उहाँलाई छिटो उद्धारको प्रयास गर्न आग्रह गर्दछु ।”
मुर्मु परिवारको छिमेकी सङ्गीता प्रसाईँ वंशलले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेतासमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुःखेसो पोखिन् ।
सङ्घीय संसद्की उपसभामुख इन्दिरा राना र कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको गृहनगरसमेत अर्जुनधारा हो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा