
झापा । झापा अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु तीन वर्षदेखि इराकमा बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् ।
विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् । “ओमान लाने भनेर इराक पुर्याएछन्”, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, “छ महिनासम्म कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्यो आमामात्र भनिरहेकी छन् ।”
कमलाको उद्धारका लागि हालसम्म सरकारी निकायबाट कुनै प्रयास हुनसकेको छैन । दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रष्ट हुनसकेको छैन ।
कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालनपालन हजुरआमा लखीले नै गरिरहेकी छिन् । काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन् ।
इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्याएको परिवारको दाबी छ । इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छन् ।
“अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिदोरहेछ”, छोरीको भ्वाइस म्यासेजबाट आएको खबरलाई उद्धृत गर्दै पीडितकी आमा लखीले भनिन्, “चाउचाउ र कहिलेकाहीँ रोटी आधापेट खान दिन्छन् । काममा जान आनाकानी गर्यो भने पिट्छन् । घरमा सम्पर्क गर्नसमेत दिँदैनन् ।”
बन्धक बनेकी कमलाले भ्वाइस म्यासेजमार्फत आफ्नो उद्धार नभए गिरोहले मार्ने त्रास रहेको जनाउँदै आएको उनकी आमा लखीले बताइन् । कमलाले खान नदिने मात्र नभएर चिसो भुइँमा सुत्न बाध्य पारेको र चर्को श्रम शोषण गरिरहेको बताउने गरेकी छन् ।
पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ । ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ ।
गत वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो । त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए । अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन् ।
समुन्नत नेपालकी अध्यक्ष कोपिला बस्नेतले कमलाको शीघ्र उद्धारका लागि कतैबाट पहल नभएपछि पीडितकी आमा लखी आफ्नो सम्पर्कमा आउनुभएको बताइन् । “गरिब र आदिवासी समुदायको व्यक्ति भएकाले कसैले आफ्नो कुरा नसुनेको उहाँको गुनासो थियो”, अधिवक्तासमेत रहनुभएकी बस्नेतले भनिन्, “कमला मुर्मु बिरानो मुलुकमा बन्धक अवस्थामा हुनुहुन्छ । सरकारी र प्रशासनिक क्षेत्रबाट उहाँलाई छिटो उद्धारको प्रयास गर्न आग्रह गर्दछु ।”
मुर्मु परिवारको छिमेकी सङ्गीता प्रसाईँ वंशलले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेतासमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुःखेसो पोखिन् ।
सङ्घीय संसद्की उपसभामुख इन्दिरा राना र कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको गृहनगरसमेत अर्जुनधारा हो ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन