
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभयो ।
माओवादी केन्द्रले विशेष अभियानका रुपमा तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । सो अभियानमा सात प्रदेशका सात वडावडामा आफैँ खटिने अध्यक्ष प्रचण्डको भनाइ थियो । सो अभियानमा पार्टीका सबै नेता तथा कार्यकर्ता कार्यक्षेत्रमा खटिनुपर्ने उहाँको भनाइ छ ।
आफू पनि सात वडा प्रदेशको विभिन्न सात वडामा पुगेर जनतासँग साक्षात्कार गर्ने उल्लेख गर्दै उहाँले अब सबै नेता तथा कार्यकर्ता जनतासँग एकाकार हुनैपर्ने र जोडिनैपर्ने बताउनुभयो । उहाँले अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारका तर्फबाट भएको काम कारबाहीका बारेमा समेत जनतालाई जानकारी दिन आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँले अभियानलाई साथ दिन निर्देशनसमेत दिनुभएको छ । सुशासन एवम् समृद्धिको यात्रामा देश अगाडि बढ्ने स्पष्ट पार्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरिकाले अघि बढेका हौँ । हामी यसलाई त्यतिकै छाड्दैनौँ, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला ।”
उहाँले पार्टीको मुख्य नेतृृत्व वरिपरि गोलबन्द भएर विधि पद्धतिमा रहेर जनतासँग एकाकार भएर परिवर्तनको स्वामित्व लिने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र भावनात्मक रुपमा एकै ठाउँमा आएको उल्लेख गर्नुभयो । उहाँले जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने बताउनुभयो । उहाँले विगतमा पार्टीमा केही अन्यौलमा परेजस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको स्पष्ट पार्नुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । समाजवादी क्रान्तिको अभियान सुरु भएको उल्लेख गर्दै उहाँले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुन्छ । अभियानमा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिनुभयो । यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्तावमाथि नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
माओवादीले केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाएको छ । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो । बैठकमा पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क प्रस्तुत भएको थियो ।
माओवादीको केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो । यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘श्रव्य दृश्यका माध्यमबाट केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा