
अल्डरशट । फ्रेण्डस् अफ कियोच (काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ) ले नेपालमा निर्माण गर्न लागेको बाल अस्पतालहरुको सहयोगार्थ बेलायतमा एक च्यारिटी साँझ आयोजना गरिएको छ।
शनिबार बेलुका एम्पायर हलमा आयोजित च्यारिटी डिनरमा विभिन्न संघसंस्था तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता थियो।
उक्त च्यारिटी डिनरलाई सम्बोधन गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) का अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाले नेपालमा गत १५/२० वर्षमा स्वास्थ्य क्षेत्रमा सुधार आएता पनि अहिले पनि ठूलो संख्यामा बालबालिकाहरुको नसर्ने रोगका कारण मृत्यु भइरहेको जानकारी दिए। यसलाई न्यूनीकरण गर्न र बालबालिकाको ज्यान जोगाउन साथीहरुसंग मिलेर आफूले यो अभियान शुरु गरेको उनले बताए ।
आफ्नो भ्रमणका क्रममा बेलायतवासी नेपाली समुदायबाट पाएको स्नेहप्रति उनले आभार व्यक्त गरे। “तपाईंहरु सबै मनकारी हुनुहुन्छ। धनले मात्रै हैन, आफूसँग भएको सीप, अनुभव र नेटवर्कमार्फत पनि हामीलाई सहयोग गर्न सक्नु हुन्छ,” उनले भने।
उक्त समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा गएको केही दशकयता शिक्षा, स्वास्थ्य, यातायात तथा संचारको क्षेत्रमा निकै प्रगति भएको तर अझै धेरै काम गर्न बांकी रहेको बताए। राजदूत आचार्यले परोपकार र सामाजिक सेवामा विश्वास गर्ने डा कोइराला गर्व गर्न लायक नेपालको व्यक्तित्व भएको बताउंदै भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाको स्वास्थ्य उपचार जस्तो सत्कार्यमा सघाउन सबैलाई आग्रह पनि गरे।
सोही कार्यक्रममा नेप्लिज डक्टर्स एसोसियशन युके र कियोचबीच तालिम, सीप हस्तान्तरण लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी एक समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको थियो। हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा रजिस्टर्ड नर्सको रुपमा कार्यरत उत्साह बस्नेतले आफू तीन वर्षको हुँदा डा कोइरालाले आफ्नो ‘ओपन हर्ट सर्जरी’ गरेको बताइन्। उनकै प्रेरणाले आफू स्वास्थ्य क्षेत्रमा लागेको पनि उनले जनाइन्।
कार्यक्रममा निर्माणाधीन बाल अस्पताल परियोजनाका लागि नेप्लिज डक्टर्स एसोसियशन युकेको तर्फबाट अध्यक्ष डा कमल अर्यालले ५,००५ पौण्ड तथा तमु धी युकेको तर्फबाट अध्यक्ष हरि गुरुङले रु एक लाख सहयोग प्रदान गरे। त्यस्तै डा कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ का केही प्रति बिक्री गरिएको थियो भने राफल पनि खेलाइएको थियो। राफलको संयोजन ग्रेटर नेप्लिज रेडिंग सोसाइटीका अध्यक्ष भीमसेन खड्काले गरेका थिए।
कार्यक्रममा वरिष्ठ नर्स प्रसुना कडेल तथा सनम बैरागले ‘मेरो मुटु’ नामक एकांकी नाटक प्रदर्शन गरेका थिए भने बेलायतस्थित चर्चित कलाकारहरु शर्मिला बर्देवा, सितु खरेल, डा सुदर्शन गुरुङले सुमधुर गीत सुनाएका थिए। त्यस्तै रफी श्रेष्ठले बाँसुरीवादन गरिन् भने सोयन्ता थापा र गुञ्जन जीसीले नृत्य प्रस्तुत गरेका थिए।
फ्रेन्ड्स अफ कियोच युकेका संयोजक ओजेश सिंह तथा सहसंयोजक लक्ष्मी राई (लारा) ले सबैलाई धन्यवाद दिए। एक साता लामो बेलायतको भ्रमण सकेर डा कोइराला आइतबार स्वदेश फर्केका छन्।
(तस्बिर: मिलन तमु)
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस