
काठमाडौँ । नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।
मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् ।
उक्त दूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ ।
यसअघि नै एक नेपाली सकुशल जेद्दा पुगेको र त्यहाँ आइपुगेका सबै नेपालीको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
कायरोस्थित नेपाली राजदूतावाससँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको, तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेका छन् । दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाइएको राजदूतावासले जानकारी गराएको छ ।
सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारमा आवश्यक सहयोग एवं सहजीकरण गर्ने सबै सम्बद्ध पक्षलाई नेपाल सरकारले धन्यवाद व्यक्त गरेको छ । साथै अझै पनि सुरक्षा अवस्था असहज रहेको बुझिएकाले सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममाबाहेक बाहिर हिँडडुल नगर्न नेपाल सरकारले आग्रह गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस