
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप छनौट खेलमा स्थान पक्का गर्न सफल क्रिकेट खेलाडीसित भेट गर्नु भएको छ ।
खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताउनुभयो । उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गर्नुभयो । नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उहाँले उल्लेख गर्नुभयो ।
“मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।”
सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिनुभयो । उहाँले आगामी दिनमा थप सफलताको कामनासमेत गर्नुभयो ।
बधाई तथा सम्मान समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुहुँदै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताउनुभयो ।
“प्रधानमन्त्रीज्यूले क्रिकेट खेल र खलाडीको स्तर वृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ”, उहाँले भन्नुभयो । खेलाडीको मेहनत मात्र सबैथोक नभएको जिकिर गर्दै अध्यक्ष चन्दले पर्याप्त सहयोगका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्नुभयो । आगामी दिनमा टेष्ट मान्यताप्राप्त देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बढ्ने उहाँले बताउनुभयो ।
सरकारको प्राथमिकतामा खेल क्षेत्र पर्नुपर्ने अध्यक्ष चन्दको भनाइ थियो । खेलमा पूर्वाधारको अभाव सधैँ खड्किने गरेको उल्लेख गर्दै उहाँले कीर्तिपुर क्रिकेट मैदानको अवस्थाबारे राष्ट्रपति पौडेललाई अवगत गराउनुभएको थियो । कीर्तिपुर क्रिकेट मैदान भित्र र बाहिर गरी झण्डै ३० हजार दर्शकले खेलाडीको हौसला बढाएकामा धन्यवाद दिँदै उहाँले खेलप्रेमी र शुभचिन्तकको साथले क्रिकेटमा राम्रो गर्न सकेको बताउनुभयो ।
“मैदानभित्र बस्ने ठाउँ नभएर दर्शकले बाहिरबाटै साथ दिनुभयो, यसबाट नेपालमा दर्शकको क्रिकेटप्रतिको माया कति रहेछ भन्ने प्रष्ट हुन्छ”, अध्यक्ष चन्दले भन्नुभयो ।
सो अवसरमा क्यान सचिव दुर्गाराज पाठकले राष्ट्रपति पौडलसमक्ष क्रिकेट खेलाडी तथा पदाधिकारीको परिचय गराउनुभएको थियो । यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाखबाट पुरस्कृत गर्ने घोषणा गर्नुभएको थियो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन