
काठमाडौँ । पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएको तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमश प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिनुभयो ।
समितिको अध्यक्षसमेत रहनुभएका सचिव न्यौपानेले सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाउनुभयो । सङ्ग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गर्नुभएको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ ।
बा अ २ नम्बरको गाडी त्रिभुवन र उहाँको परिवारले प्रयोगमा ल्याउनुभएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो । अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्नुहुने जानकारी पनि समितिले दिएको छ ।
यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गर्नुभएको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो ।
तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताउनुभयो ।
विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये सङ्ग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ ।
दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले सङ्ग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर