
लन्डन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । प्रतिनिधिसभाले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन् । ”
अध्यक्ष आचार्यले प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्नुहुने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत सङ्घका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिनुभयो ।
यसैगरी, सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गर्नुभयो । “हामी गैरआवासीय नेपाली (एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौँ”, उहाँले भन्नुभयो ।
सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताउनुभयो । “यी अधिकारको परिभाषा अर्को विधयेक (गैरआवासीय नेपालीसम्बन्धी विधयेक)मा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।
सङ्घका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गर्नुभयो । उहाँले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
सङ्घका महासचिव डा केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतिक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताउनुभयो । “सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुङ्गा सावित हुने विश्वास छ”, उहाँले भन्नुभयो ।
उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक