
काठमाडौँ । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ ।
साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो । प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् ।
ती बसमध्ये दुईवटा माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।
साझाले ४० विद्युतीय बस खरिद गरेकामा बाँकी ३७ बस आगामी महिनाभित्रमा आइपुग्ने जनाइएको छ । सरकारले तीन वर्ष पहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद भएको थियो । ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको छ । ती बस चीनको सिएचटिसी कम्पनीले तयार गरेको हो ।
दोस्रो चरणमा योभन्दा बढी लामो बस खरिद हुने कम्पनीले जनाएको छ । झण्डै १० देखि १२ मिटर लम्बाइको सहरी विद्युतीय बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको उहाँले बताउनुभयो । बस चालक हर्मिता श्रेष्ठले अरु बसभन्दा यो सजिलो भएको बताउनुभयो । केही वर्षदेखि साझाकै पेट्रोलियम पदार्थबाट चल्ने बस चलाइरहनुभएकी उहाँ यी बसमा क्लज, गेयर हाल्नु नपर्ने हुँदा सजिलो भएको जानकारी दिनुभयो । यसमा स्विच अन गरेपछि आफैँ गुड्ने हुँदा चलाउन सजिलो छ । उहाँले भन्नुभयो, ”अरु गाडीजस्तो आवाज आउने छैन ।”
साझा अध्यक्ष कनकमणि दीक्षितले नेपालमा साझाले सहरी यातायात र क्षेत्रीय यातायात सुरु गरेको बताए । विद्युतीय बस आर्थिक र वातावरणीयरूपमा उपयुक्त रहेको र यात्रुलाई पनि सुविधा हुने उहाँले बताउनुभयो । निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बस सञ्चालनका लागि पनि सहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा अध्यक्ष दीक्षितले जोड दिनुभयो । चार्जिङ स्टेशन निर्माणका लागि सरकारले सहयोग गर्ने उहाँको विश्वास थियो ।
यी बसहरूमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा १६१ किलोवाट रहेको छ । अहिले बससँगै दुई थान चार्जरसमेत ल्याइएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताउनुभयो । दिनभर बस गुडाएर राति चार्ज गर्न सकिने सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताउनुभयो । उहाँले भन्नुभयो, ”राति तीन–चार घण्टा चार्ज गरेपछि अर्को दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।” अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उहाँले बताउनुभयो । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्वीलचेयर राख्नका लागि पनि स्थान राखिएको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित