काठमाडौं । स्वरकी धनी लता मंगेश्करको आइतबार मुम्बईमा निधन भयो । उहाँका असंख्य स्रोताहरुले भने उहाँले गाएका गीत सुनेर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहनुभएको छ ।
लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दौरमा भएको थियो । उहाँका पिता पंंडित दीनानाथ मंगेशकर थिएटर कलाकार र गायक हुनुहुन्थ्यो ।
मध्यप्रदेशको इन्दौरमा एक मध्यमवर्गीय परिवारमा जन्मिनुभएकी लता मंगेशकर भारतकी सबैभन्दा धनी गायिका हुनुहुन्थ्यो । धेरैले उहाँलाई माता सरस्वतीको बरदानप्राप्त गायिका भनेर सम्बोधन गर्ने गरेका छन् ।
लतालाई बाल्यकालदेखि नै गाउने र सङ्गीतमा रुचि थियो । १३ वर्षको उमेरमा लताले १९४२ मा मराठी फिल्म ‘पहली मंगलागौर’ मा पहिलो पटक गीत गाउनुभएको थियो । सन् १९४७ मा फिल्म ‘आपकी सेवा’ मार्फत उहाँले हिन्दी फिल्ममा प्रवेश गर्नुभएको थियो । ८० वर्षको गायन करियरमा उहाँले हालसम्म ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाइसक्नुभएको छ । सन् २०१५ मा लताले अन्तिम पटक निखिल कामतको फिल्म ‘डन्नो वाई २’ मा गीत गाउनुभएको थियो । त्यसबेलादेखि अहिलेसम्म उहाँ गायनबाट टाढा रहनुभएको थियो ।
पहिलो गीत गाउँदा २५ रुपियाँ
लताले पहिलो पटक स्टेजमा गीत गाउँदा २५ रुपियाँ पारिश्रमिक पाउनुभएको थियो । उहाँ यसलाई आफ्नो पहिलो कमाइ भनेर स्वीकार्नुभयो । उहाँले पहिलो पटक १९४२ मा मराठी फिल्म किट्टी हसलमा गीत गाउनुभएको हो । त्यतिबेला १३ वर्षीया लताले यो गीतका लागि २५ रुपियाँ पारिश्रमिक लिनुभएको थियो । आज उहाँ ३७० करोड सम्पत्तिको मालिक हुनुहुन्छ ।
लताका भाइ हृदयनाथ मंगेशकर र बहिनीहरू उषा मंगेशकर, मीना मंगेशकर र आशा भोसले सबैले सङ्गीतलाई आफ्नो करियरको रूपमा रोज्नुभएको छ । लताले हृदयनाथ मंगेशकरसँग केही मराठी गीत पनि गाउनुभएको छ, जसमध्ये सबैभन्दा चर्चित गीत कामापुरतममा फिल्ममा गाएको आशा निशा पूरा काढी थियो ।
महिनाको ४० लाख कमाइ
सीएनोलेज नामक वेब साइटका अनुसार लताको हरेक महिना ४० लाख र वार्षिक ६ करोड कमाइ हुन्छ । उहाँको कमाइको मुख्य स्रोत उहाँको गीत नै हो । यसबाहेक उहाँले म्युजिक कन्सर्ट र म्युजिक एल्बमबाट पनि कमाइ गर्नुभएको छ ।
पहिलो ठूलो ब्रेक
सङ्गीतकार गुलाम हैदरले १८ वर्षीया लताको गायन प्रतिभा सुनेपछि उहाँलाई त्यस युगका सफल फिल्म निर्माता शशीधर मुखर्जीसँग परिचय गराए । शशीधरले यो आवाज एकदमै पातलो छ, काम नलाग्ने छ भन्नुभयो । त्यसपछि मास्टर गुलाम हैदरले लतालाई चलचित्र ‘मजबूर’ को ‘अङ्ग्रेजी छोरा चला गया’ गीतमा गायक मुकेशसँग गाउने मौका दिनुभएको थियो । यो लताको पहिलो ठूलो ब्रेक थियो, त्यसपछि उहाँलाई कामको कमी भएन । पछि शशीधरले आफ्नो गल्ती स्वीकार गर्दै ‘अनारकली’, ‘जिद्दी’ जस्ता फिल्ममा लतालाई धेरै गीत गाउन लगाउनुभएको छ ।
अविवाहित
लता मंगेशकरले जीवनमा बिहे गर्नुभएन । यसको जवाफ उहाँ आफैंले एक अन्तर्वार्तामा, ‘घरका सबै सदस्यको जिम्मेवारी मेरो काँधमा परेको थियो । जसका कारण पटक पटक बिहेको आइडिया आए पनि कार्यान्वयन गर्न सकिएन । मैले सानै उमेरमा काम गर्न थालें । मसँग धेरै काम थियो । सन् १९४२ मा तेह्र वर्षको उमेरमा बुबा गुमेको हुनाले परिवारको सबै जिम्मेवारी ममाथि परेको कारणले मेरो मनबाट बिहे गर्ने सोच नै हट्यो,’ उहाँले भन्नुभएको थियो ।
फिल्ममा स–साना भूमिका
लता मंगेशकरका बुबा शास्त्रीय सङ्गीतका ठूलो फ्यान हुनुहुन्थ्यो । त्यसैले सायद उहाँ फिल्ममा लताविरुद्धमा हुनुहुन्थ्यो । सन् १९४२ मा उहाँका बुबाको मृत्युभयो । त्यसपछि उहाँको परिवारको आर्थिक अवस्था नाजुक भयो । लता मंगेशकरले मराठी र हिन्दी फिल्महरूमा सानो भूमिका खेल्न थाल्नुभयो । मास्टर विनायकले उहाँलाई र आशा भोस्लेलाई आफ्ना केही फिल्ममा अभिनयसँगै गीत गाउने मौका पनि दिनुभयो ।
नेपाली गीत
लताले धेरै नेपाली गीतमा पनि आफ्नो स्वर भर्नुभएको छ । उहाँले गाउनुभएकोे नेपाली गीतमा बाँचुन्जेललाई, आकाशमा तिरमिरे तारा, जुन माटोमा मैले जन्म लिएँजस्ता थुप्रै गीत उहाँले गाउनुभएको छ ।
अवार्डको ओइरो
फिल्मफेयर पुरस्कार (१९५८, १९६२, १९६५, १९६९, १९९३ र १९९४) बाट उहाँ सम्मानित हुनुभयो । राष्ट्रिय पुरस्कार (१९७२, १९७५ र १९९०) बाट पुरस्कृत हुनुभयो । त्यस्तै, महाराष्ट्र सरकार पुरस्कार (१९९६ र १९६७) मा प्राप्त गर्नुभयो ।
त्यस्तै, १९६९– पद्मभूषण, १९८९– दादासाहेब फाल्के पुरस्कार, १९९३ –फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड, १९९६ – स्क्रिन लाइफटाइम अचीभमेन्ट अवार्ड, १९९७– राजीव गान्धी पुरस्कार, १९९९ – पद्म विभूषण, जी सिने का लाइफटाइम अचिभमेन्ट अवार्ड जित्नुभयो ।
सोहीअनुसार २०००– आईआईएएफ (आईफा) को लाइफटाइम अचिभमेन्ट अवार्ड, २००१ – स्टारडस्ट लाइफटाइम अचीभमेन्ट अवार्ड, नूर जहाँ अवार्ड, महाराष्ट्र भूषण अवार्ड, २००१– भारत रत्न पुरस्कारले पुरस्कृत हुनुभयो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न