
गलेश्वर । छ महिनाको अवधिमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका म्याग्दीका पर्वतारोही निर्मल पुर्जाको ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री (फिल्म) सार्वजनिक भएको छ । पुर्जाको आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण यात्राको सेरोफेरोलाई समेटिएको उक्त डकुमेन्ट्री नेटफ्लिक्स सोमबार सार्वजनिक भएको गरिएको हो ।
उक्त डकुमेन्ट्री १९१ देशका १८ करोडभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ । विश्वका सर्वोच्च १४ ओटा हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान पुर्जाका नाममा कायम छ । पुर्जाले केवल ६ महिनामा ती सर्वोच्च हिमालहरु आरोहण गर्नुभएको हो । यसअघि उक्त कीर्तिमान ८ वर्षको थियो ।
विसं २०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गर्नुभएको पुर्जाले सोही सालको कात्तिकमा चीनको सिसापाङ्गा हिमाल आरोहणसंगै सबैभन्दा कम समयमा ८ हजार मिटर भन्दा माथिका १४ ओटा हिमाल आरोहणको कीर्तिमान आफ्नो नाममा कामय गराउनुभएको हो ।
नेटफ्लिक्समा आउनुभन्दा केही दिनअघि काठमाडौँमा यसको प्रिमियर शो गरिएको उहाँले जानकारी दिनुभयो । यो फिल्म नेपालको सांस्कृतिक तथा पर्यटक क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
पुर्जाको नाममा जाडोयाममा बिनाअक्सिजन पाकिस्तानको माउन्ट केटु चढेको विश्व कीर्तिमानसमेत रहेको छ । माउन्ट केटुलाई ‘किलर माउन्टेन’समेत भनिन्छ । पुर्जाको नाममा आधा दर्जन बढी विश्व कीर्तिमान दर्ता भएका छन् ।
बेलायती सेनाबाट अवकाश लिनुभएका ३८ वर्षीय पुर्जाले अबको आफ्नो समय नेपालको पर्यटनको प्रवर्धनमा केन्द्रित गर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको सफलताले म्याग्दीवासी नागरिकसमेत खुसी भएका छन् ।
विश्वका ठूला र चर्चित सञ्चारमाध्यमहरुले पनि पुर्जाको यो डकुमेन्ट्रीलाई हेर्नै पर्ने भनेका छन् । द टाइम्स, द गार्डियन, ग्ल्यामर म्याग जस्ता ठूला सञ्चारमाध्यमले १४ पिक्सलाई हेर्नैपर्ने फिल्मको सूचीमा राखेका छन् ।
आरोही पुर्जाले सपना देख्ने हरेक मानिसका लागि यो फिल्मले प्रेरणाको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो फिल्ममा मेरो मात्रै नभएर मलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुको कथा समेटिएको छ । यो फिल्म पर्वतारोहणका बारेमा मात्रै होइन सङ्घर्ष र सफलताको दस्तावेज पनि हो ।”
नेटफ्लिक्स जस्तो ठूलो अनलाइन स्ट्रिमिङ कम्पनीबाट १४ पिक्स सार्वजनिक हुनु नेपाली सिनेमा क्षेत्रका लागि पनि ठूलो उपलब्धि भएको पुर्जाले बताउनुभयो ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार