फ्रिटाउन । सेरालिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।
राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गर्नु भएको हो ।
यही सोमबार, मंगलबार र बुधबार देशभरी शोक मनाइने भएको छ । गत शनिवार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उहाँले घटनाका बारेमा निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धतासमेत जनाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नुपर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनु पर्ने उपायहरु अपनाउनु पर्दछ,” उहाँले भन्नुभयो । अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाईकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।
शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् ।
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण