नेकपाको विवाद मिलाउने प्रयास जारी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को देखिएको आन्तरिक विवाद मिलाउन पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार पनि  छलफल भएको छ । पार्टी एकता कायम गरी नयाँ आधार खोजेर अगाडि बढ्न दुई जना अध्यक्षको बीचमा छलफल भएको हो । नेकपामा विकसित घटनाक्रमबारे दुई जना अध्यक्षबीच खुलस्त रूपमा कुराकानी भएको थियो , पार्टी फुट्न नदिन दुवैले प्रयास गर्ने र त्यसबारे थप छलफललाई निरन्तरता दिइरहेका छौं  , बैठकमा सहभागी स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिए ।
उनकाअनुसार अध्यक्षद्वयको भेटवार्ता सकारात्मक भएको छ । दुवै अध्यक्षको सहमतिमा बैठक राखिएको छ भन्दै उनले थपे, ‘‘स्थायी कमिटीको बैठक बस्नुअघि दुवै अध्यक्षको सहमतिमा पुग्ने प्रयास भैरहेको छ ।’’ बैठक असार २४ गते ११ बजेका लागि सरेको छ ।
विभिन्न सातवटा कार्यसूची तय गरी त्यसैमा छलफल गर्नका लागि असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक सुरु भएको थियो । नक्सा र सीमा विवादको विषयमा दुई दिनसम्म बैठकमा छलफल भयो । छलफल चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको आफूलाई भारतको इशारामा हटाउन लागेको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता गराउन परेको निवेदनको विषयले प्रवेश पाएसँगै बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
बैठककै क्रममा मन्त्रिपरिषद्ले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटीको बैठक नै प्रभावित भयो । बैठक चल्दाचल्दै आएको त्यो निर्णयका कारण बैठक नै स्थगित भयो । दुवै अध्यक्षको बीचमा छलफल भएपछि असार १९ गतेका लागि बैठक बोलाएको थियो तर अध्यक्षहरूको बीचमा गृहकार्य नभएका कारण सो बैठकलाई २४ गतेसम्मका लागि सारिएको छ।
प्रधानमन्त्री निवासमा दुवै अध्यक्षका बीच महìवपूर्ण छलफल भएको हो । सो छलफलमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरू ईश्वर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनको समेत उपस्थिति छ । सहभागी ती चार नेताले समेत पार्टी एकतालाई जसरी पनि बचाउँनुपर्छ भन्ने शीर्ष नेताहरूलाई सुझाव दिएका छन ।
हस्ताक्षर अभियान
नेकपाको एकतामा देखिएको विवादलाई समाधान गर्न केन्द्रीय कमिटीको माग सुरु भएको छ । पार्टीका केन्द्रीय सदस्यबीच आइतबार भएको भर्चुअल छलफलमा केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने सहमति भएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए । सोमबारदेखि हस्ताक्षर सङ्कलन गर्ने काम सुरु हुने बताउँदै उनले काठमाडौँमा उपलब्ध केन्द्रीय कमिटीका सदस्यहरू भेला भएर नै हस्ताक्षर गर्ने तथा उपत्यका बाहिर रहेका सदस्यहरूको विद्युतीय हस्ताक्षर गराउने जानकारी दिए । नेकपाको विधानमा २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरे केन्द्रीय कमिटी बैठक बोलाउन सकिने प्रावधान रहेको छ ।

स्थियी कमिटिको आजको बैठक २४ गतेका लागि सारियो

यसैवीच,नेपाल कम्युनिष्ट पार्टी  नेकपा स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले दिए । दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भई रहेका बेला आजको बैठक सारिएको हुन सकने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री