केही दिनभित्रै दैनिक १० हजार कोरोना संक्रमितको परिक्षण : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारभित्र प्रतिदिन १० हजारको सम्भावित कोरोना संक्रमितको नमुना परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् । मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि जनशक्ति व्यवस्थान, प्रयोगशालालाई २४ सै घन्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका हुन ।
मुलुकभर दैनिक पिसिआर परिक्षणको दायरा बढाउन आन्दोलन चर्किरहेको बेला स्वास्थ्यमन्त्री ढकालले कोरोना परिक्षणको दायरा बढाउने बताएका छन । ‘जनशक्ति व्यवस्थापन, ल्याबहरूलाई २४सै घन्टा सञ्चालन गर्ने, निजी क्षेत्रबाट गरी १० हजार नमुना परीक्षण गर्न सकिन्छ ,’ मन्त्री ढकालले भने । प्रति प्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए । सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गर्ने तयारी पनि गरेको छ ।
मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको पनि दाबी गर्न समेत भ्याए । अनियमितताको आशंकामा संसद्को लेखा समितिले आगामी सोमबार जवाफ दिन खरिद प्रक्रियामा संलग्न व्यक्तिहरूलाई बोलाएको छ । दुई दिन अघि शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रक्रिया विधिअनुसार नै भएको दाबी गरे । ‘यसलाई धेरै दोहोऱ्याउनुपरेन । कानुन सबैलाई थाहा छ ।पछिल्लोपटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ,’ उनले भने ।
मन्त्री ढकालले विदेशबाट आउनेहरूको हकमा एउटै जहाजमा आउनेमध्ये एकजनाको मात्रै पनि पिसिआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने पनि बताए । अन्यथा सबैलाई होम क्वारेन्टाइनमा पठाइने जानकारी दिए ।
यसैवीच, पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८-१८ तथा पाल्पा र रुपन्देहीमा १७-१७ जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ-आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात-सात, बारा र दाङमा चार-चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक-एकजना थपिएका छन ।
शनिबार ४९ महिला र २८२ पुरुष गरी कूल ३३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २०० बढी सङ्क्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ । कूल ७७ मध्ये ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ । रसुवा, ओखलढुङ्गा र मुस्ताङमा सङ्क्रमण देखिएको छैन ।