हिजो नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेको छ। नापी, मालपोत, जनगणना, आन्तरिक सुरक्षा आदि कार्यमा खटिएका कर्मचारीको एउटा पुस्ता नै त्यो क्षेत्रको सार्वभौमिकता नेपालको रहेको जिउँदा प्रमाण हुन् । माओवादी जनयुद्धका बेलामा मात्र त्यहाँबाट पुलिस पोस्ट हटाइएको तथ्य पनि जगजाहेर छ । नेपालको सार्वभौमिकताको ऐतिहासिक प्रमाण भनेको यही नक्सा संयुक्त रास्ट्र संघमा रहनु पनि हो ।
१९६२ को चीन भारत युद्धको बेलादेखि नै भारतीय सेनाको एउटा टुकडी त्यहाँ रहेको भए पनि नेपालले आफ्नो सार्वभौमिकतामा सम्झौता नगरेको अवस्था हो । स्मरण रहोस् नेपालका उत्तरी सिमानामा अरु पनि भारतीय चेक पोस्ट थिए जुन कीर्तिनिधि बिस्टको पालामा हटाइएको थिए। लामो कालखण्डसम्म लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको बारेमा कुरा उठाइएन। गणतन्त्र पूर्व, सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमसिंह धामीले संसदमा कुरा नउठाएको त होइन तर नेपालको राजनीतिका लिलिपुटहरुले विषयलाई नै लिलिपुट बनाए ।
त्यसपछि २०१५ भारत र चीनले नेपालसंग छलफल नगरी लिपुलेक हुँदै मानसरोवरसम्म पुग्ने नाका खोल्ने सम्झौता गरे। नेपालले त्यसको विरोध गर्यो । भनिन्छ त्यस्तो ऐतिहासिक प्रमाणले त्यो नेपालको क्षेत्र भएको प्रमाणित गरेमा हामी पुन विचार गर्न तत्पर छौँ भन्ने भनाइ चीनबाट आयो । तर दुई /दुई वटा डिप्लोम्याटिक नोट पठाउँदा समेत भारत भने मौन बसी रह्यो । सत्य यही हो ।
२०२० मा आइपुग्दा भारतले सडक निर्माण गरी सकेर उद्घाटन गर्छ । त्यसपछि मात्र नेपाल सरकारलाई थाहा भयो भनियो । यो आफैँमा अचम्मको विषय हो । आफ्नो क्षेत्रमा बाटो बनेको छ । मन्त्रीहरुका हेलिकोप्टर भ्रमण हुन्छन् तर सरकार थाहा पाउँदैन । यो सरकारले यसको चित्तबुझ्दो जवाफ नेपाली जनतालाई दिनु पर्ने हुन्छ । त्यसैगरी पूर्ववर्ती सरकारहरु र स्थायी सरकार भनिने प्रसाशन र सुरक्षा निकायहरुले पनि जवाफ दिनुपर्छ किन र कसरी कालक्रममा पछिल्ला नक्साहरुबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीको सहितको त्यो चुच्चे क्षेत्र हटाइए । त्यो खोजको विषय पनि हो । गणतन्त्र पूर्व पनि सांसद प्रेमसिंह धामीले यस क्षेत्रमा भारतीय उपस्थितिको विरोध संसदमै गरेका थिए । त्यसपछि पनि साना ठूला विरोध भए । विशेषगरी विद्यार्थीहरु तर्फबाट । तर त्यसपछि संबिधान निर्माणको बेलामा कसरी त्यो गल्ति दोहोरिन पुग्यो र संबिधानमा राखिएको मानचित्रमा यो क्षेत्र राखिएन ? त्यसको विषयमा संबिधान सभामा उपस्थित सबै पार्टीहरुले त्यसको उत्तर दिनु पर्दछ ।
अहिले चर्चामा ल्याउन खोजेको विषयको पृष्ठभूमि यही हो । नेपालको एउटा क्षेत्र कब्जामा छ । जनस्तरमा अन्योल र आक्रोश छ । सरकारले भारतीय राजदुतलाई बोलाएर डिप्लोम्याटिक नोट पठाएको छ भनिएको छ । भारतको राजनैतिक नेतृत्व उपेक्षा गरेर बसेको छ । सेनाको तर्फबाट कुटनैतिक शैलीमा भूमिको समर्पण वा युद्धको आह्वान गरिएको देखिने गरि बोलिएको छ । भारतसंग सामरिक रुपले असमान क्षमता भएको नेपाल अगाडि यो समस्या यक्ष प्रश्न भएर उभिएको छ । एकातिर देशको हिस्सा माथिको अतिक्रमण छ । अर्कोतिर कुटनैतिक प्रयत्नको आवश्यकता छ, जसलाई भारत आलटाल गरिरहेको छ ।
त्यसैले नेपालले रास्ट्रको रुपमा (सरकार र जनता) सुझबुझको साथ अघि बढ्नु पर्ने हुन्छ । पार्टीहरुको बिचमा निरन्तर छलफल गर्नु पर्ने हुन्छ । तुरुन्तै अन्तर्राष्टिकरणको बाटो लिनु हुँदैन । छलफलमा आउन भारतलाई बाध्य पार्न सकिन्छ र दुईपक्षीय वार्ता नै हुनु पर्छ । द्विपक्षीय छलफल गर्ने हो भने यो घटना भएको तेश्रो पक्षलाई अलग्याउने प्रयत्न गर्नु पर्छ । नेपालको यो अवस्था आउनमा चीन पनि जिम्मेवार छ । चीनको सहमतिमा भारतले नेपाल मिच्ने प्रयत्न गर्यो । यदि उसले साँचो अर्थमा त्यो क्षेत्र नेपालको भएको प्रमाण दिएमा पुनर्विचार गर्ने प्रतिवद्धता गरको छ भने भारत र उसको बिचमा नेपालको सहमति बिना र उसको सार्वभौमिकताको सम्मान नगरी उनीहरुका नाका खोल्ने सम्झौता पुनर्विचार गर्न दवाव दिनु पर्दछ । यसरी दुई देशको समस्या द्विपक्षीय वार्तामा जान्छ र उनीहरुको नाकासम्बन्धी छलफल पनि भारत र चीनको दुई पक्षीय हुन्छ । नबिर्सौ, आफ्नो स्वार्थको लागि चीन र भारतले नेपालमाथि अन्याय गरेकै हो । यो अन्याय चीनसम्म पुग्नको निम्ति भएको छ ।
नेपाल सानो क्षेत्र भए पनि नेपाल र चीन दुवै नेपालको सदाशय गुमाउन चाहँदैनन् । किनभने यी दुवैमा नेतृत्वको होड पनि छ । भारतलाई राम्ररी थाहा छ यसपालि नेपाली जनमत भड्कियो भने अत्यन्त लामोसम्म हुनेछ । किनभने यो राजनीतिभन्दा माथिको विषय हुने छ र रास्ट्रको रुपमा नेपाल र नेपालीले अपमानित महशुश गर्ने छ । नेपालसंगको भारतको सम्बन्ध भारतीय राजनीति भित्रको कमजोरी पनि हो । भारतीय राजनीतिमा नेपालसंगको बिग्रँदो सम्बन्ध सरकारको असफलताको रुपमा हेरिन्छ । त्यसैले जनस्तरबाट भारतीय विद्वान, मित्र र पत्रकारसंग नेपालको धारणा र तथ्य राम्रोसंग राख्नु पर्छ । एउटा स्वतन्त्र देशको स्वतन्त्र नागरिकले अर्को देशको स्वतन्त्रतालाई सम्मान गर्छन् । भारतभित्र स्वतन्त्रतालाई सम्मान गर्ने भारतीय मित्र पनि छन् । यसले भारतको राजनीतिमा हावी हुँदै गरेको छिमेकी विरोधि गतिविधिमाथि दवाव सृजना गर्ने छ । बाटो लामो हुनसक्छ तर लामो समय लगाएर गरिएको गल्ती सुधार्न लामा सर्त तेर्याउनु पर्ने हुनसक्छ । अलिक लामो मेहनत गर्नुपर्ने हुन सक्छ । तर अन्यायसंग समर्पण होइन पुर्खाले दिएको जमिन जोगाउन प्रतिवद्धता र एकता बनाउनु पर्ने हुन्छ ।
यसदेखि बाहेक कसै कसैले अन्तर्राष्ट्रिय न्यायालयको पनि कुरा गरेको सुनिन्छ । हेक्का राखौँ, अहिले अन्तर्राष्ट्रिय न्यायिक व्यवस्था भित्र निर्णय नेपाल पक्षमा नहुने प्रवल सम्भावना छ। भए पनि कार्यान्वन हुदैन । अहिलेको विश्व व्यवस्थाभित्र कार्यान्वनको संयन्त्र नै छैन भन्दा हुन्छ । चीन र फिलिपिन्सकै उदाहरण हेरे पुग्छ, चीनले अदालतको आदेश अनुसार दावी फिलिपिन्सले गरेको भूमि छोडेन । त्यसैले नेपालले पहिले आफ्नो सार्वभौमिकता कायम गर्ने हो, द्विपक्षीय छलफलबाट ।
जनस्तरबाट देशभक्तिपूर्ण सुझबुझ र समुदाय र जनता बीचको एकतालाई अझ उचाईमा लाग्दै १९६० को दशकदेखि अहिले सम्मका सबै सरकार र रास्ट्रको रुपमा नेपालको गल्ती र भारतीय अतिक्रमणको बारेमा सबैलाई शिक्षित गर्दै यो भूमि फिर्ता गराउने विषय नेपाल र नेपालको राजनीतिक पार्टीहरुको अजेण्डामा राख्न दबाब दिँदै सीमा नियमन गर्ने बहसलाई निरन्तरता दिनु पर्दछ ।

उपाध्याय राजनीतिक र मानवअधिकारका विषयहरुमा कलम चलाउँछन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार