महोत्तरी । लकडाउनमा महोत्तरीको गौशाला नगरपालिका–१२ गैरीटोल मुसहरीका १६ घरपरिवार मुसहरले नयाँ पक्की घर उपहार पाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको ‘तराई मधेश समृद्धि कार्यक्रम’अन्तर्गत त्यहाँका १६ घर मुसहरले नयाँ पक्की घर उपहार पाएका हुन् । त्यहाँका १६ परिवार मुसहर शुक्रबार नै पराले झुप्रा बस्तीबाट पोकापन्तरा बोकेर बाजागाजा बजाउँदै नयाँ घरमा सर्दा मुसहर बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग छन्, प्रफुल्लित छन् ।
एउटै बस्तीभित्र एकै आकारका १६ वटा नयाँ घर छन् । भूकम्प प्रतिरोधी सबै घरमा इँटाको गारो र निलो रङको जस्तापाताका छाना लगाइएको छ । शौचालय, सडक, विद्युत् र खानेपानी सुविधासहितको नयाँ बस्तीमा बरण्डासहितका फराकिला तीन कोठा छन् । सुविधासम्पन्न १६ घरको एकीकृत नमूना नयाँ बस्ती अहिले परैबाट चम्किरहेको देखिन्छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रु एक करोड र महोत्तरी–१ ‘ख’ का प्रदेशसभा सदस्य भरतप्रसाद साहको क्षेत्र विकास कोषको रु छ लाख ६६ हजारसहित जम्मा रु एक करोड छ लाख ६६ हजारको लागतमा मुसहरका लागि १६ घर तयार भएको निर्माण कार्यको रेखदेख र समन्वय गर्नुभएका गौशाला–१६ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो । एक घर निर्माणमा रु छ लाख ६६ हजार खर्च भएको विश्वकर्माको भनाइ छ ।
लकडाउनले घेरिएर बाहिर कामकाज गर्न जान नपाएर खानपिउन नै समस्या भइरहेका बेला नयाँ पक्की घर पाएपछि मुसहर परिवार दङ्ग देखिएका छन् । “हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि ५० वर्षीय दशैयाँ सादाले भन्नुभयो, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।”
पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका मुसहरका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ । गौशाला नगर क्षेत्रका मुसहरका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर सुरक्षित आवास कार्यक्रम निरन्तर सञ्चालन गरिरहने नगरप्रमुख शिवनाथ महतोको भनाइ छ । अब एक वर्षभित्रै नगरका ४, ६ र ८ नं वडाका ७१ परिवार मुसहरलाई नयाँ पक्की घरमा सारी सकिने नगरप्रमुख महतोले बताउनुभयो ।
प्रदेश नं २ सरकारको जनता आवास कार्यक्रमअन्तर्गत यो काम शुरु भइसकेको महतोको भनाइ छ । नयाँ बस्ती बसाउन १८ कठ्ठा जग्गाको व्यवस्थापनमा गौशाला–१२ का स्थानीय माधव मोक्तानले रु पाँच लाख र १२ नं वडा समितिले विभिन्न व्यक्ति र सङ्घसंस्थासँग समन्वय गरेर रु तीन लाख व्यवस्था गरेको गौशाला नगर कार्यपालिका कार्यालयले जनाएको छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय