महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले थप प्रेरित गर्नेछ: प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।

आज २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको पनि बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जनाउँदै उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ ।

सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमण र महामारीबाट प्रभावित नभएको भए अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुने थियो भन्दै प्रधानमन्त्री ओलीले त्यस अवसर र सफलताबाट हामी बञ्चित हुनुपरेको उल्लेख गर्नुभएको छ । “गत साल भियतनामको हनोइबाट यसको घोषणा गरेबमोजिम अन्तर्राष्ट्रिय वैशाख दिवसको तयारीमा लागिरहेका हुनेथियौँ । नेपाल भ्रमण वर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमका रूपमा लुम्बिनी चहलपहलमय हुने थियो”, उहाँले सन्देशमा भन्नुभएको छ, “भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर्ड फ्लाइट अवतरण भइरहेका हुने थिए । बुद्धजयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुने थियो ।”

प्रधानमन्त्री ओलीले सरकारले चालेको प्रभावकारी कदम र सम्बद्ध सबैको रचनात्मक सहयोगका कारण कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पार्नुभएको छ । “यो हामी सबैका लागि सन्तोषको कुरा हो । यस महामारीबाट विश्वभरि ज्यान गुमाउने सबैप्रति म, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु । साथै सङ्क्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्छु”, उहाँले सन्देशमा भन्नुभएको छ, “विश्वव्यापी साझा प्रयास र एकताको बलमा यस महामारीलाई परास्त गरी मानव समुदायको जीवनरक्षा गर्न सफल हुनेमा म विश्वस्त छु ।”

आज साँझ दीप प्रज्वलन प्रधानमन्त्री ओलीले आज कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा र सङ्क्रमितको स्वास्थ्यलाभको कामना गर्दै सबैलाई आज साँझ दीप प्रज्वलन गर्न आह्वान गर्नुभएको छ । सन्देशमा उहाँले कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा, लकडाउनका कारण मानसिक तनावमा परेकाहरुमा शान्तिका लागि र सङ्क्रमितहरुको स्वास्थ्यलाभ तथा उनीहरुको उपचार र हेरचाहमा संलग्न रहेका अग्रपङ्क्तिका योद्धाहरुप्रति ऐक्यबद्धता जाहेर गर्न दीप प्रज्जवलन गर्नसमेत सबैमा आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री