काठमाडौँ । झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय नागरिकहरुले नेपाल प्रवेश गर्न नपाएपछि नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेका छन् । त्यसपछि त्यहाँको सुरक्षा ब्यवस्था कडा पार्न थप सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सोमबार साँझ तनाव उत्पन्न भएपछि नेपाली सुरक्षाकर्मीहरुले हवाई फायर गर्नुपरेको थियो ।
झापा गाउँपालिका वडा नं. ४ सुकुम्बासी बस्तै नजिकै रहेको सीमामा शुरुमा दुई भारतीय नेपाल प्रवेस गर्न खाजेका थिए । उनीहरुलाई रोकेर फिर्ता पठाएपछि केहीबेरमा १ सय ५० भन्दा बढी भारतीयहरु घरेलु हातहतियारसहित नेपाली सुरक्षाकर्मीलाई आक्रमण गर्न आएका थिए । सानो संख्यामा रहेका सुरक्षाकर्मीहरुले हवाइफायर गरेपछि उनीहरु भारततर्फ भागेको सुरक्षा श्रोतले जनाएको छ ।
उक्त घटनापछि राति नै थप बल त्यहाँ पुगेको जनाइएको छ । सशस्त्र प्रहरी निरीक्षक दिनेश आचार्यको कमाण्डमा थप सुरक्षाकर्मी त्यहाँ परिचालित भएको र भारतीय सुरक्षाकर्मीहरुसंग समेत समन्वय गरी दुवैतर्फ सिमामा कडाई गर्न थालिएको सुरक्षा श्रोतको भनाइ छ ।
नेपाली सुरक्षाकर्मीले फायर समयमा नै खोलेकाले उनीहरुले आक्रमण गर्न नसकेको पनि बताईन्छ ।
सोमबार नै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर सहित जिल्लाका राजनीतिक दलका प्रमुखहरुले झापासंग सिमा जोडिएका सीमा नाँका र त्यहाँ परिचालित सुरक्षाकर्मीहरुको अवस्था बुझेको थियो । टोलीमा सहभागी जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार कष्ठप्रद रुपमा सुरक्षाकर्मीहरु सीमा सुरक्षा गरी बसेको पाईएको छ ।