लन्डन । कोरोना भाइरस (कोभिड १९)को सामान्य संक्रमणको आंशकामा घरमै आइसोलेसनमा बसेका बेलायतस्थित नेपालीहरु आफ्ना स्वास्थ्य अवस्थाका बारेमा खुलेर कुरा राख्न थालेका छन् । करीब एक लाख नेपाली बसोवास गर्ने बेलायतमा कोरोना भाइरसका बारेमा सामाजिक संजालमा बिमारी रहेको फोटोसहित आफूले भोगिरहेको स्वास्थ्य समस्यासहित छलफल गर्न थालेका हुन् ।
बेलायतमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या दिन प्रतिदिन बढे पनि सामाजिक संजालमा केही नलेख्ने तथा आफू निकटका साथीहरुलाई समेत बताउन हिचकिचाउने थुप्रै नेपाली थिए । पछिल्ला दिनमा हिनताबोध हट्दै गएको महशुस समुदायका अगुवाहरुले गर्न थालेका छन । बेलायतका जिपी डा. मनोहर बुढाथोकीले आइसोलेसनमा बस्दा हीनतावोध तथा लघुताभाष मान्नु जरुरी नरहेको बताए । ‘आइसोलेसनमा भनेको आफू पनि बच्नु र परिवारलाई पनि बचाउनु हो । अहिले ज्यान बचाउने बेला हो । यदि एक\दुई हप्ता आइसोलेसनमा बस्दा ज्यान बच्न सक्छ भने किन संकोच मान्ने ?, डा बुढाथोकीले प्रतिप्रश्न गर्दै भने, ‘यो भाइरसबाट सबैलाई असर परिरहेको छ । समाजमा यो भाइरस फैलन नदिन लाग्नु पर्यो । त्यसैले समयमै सचेत बनौँ र असजिलो नमानी आइसोसेलनमा बसौँ ।’
पछिल्ला घटनाक्रमले पनि आफ्नो स्वास्थ्य समस्या बारेमा नेपालीहरुलाई बोल्न सहज बनायो । जब कोरोना भाइरस संक्रमणबाटै दुई नेपाली लीलाबहादुर राई र प्रसान्त अर्यालको निधन हुन पुग्यो । त्यसपछि नेपाली समुदाय बिस्तारै स्वास्थ्य समस्याका बारेमा अनुभव आदानप्रदान थाल्यो ।
बेलायतमा सयौँ नेपाली कोरोना भाइरस संक्रमित भएको अनुमान गरिएको छ । तर, बेलायत सरकारले लक डाउन गरेपछि प्राय सबै घरमा भएकाले आफैँले वा आफ्ना परिवारका कसैले अरुलाई नभनेसम्म एक अर्कालाई जानकारी हुन सक्ने अवस्था छैन ।
गत साता समाजसेवी विश्वआदर्श पण्डितले आफूहरु परिवारसहित सेल्फ आईसोलेसनमा बसेको जानकारी सामाजिक सजाल फेसवुक मार्फत गराए । उनले कोभिड १९ संक्रमणका शंका लागेमा घरमै बसेर अरुका स्वास्थ्यमाथि हुने जोखिम घटाउनु सामाजिक संजाल मार्फत अनुरोध पनि गरे ।
साउथ इस्ट लण्डनमा व्यवसाय चलाउदै आएका पदम (कपुर) राणाले कोभिड १९ लागि जितेर परिवारसहित होम आइसोलेसनमा बसेका छन । राणाले आफू व्यायाम गर्न जाने जीमबाट कोरोना संक्रमण भएको आशंका गरेका छन् । त्यस्तै, समाजसेवी भगवती रानाभाट कोभिड १९ लाई जितेर परिवारसहित होम आईसोलेसनमा छिन् । कोभिड १९ सित लडिरहेको फोटो सामाजिक सजालमा पोष्ट गरेकी उनी गत मार्च ८ वेष्ट लण्डनमा एनआरएनए यूकेले गरेको विश्व महिला दिवस कार्यक्रममा सरिक भएर घर गएपछि विमारी भएको जनाएकी थिइन् । उनीहरु दुवै जनाले मिडियामार्फत आफ्नो अनुभव शेयर गरी समुदायलाई सचेत बनाउन सहयोग गरे ।
यसैगरी चितवन घर भई साउथ इस्ट लन्डनमा बसोवास गर्ने समाजसेवी गोविन्द रिजालको फोटोसहित कोभिड १९ संक्रमणसँग लडिरहेको जानकारी समुदायलाई दिइएको छ भने सोसाइटी अफ नेपलिज प्रोफेसनल्स् यूकेका शेखर वाग्ले र उनकी श्रीमती मुना वाग्लेले पनि गत १७ मार्चदेखि ज्वरो आएर परि थला परेको जानकारी सामाजिक संजाल मार्फत शेयर गरिएको छ । समाजसेवी वाग्लेले ज्वरो, खोकी, श्वासप्रश्वासमा आएको समस्या तथा अरु शरीरिक समस्या अनि बेलायतका स्वास्थ्य स्थितिका बारेमा वहाँले भोग्नु परेको पीडा र यथार्थका बारेमा छर्लङ्ग हुने गरी लेखेका छन्।
कोरोना भाइरस एक नयाँ रोग भएकाले स्वास्थ्यकर्मीहरु, वैज्ञानिकहरु यस रोगको सबै एकपछि अर्को लक्षण र यस रोगको चरित्र देखा पर्दै जाँदा अचम्भित छन् । यस्तो पृष्ठभूमिमा यस रोगबाट संक्रमितहरुले निर्धक्क आफ्नो अनुभव शेयर गरेको अवस्थामा समुदायका अन्य सदस्यहरु सजग र सचेत बन्न सहयोग मिल्ने छ ।
विश्वका उत्कृष्ट मध्ये एक मानिएको बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले विमारीको चाप थाम्न नसकेपछि कोरोनाको आंशका भएका व्यक्तिलाई घरमै बस्न अनिवार्य उर्दी जारी गरेको छ । फोन सम्पर्कपछि मात्रै एम्बुलेन्सले अस्पताल लग्ने हुँदा बहुसंख्यक कोरोना भाइरस संक्रमित सिटामोल खाएर घर बस्न बाध्य छन् ।
यसबीचमा बेलायतस्थित नेपाली राजदूतावास र नेपाल पत्रकार महासंघ युके शाखा, एनआरएनए यूकेलगायतका संघसस्थाले भाइरस संक्रमणबाट जोगिन आव्हान र जनचेतना जगाउने काम गरिहेका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त