लन्डन । अमेरिका इरान टकरावले विश्व ध्यान खिचिरहेका बेला बुधबार बेलायती राजदरबारबाट एउटा अप्रत्यासित खबर सार्वजनिक भयो । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरुको जिम्मेवारी कम गर्ने र आर्थिक हिसाबले स्वतन्त्र बन्न काम गर्ने घोषणा गरेपछि सर्वत्र चासो व्यक्त भएको छ ।
बेलायतबाट प्रकाशित हुने सबैजसो अखबारले बिहीबार यस समाचारलाई प्रमुखताका साथ छापे ।
ड्युक तथा डचेस अफ ससेक्सको उपाधि समेत पाएका दम्पतिले एक वक्तव्यमा आफ्नो समय बेलायत र उत्तरी अमेरिकाबीच बांड्ने जनाएका छन् ।
उनीहरुको वक्तव्य बकिंङघम राजदरबारसंग सरसल्लाह नगरिकनै जारी गरिएकाले राजपरिवारका वरिष्ठ सदस्यहरु उक्त घोषणाबाट दुःखी भएको बीबीसीले जनाएको छ । यद्यपि, ति दम्पतिले कयौं महिनाको आन्तरिक छलफलपछि यस निर्णयमा पुगिएको बताएका छन् । राजकुमार ह्यारी राजगद्दी उत्तराधिकारीको छैठौं वरियतामा छन् ।
आफ्नो छोराको पठनपाठन तथा नयां कल्याणकारी काम शुरु गर्न पछिल्लो निर्णयले सहयोग पुग्ने आशा उनीहरुको छ । गत मेमा जन्मिएका उनीहरुको पहिलो सन्तान आर्ची ह्यारिसन अहिले ८ महिनाका भए ।
गत अक्टोबर महिनामा राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनले लगातार सञ्चारमाध्यमहरुको ध्यान आफूहरुमाथि केन्द्रित भइरहंदा जीवनमाथि परेको दबाब र तनावबारे चर्चा गरेका थिए । त्यस लगत्तै हयारीले केही मिडियाले गैर कानूनी रुपमा आफ्नो ’भ्वाइस मेसेज’ सुनेको आरोप लगाउंदै बेलायतबाट प्रकाशित हुने सन तथा डेली मिरर समाचारपत्रविरुद्ध कानूनी कारवाही शुरु गरेका थिए । १० प्याराग्राफ लामो वक्तब्य लेख्दै ह्यारीले ट्याबलोइड पत्रिकाहरुले आफ्नी आमा स्वर्गीय डायनाले भोगेको जस्तो पीडा दोहोरयाउन खोजेको आरोप लगाएका थिए ।
उनकी श्रीमती मेगनले पनि मेल अखबारविरुद्ध आफ्ना पितालाई लेखेको गोप्य पत्र प्रकाशित गरेको आरोप लगाउंदै मुद्दा दायर गरेकी थिइन् ।
ह्यारी मेगन बिवाह लगत्तै उनीहरूलाई १९ मे २०१८ मा ड्यूक एन्ड डचेस अफ ससेक्स उपाधि प्रदान गरिएको थियो ।
क्रिसमसका बेला ह्यारी मेगनले शाही जिम्मेवारीबाट ६ साता बिदा लिएर छोरासंगै क्यानडा गएका थिए । क्यानडाबाट फर्किए लगत्तै गत मंगलबार लन्डनस्थित क्यानडेली हाइ कमिसन गएर हयारी (३५) र मेगन (३८) ले क्यानडामा आफूहरुको न्यानो आतिथ्यका लागि आभार व्यक्त गरेका थिए ।
३१ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेका ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान ह्यारी मेगनको यो निर्णयबाट आश्चर्यचकित भने भएनन् । ‘पछिल्लोपटक घरभित्रको मनमुतावका खबरहरु आइरहंदा मलाई ढिलो चांडो यस्तो हुन्छ भन्ने लागेको थियो’, देवानले भने, ‘मेगन सेलिब्रेटी र ह्यारी अलिक चुलबुले स्वभावका भएकाले उनीहरु स्वतन्त्र बस्न खोज्नु स्वभाविक हो । यद्यपि, टाइटिल नत्यागेकाले राजदरबारसंग लिंक त रहिरहन्छ जस्तो लाग्छ ।’
बेलायतमा नेपालीको पहिलो उर्जा कम्पनी जिइनर्जीका निर्देशक समेत रहेका देवान रानीसंग सल्लाह नगरि यस्तो निर्णय गर्न चाहिं नहुने थियो भन्ठान्छन् ।
बेलायती राजपरिवारको लोकप्रियता विश्वमै उच्च छ । बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न वर्षेनी करिब डेढ करोड पर्यटक दरबार पुग्ने गरेका छन् ।
भिजिट ब्रिटेनका अनुसार, बेलायती पर्यटनको प्रमुख आधार शाही आवास गृह बकिङहम प्यालेस र वीन्डसोर क्यासल हुन् । कन्सल्टेन्सी ब्राण्ड फाइनान्सको तथ्यांकमा सन् २०१७ मा बेलायती राजतन्त्रले अर्थतन्त्रमा एक दशमलव ८ बिलियन पाउण्ड योगदान गरेको थियो । यसमध्ये ५ सय ५० मिलियन पाउण्ड शाही पर्यटनबाट भएको थियो ।
प्रिन्स हयारीको साइनो नेपाल र गोर्खा सैनिकहरुसंग निकट छ । महाभूकम्प लगत्तै नेपाल भ्रमण गरेका राजकुमार हयारीले उत्तरी गोर्खाको लापु गाउं विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए ।
उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए ।
कुनै बेला अफगानिस्तान युद्धमा संगै रहेका हयारीले गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनी बताउंछन् । राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन् ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन