लन्डन । बेलायतमै नेपाली फिल्म निर्माणक्रम बढिरहंदा अर्को थपिएको छ ‘कैदीको पत्र’ ।
आफ्नो सारा जीवन बेलायतमै समर्पित गरेका स्वर्गीय साहित्यकार ईश्वर मानन्धरको कथासंग्रह ‘कैदीको पत्र’ मा आधारित उक्त फिल्म अहिले पोष्ट प्रोडक्सनमा छ ।
४० दिन लगाएर शतप्रतिशत छायांकन बेलायतको स्कटल्याण्डमा गरिएको र करिब २० जना बेलायती कलाकारले अभिनय गरेको निर्देशक सनमकुमार बैराग बताउंछन् । फिल्ममा स्कटल्याण्डको एडिनबरा, क्रिफ, अबेरफेल्दी, केनमोर, ओबेन, किलिङग, ग्लास्गो आदिमा छायांकन गरिएको हो । फिल्ममा ३५ प्रतिशत अंग्रेजी भाषा छ । बेलायतको नेपाली नयां पुस्ता आकर्षित गर्न अंग्रेजी भाषा समावेश गरिएको सनमले बताए ।
तीव्र महत्वकांक्षा सन्तुलन गर्न नसकिए त्यसले अनिष्ट निम्त्याउंछ भन्ने फिल्मको मुल मर्म छ । सामाजिक विषयवस्तु र बेलायती नेपाली संस्कृतिको समिश्रण यसको अर्को पाटो हो । बेलायतमा फिल्म निर्माण चुनौति देख्छन् निर्देशक बैराग । ‘यहांको स्थानीय निकायसंग अनुमति लिनुपर्ने झन्झट, प्राविधिक, कलाकार आदि व्यवस्थापन सहज छैन्’, उनले भने, ‘यद्यपि अब वर्षैपिच्छे फिल्म निर्माणको सोच बनाएको छु ।’
२ घण्टा दश मिनेट लामो फिल्ममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित कुनाल विश्व, म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्बीराज खत्री, किरण कार्की, क्यारी डुड्स, सुवर्ण थापा, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, विजया श्रेष्ठ आदिको भूमिका छ ।
भिजन संसारले प्रस्तुत गरेको उक्त फिल्ममा बैरागको निर्देशन, गीत पटकथा एवं संवाद छ । केबी प्रोडक्सन, हिरल जोशी र दील घलले करिब डेढ करोड रुपैयां लगानीमा निर्माण गरेका हुन् ।
बैराग दुई दशक अघि बेलायत आएका हुन् । नेपालमै छंदा टेलिफिल्ममा कथा, गीत एवं नाटक लेखन र अभिनय गरेका उनी लन्डन आएपछि पनि यस कार्यबाट टाढिएनन् । उनले सन् २०१६ यता वर्षेपिच्छे समयदृश्य, जीगिषा, भानुभक्त र भिमसेन थापा नामक नाटक मञ्चन गरेर दर्शक मन बटुलेका थिए ।
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री