
लन्डन । भारत सरकारले नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर आफ्नो राजनैतिक नक्सामा प्रकाशित गरेकामा भूतपूर्व गोर्खाहरुले रोष प्रकट गरेका छन् । भारतको यस कार्यले भूपू ब्रिटिश सैनिकहरुलाई अझ बढि असह्य र आक्रोशित बनाएको उनीहरुले जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ । आवश्यक परे तत्कालिन इष्ट इण्डिया कम्पनी प्रतिनिधि र संयुक्त राष्ट्रसंघलाई उपस्थित गराएर पनि नेपालको सार्वभौमिकताको रक्षा गर्न उनीहरुले जोड दिएका छन् ।
बेलायतसहित विश्वभर रहेका ब्रिटिश गोर्खा भूपू सैनिकहरुको प्रतिनिधित्व गर्दै ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता समिति तथा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालले घोर विरोध र भत्र्सना गरेका हुन् ।
‘इतिहासदेखि नै भारत नेपालको असल छिमेकी नभएर दुष्ट सन्धीयार बन्दै आएको छ । भारतले नेपालको विभिन्न प्रतिकूल परिस्थितिमा नाकाबन्दी लगाएर नेपाल र नेपाली जनतालाई सिध्याउने दुष्प्रयास पटक पटक गरेको छ’- विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘भारतको त्यो अन्याय एवं अमानवीय व्यवहारलाई हामीले एउटा छिमेकीको भूल ठानेर सहिदियौं । तर, आज नेपालको सार्वभौमिकता माथि नै आक्रमण गरेको छ । यो हामी सार्वभौम नेपाली नागरिक जो कसैलाई पनि सह्य हुनै सक्तैन । त्यसमाथि पनि नेपालको सार्वभौमिकता राष्ट्रिय अखण्डताका लागि जीवन समर्पित गर्दै आएका देशभक्त नेपाली नागरिक भूपू ब्रिटिश सैनिकहरुलाई अझ बढि असह्य र आक्रोशित बनाएको छ ।’
ति गोर्खा संस्थाले विज्ञप्तिमार्फत भारत सरकारलाई कालापानीमा अवैध ढंगले तैनाथ सैनिक तत्काल फर्काउन पनि माग गरेका छन् ।
‘सुगौली सन्धिमा उल्लेखित सीमालाई अन्तर्राष्ट्रिय कानूनको दायरामा रहेर पालना गर्नुपर्दछ । भारत सरकारले के हेक्का राख्न जरुरी छ भने भारतीय भूमी बचाउन गोर्खाहरुले नै अहोरात्र सीमा सुरक्षा गरिरहेका छन् । उनीहरुलाई पनि मातृभूमि नेपालको माया प्राण भन्दा प्यारो हुन्छ’- ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता समिति र गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका नेपाल एवं यूके संयोजक सन्तोष थलङले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल र नेपालीका हितमा सरकारद्वारा चालिने प्रत्यक कदमहरुको सधैं सहयोग र समर्थन गर्ने प्रतिवद्धता व्यक्त गर्दै विज्ञप्तिमार्फत यो सीमा समस्या समाधानका लागि नेपाल सरकार समक्ष विभिन्न सुझाव प्रस्तुत गरिएको छ ।
ति सुझाव यस्ता छन्-
-नेपाल सरकारले बिज्ञहरु सम्मिलित सीमा समस्या समाधान आयोग बनाएर तत्काल भारतले मिचेको जमिन अधिग्रहण गरि सदाका लागि सीमा समस्या नहुने गरी स्थायी सिमारेखा निर्माण गर्नु पर्दछ ।
-उक्त विवादित सीमा क्षेत्रमा बाक्लो सिमा सुरक्षाबल तैनाथ गर्नु पर्दछ ।
-त्यसैगरी त्यस सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई गाउं बस्तीबाट सदरमुकाम जोड्ने सडक, पुल निर्माण कार्यलाई उच्च प्राथमिकता दिई यथासक्य चांडो सम्पन्न गर्नुपर्दछ ।
-त्यस क्षेत्रका नागरिकहरुको जीवन उकास्ने विशेष योजना ल्याएर उक्त क्षेत्रमा थप गाउं बस्ती बस्न बसाउन आकर्षित गराउनु पर्दछ ।
-त्यहांका नागरिकहरुलाई सदरमुकाम जान पनि भारतीय सीमा पार गर्नुपर्ने स्थिति हुनु भनेको एउटा सार्वभौम राष्ट्रको हैसियत माथिको यक्ष प्रश्न हो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक