सन् १९७० को दशक । नेपालीहरु विस्तारै विदेश जाने प्रचलन शुरु हुंदै गर्दा आमनेपालीका हकमा सपना थियो त्यो । पारिवारिक पृष्ठभूमिका केही वा पढे लेखेका ज्यादै थोरै भाग्यमानीमात्र विदेशी भूमिमा टेक्न पाउंथे । ति भाग्यमानीमा ब्रिटिश गोर्खाहरुका सन्तान पनि गनिन्थे । अग्रजहरुकै स्मृति सुन्दा पनि अचम्म लाग्छ जतिबेला नेपाली अनुहार भेटिंदा टक्क अडिएर बोल्न मन लाग्थ्यो । नेपाली नेपालीको सानो झुण्ड बनाउनु अहिलेका हलमा कार्यक्रम भएभन्दा बढि महत्व लाग्थे ।
तर, समय बदलिएको छ । भनिन्छ, सार्क मुलुकबाहेक विदेश गएका नेपालीको संख्या अहिले ५० लाख हाराहारी छ । रोजगारी, अध्ययनबाहेक विदेशमै सेटल्ड भएका नेपालीको संख्या पनि लाखौं छ अब । प्रवासमा नेपालीको जनघनत्व बढिरहंदा तिनलाई एउटै नेटवर्कमा जोड्न, आफ्नो पहिचान कायम राख्न, दुःख सुःख बांड्न र मातृभूमिका लागि सामूहिक रुपमा केही योगदान गर्न केही अग्रजहरुको परिकल्पना स्वरुप एनआरएनए जन्म भयो । एनआरएनए सञ्जाल अहिले विश्वका ८० देशमा फैलिइसकेको छ । मेरो यो लेख एनआरएनए अभियानमै केन्द्रित रहनेछ ।
गैरआवासीय नेपाली संघ बेलायत स्थापनादेखि नै म यो पवित्र संस्थामा आवद्ध छु । बेला बेला मलाई लाग्ने गर्छ यो पनि एउटा नशा नै हो किनकि घर, परिवार अनि व्यापार व्यवसाय चटक्क छाडेर यो अभियान भनेपछि जहां पनि पुग्ने बानी भएछ । अहिले आफूलाई गैरआवासीय नेपाली संघको एक सिपाहीको रुपमा परिचय गराउन पाउंदा गौरवान्वित महशुस पनि हुन्छ । सन् २००५ देखि एनआरएनए यूकेमा आवद्ध भएलगत्तै २००७ देखि २००९ सम्म सदस्य, २००९ देखि २०११ सम्म उपाध्यक्ष र २०११ देखि २०१३ सम्म एनआरएनए यूके अध्यक्ष भएर धेरै अनुभव संगाल्ने अवसर पाएं । म जहिले पनि भन्ने गर्छु कि ग्रासरुटबाट आएको मान्छे यस संस्थामा लागेर मैले धेरै सिकें र अझै सिक्ने क्रम जारी छ ।
बेलायतवासी अग्रज अभियन्ता, आमाबुवा, दाजुभाई, दिदीबहिनीलगायतको आर्शीर्वाद र मायाले मैले सन् २०१३ देखि २०१५ सम्म आइसिसी सदस्य, सन् २०१५ देखि २०१७ मा यूरोप कोअर्डिनेटर र सन् २०१७ देखि २०१९ सम्म आइसिसी उपाध्यक्षका रुपमा काम गर्ने मौका पाएं । यी विभिन्न पदमा रहेर मैले धेरै आयामबारे बुझ्ने अवसर पाएं, साथीभाइ कमाएं ।
एनआरएनए यूके मेरो घर हो । मैले सामाजिक क्षेत्रमा जे जति राम्रो काम गरें, यहींबाट सिकेको हुं । मैले संस्थामा काम गर्न थाले लगत्तै एनआरएनए यूकेका अग्रजहरुको विश्वास जित्न सफल भएं । मैले इमान्दार पूर्वक गरेका काम यूकेवासी नेपालीहरुले मनपराइ दिनुभयो ।
एनआरएनए मार्फत मातृभूमिमा सेवा गर्ने मौका पाएं । मेरो जन्मभूमि पर्वत, जुम्ला, सुस्ता पुगेर नेपाली जनताको सेवा गर्दै उहांहरुको दुःखेको घाउमा मल्हम पट्टी लगाउन पाएं । एनआरएनए यूके अध्यक्ष हुंदा यहांस्थित संघसंस्थाहरुसंग सहकार्यलाई मैले पहिलो प्राथमिकतामा राखें । नर्सिङ एसोसिएसन यूकेसंग मिलेर जुम्लामा बर्थिङ सेन्टर निर्माण, नेपाल पत्रकार महासंघ यूकेसंग मिलेर पत्रकारका लागि अक्षय कोष स्थापना, सहारा यूकेसंग मिलेर नेपाली खेलाडीका लागि सहयोग गर्ने मौका पनि मलाई मिल्यो ।
त्यसबाहेक प्रवासबाट पनि जन्मभूमिको विकासका लागि लगानी गर्नुपर्छ भनेर ट्रेड एण्ड इन्भेस्टमेन्टको सुरुवात गरें । प्रवासमा रहेका साथीहरुको समूह बनाएर हाइड्रो, माइक्रो फाइनान्स, एनआरएनएको गौरव गर्ने मध्येका एक काम शंखमूल पार्क निर्माण मेरै नेतृत्वमा सम्पन्न भयो । उक्त पार्क संरक्षणका लागि ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
एनआरएनए यूके मेरो पाठशाला भएकोले यहांबाट आर्जन गरेको ज्ञान नै मैले खर्च गर्दै आएको छु । यसबीचमा, मैले साना ठूला गरी पांच दर्जन भन्दा बढी परियोजना सम्पन्न गरिसकेको छु ।
एनआरएनए यूके जस्तो संस्थालाई सधैं छाता संस्थाका रुपमा विकास गर्नुपर्छ भनेर होस् वा पूर्वअध्यक्षबाट संरक्षक बनाउन पर्छ भनेर सुरुवात पनि गरियो । यसले एनआरएनए यूकेलाई निरन्तर राम्रो बाटोमा अघि बढ्न सघाइरहेको विश्वास मलाई छ ।
एक व्यवसायीका रुपमा यूकेमा रहेपछि समाजसेवा र च्यारिटी मेरो पहिलो प्राथमिकतामा रहंदै आएको छ । मेरो हैसियतले म जति सक्छु, सहयोगका हात फैलाउंछु । हुन त मैले यति च्यारिटी गरें भनेर आफ्नै चर्चा बटुल्ने मेरो उद्देश्य पनि होइन् । तर, मलाई लाग्छ
मेरो सानो सहयोगले अरुलाई प्रेरित गर्नेछ ।
कतिपय मानिसहरु भन्ने गर्छन् एनआरएनए धनीहरुको क्लब बन्यो, यसले सर्वसाधारणलाई छोएन । म साथीहरुको त्यो भावनालाई कदर पनि गर्छु । किनकि जब हामी नेतृत्व चुन्ने तरखरमा हुन्छौं, तब हामीलाई पैसाको अहंमता बढ्छ । करोडौं खन्याउंछौं, कार्यकर्ता किन्छौं । यसो गर्दा क्षमतावान, बुद्धिजिवी पाखा लाग्नु स्वभाविक हो । यसको मैले घोर विरोध गर्दै आएको सर्वविदितै छ । म एनआरएनए केन्द्रिय अध्यक्षको प्रत्यासी भएकाले पनि मैले यस मुद्दालाई प्रमुख रुपमा उठान गरेको छु । यसबाहेक मेरो अर्को पनि चासो के छ भने नयां नेतृत्व केही व्यक्तिले टिका र आर्शीबाद लगाइदिएको भरमा चुनिनु हुन्न । प्रजातान्त्रिक ढंगबाट नयां समावेशी नेतृत्व अबको आवश्यकता हो । म यस संस्थालाई केही व्यक्तिहरुको जन्जिरबाट मुक्त गराउने अभियानमा पनि छु । मलाई यहांहरु सबैको साथ आवश्यक छ ।
(एनआरएनए यूकेको प्रकाशन ‘एनआरएन भ्वाइस’ बाट साभार)
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई