लन्डन । बेलायतको तीन दिने राजकीय भ्रमणका लागि सोमबार बिहान लन्डन उत्रिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहां स्वागत र विरोध दुवै सामना गर्नुपर्यो ।
सोमबार बिहान लन्डन आइपुगेपछि ट्रम्प र फस्ट लेडी मेलानियाले बेलायती रानी र प्रिन्स अफ वेल्सबाट न्यानो स्वागत पाए । उनीहरुको सम्मानमा गार्ड अफ अनर र ४१ ‘रोयल गन स्यालुट्स’ दिइएको थियो ।
भ्रमणको पहिलो दिन सोमबार मध्यान्ह ट्रम्प र फस्ट लेडी मेलानियालाई बेलायती महारानी, राजकुमार चार्ल्स र उनकी धर्मपत्नी क्यामिलाले लन्डनस्थित बकिङहम राजदरबारमा औपचारिक स्वागत गरेका थिए ।
सवा एक बजे ट्रम्पले रानीसंग प्राइभेट लन्च गरे भने दुई बजे दरबारमा अमेरिका-बेलायत ऐतिहासिक चित्र प्रदर्शनी अवलोकन गरेका थिए । ट्रम्प दिउसो सवा तीन बजे ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्न वेष्टमिनिस्टर आबी पुगे ।
त्यसैगरि अपरान्ह ४ बजे ट्रम्प चियापानका लागि चार्ल्स र क्यामिला निवास क्लेरेन्स हाउस पुगेका थिए ।
सांझ पौने ९ बजे ट्रम्प दम्पत्ति बेलायती दरबारमा आयोजित स्टेट ब्याङक्वेटमा सहभागी भए । सो अवसरमा बेलायती महारानी एलिजाबेथ द्वितीयले अमेरिका बेलायत सहकार्यले दशकौंदेखि दुवै देशका जनताको सुरक्षा र समृद्धि प्रत्याभूत गरेको बताइन् भने ट्रम्पले अमेरिका यूकेबीचको मित्रता कहिल्यै नमर्ने भन्दै प्रशंसा गरे । ट्रम्पले दोश्रो विश्व युद्धमा ब्रिटिश जनताको साहसको प्रशंसा गर्दै रानीलाई ‘महान महिला’ को समेत संज्ञा दिए ।
भ्रमणको दोस्रो दिन मंगलबार बिहान राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसंग भेटवार्ता गरे । १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताहरुबीच जलवायु परिवर्तन, चीनको विवादित टेलिकम्युनिकेसन कम्पनी हुवावेसंगको सहकार्यसहितका द्विपक्षीय चासोका विषयहरुमा छलफल भयो ।
सेन्ट जेम्स प्यालेसमा प्रधानमन्त्री मे संगको ब्रेकफास्ट बैठकमा रास्ट्रपति ट्रम्पले अमेरिका र बेलायतबीच व्यापार थप विस्तार गर्ने सम्भावना औंल्याए। उनले व्यापार बढाउन दुवै मुलुक इच्छुक रहेकाले एउटा सम्झौता गर्न प्रस्ताव पनि गरेका थिए ।
त्यसअघि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मे दूवै देशका बिजनेस टाइकुनहरुको सहभागिता रहेको एक बैठकमा सहभागी भए । जहाँ ट्रम्पले ब्रेक्जिटपछि बेलायतले अमेरिकासंगको व्यापार सम्बन्ध थप विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए ।
ट्रम्पविरुद्ध प्रदर्शन
अमेरिकी राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण विवादरहित हुन सकेन । बेलायतको प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले सोमबार सांझ ट्रम्पको सम्मानमा बेलायती राजदरबारमा आयोजित स्टेट ब्याङक्वेट बहिष्कार गरे । उता ट्रम्प र लन्डन मेयर सादिक खानको वाकयुद्ध पनि सतहमा आएको छ । ट्रम्पले सादिकलाई ‘स्टोन कोल्ड लुजर’ (जन्मजात हरुवा ) भन्दै कटाक्ष गरे । यसअघि मेयर खानले ट्रम्पलाई ‘फासिष्ट’ को संज्ञा दिंदै चर्को आलोचना गरेका थिए । ट्रम्पले अंगालेको नीति रंगभेद तथा सभ्य समाजका लागि अनुपयुक्त भएको टिप्पणी खानको थियो ।
राष्ट्रपति ट्रम्प भेटवार्तामा व्यस्त बनिरहंदा लण्डनसहित बेलायतका विभिन्न शहरमा भने उनीविरुद्ध प्रदर्शनहरु भए । लण्डनको ट्राफलगर स्क्वायरमा हजारौंको सहभागितामा भएको प्रदर्शनलाई विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले समेत सम्बोधन गरेका थिए ।
गत डिसेम्बरमा भएको एक मत सर्वेक्षणमा ७० प्रतिशत भन्दा बढी बेलायतीले ट्रम्पको आलोचना गरेका थिए । बोरिस जोन्सन राम्रो प्रधानमन्त्री हुनसक्ने र ब्रेक्जिट वार्तामा युरोपियन युनियनका कट्टर आलोचक नाइजेल फराजलाई पनि सामेल गर्नुपर्ने भनि राष्ट्रपति ट्रम्पले हालै दिएका अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित भएको भन्दै आलोचना भएको छ ।
अमेरिकी राष्ट्रपतिले बिना सम्झौता बेलायत ईयूबाट बहिगर्मन हुनुपर्ने बताउंदै आएका छन् ।
ईयूपछि बेलायतको दोश्रो ठूलो ब्यापार संबन्धका साथै बेलायतसंग सामरिक महत्व राख्ने देश अमेरिका भएकाले ट्रम्पको आलोचना बावजुद पनि उनको भ्रमण महत्वपूर्ण मानिन्छ ।
भ्रमणको अन्तिम दिन ५ जुनमा महारानी एलिजाबेथ द्वितीय र युवराज चार्ल्ससंगै राष्ट्रपति ट्रम्प पोर्टस्मथमा आयोजित ‘डि डे स्मृति समारोह’ मा सहभागी भए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे