लन्डन । उतारचढाव हरेक व्यवसायमा स्वभाविक छ । कहिले सफलताको शिखरमा, कहिले पूर्ण असफलता । लन्डन निवासी युवा व्यवसायी दीपेन्द्र कार्की यसको प्रत्यक्ष साक्षी हुन् । रेष्टुरेन्ट व्यवसायमा संकटका कारण उनकै शब्दमा ३ मिलियन पाउण्ड (करिब ४३ करोड रुपैयां) डुबाए तर कत्ति हरेस नखाइ लाग्दा दशकपछि फेरि तंग्रिएका छन् उनी ।
सन् २००८ देखि शुरु भएको आर्थिक मन्दी (रिसेसन), बिग्रंदो पारिवारिक सम्बन्ध र तीव्र महत्वकांक्षाले सन् २०१० तिर व्यवसायमा चुर्लुम्म डुबे दीपेन्द्र । ‘तीनवटा रेष्टुरेन्ट बन्द भएपछि म जीवनमै पहिलो पटक अरुको काम (होलिडे इन होटल) गर्न वाध्य भएं । त्यो बेला धेरै ठक्कर खाएं तर हरेस खाइन’- उनी विगत सम्झन्छन् । व्यवसायमा लागिरहेका नयां पुस्तालाई उनी नआत्तिइ मिहिनेत गरेर अगाडि बढ्न सुझाउंछन् । ‘आत्मबल, मिहिनेत र लगावले कुनै पनि क्षेत्रमा सफलता पाउन सकिन्छ’- उनलाई विश्वास छ ।
अहिले दिन उनकै पक्षमा फिरेको छ । आधा दर्जन रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारी कांधमा छ यतिखेर । बोस्टन म्यानरमा मन्टिज बैंक्यूटिङ, मन्टिज उषा, ‘नेपाल’ र मन्टिज साउथ इलिङ उनैले सम्हालेका छन् । ‘सेन्ट्रल लन्डनमा लास्ट ट्राइ गर्न मन छ’- उनी हौसिंदै थिए, ‘३० वर्ष भएछ रेष्टुरेन्ट क्षेत्रमा लागेको । छोरीहरु बाबा अब त यो काम छाड्नु भन्छन् । तर, मलाई केही वर्ष अझै गर्ने धोको छ । प्रोपर्टी व्यवसायमा लाग्ने सोच पनि छ ।’
सन् १९७६ मा सेफ बुबा विष्णु कार्कीका साथ लन्डन आएका थिए उनी । उमेर केवल दुई वर्ष । काठमाडौं सोल्टी ओबरायमा काम गर्दा गर्दै सन् १९७३ मा लन्डन आएका बाबुले नटराज, महाराजा लगायत रेष्टुरेन्टमा काम गरेपछि ‘मन्टिज’ शुरु गरेका थिए पार्टनरसीपमा । हरिसिंह थापा र महन्त श्रेष्ठसंगको साझेदारीमा सन् १९८० जुनमा खुलेको थियो ‘मन्टिज’ । विकेन्डमा बाबुलाई सघाउन जांदा जांदै दीपेन्द्र यही व्यवसायमा रमाउन थाले । तर, मन्टिजको पार्टनरसीप यात्रा ४ वर्ष नपुग्दै टुट्यो । सन् १९९२ देखि बुवा विष्णु कार्की एक्लैले चलाए ‘मन्टिज’ रेष्टुरेन्ट ।
सन् १९९९ मा २५ वर्षको थिए दीपेन्द्र । उनले इलिङ सपिङ मलमा ‘मन्टिज’ चलाउने आंट गरे । ‘कोहीपनि नेपालीले सपिङ मलमा रेष्टुरेन्ट खोल्ने आंट गरेका थिएनन् तर मैले ‘हाइ रिक्स, हाइ गेन’ भनेर आंटे’- उनले सुनाए- ‘राम्रो चल्दै गयो । आमाको नाममा उषा वेष्ट इलिङ, मन्टिज एक्टन, हिमालयन स्पाइस पनि लिएको थिएं । तर, २००८ को ‘रिसेसन’ र रेन्ट डबल भएपछि मलाई धान्न गारहो भयो । सपिङ मलमा तीन वर्षको लिज पनि सकिएपछि त्यहां बन्द गरें । मन्टिज हाउन्स्लो खोलेको त्यो पनि अल्कोहल बेच्ने लाइसेन्स नआएपछि चलाउन सकिएन ।’
‘बेलायतमा कम्पनी बन्द भएपछि केही तिर्नुपर्दैन तर मैले अस्तिसम्म तिर्दै थिएं’- उनी इमान्दार रहेको प्रमाणित गर्न खोज्दै थिए ।
१९८०-९० को दशकमा रेष्टुरेन्ट व्यवसायमा प्रतिष्पर्धा कम तर व्यापार राम्रो थियो । जनशक्ति पाउन पनि सजिलो । तर, अहिले सरकार नै कामदारप्रति अनुदार छ । मानिस सजिलै पाउन छाडिएको छ । बैंकले ऋण पत्याउंदैनन्, सामान खस्न नपाउंदै सप्लायर पैसा ताकेता गर्छन् । कामदारलाई ज्याला, कर, भाडा आदि इत्यादि खर्च छंदैछ । ‘हाम्रो पालामा सप्लायर्स पनि ६ महिना कुर्थे पैसा लिन । बैंकले सोधी सोधी ऋण दिन्थ्यो तर अहिले परिस्थिति त्यस्तो रहेन’- दीपेन्द्रको अनुभव छ ।
रेष्टुरेन्ट चल्ने मिठो खानाले नै हो भन्छन् उनी । ‘गुणस्तरमा कम्प्रमाइज गर्नै हुन्न’- उनी भन्छन्, ‘७० प्रतिशत मिठो खाना र बांकी अरु ‘फयाक्टर्स’ राम्रो हुन आवश्यक छ ।’
स्कुल, हाइस्कुल, कलेज बेलायतमै पढे पनि परिवारले नेपालीपन, नेपाली संस्कार सिकाएकाले आफ्नो मन मस्तिष्कमा नेपाल नै रहेको उनी बताउंछन् । उनले नेपाल फर्किएर उतै बस्ने भित्री इच्छा सुनाए तर व्यवहारमा त्यति सहज पनि छैन् । ‘मलाई नेपाल गएको बेला यति आनन्द लाग्छ’, उनले भने, ‘तर, विदेशमा बस्ने अधिकांश नेपालीले देश र नेतालाई गाली गरेको सुनिन्छ । वास्तवमा विदेशमा बसेर नेपाललाई गाली गर्ने अधिकार छैन् जस्तो लाग्छ ।’
दुई वर्षको उमेरदेखि बेलायत बसेपनि दीपेन्द्र राम्ररी नेपाली बोल्छन् । नेपाली चाडपर्व, रितिरिवाज, रहनसहन, कला संस्कृति उनलाई बडो चाख लाग्छ । तर, नेपाली समुदायका कार्यक्रममा उनलाई देखिन्न । न एनआरएनए वा अन्य संस्थामा बसेर पद ग्रहण गर्ने लालच छ । ‘सकिन्छ मातृभूमिका लागि केही सहयोग गर्ने हो नत्र संघसंस्थामा पद हानथाप बेकार हो’- उनको टिप्पणी छ ।
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ