लण्डन । कहिले सुल्झिँदै कहिले बल्झिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको विवाद अब समाधानतर्फ गएको छ ।
एनआरएनए युकेमा देखिएको विवादका बारेमा अध्ययन गर्न एनआरएन आइसिसीले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदन अनुसार आइसिसीले दिएको निर्देशन पालना गर्दै महेन्द्र कँडेल पक्षले आज कागजात र पैसा बुझाएपछि अब विवाद किनारा लाग्ने संकेत देखिएको हो ।
आइसिसीको निर्देशनबमोजिम आज कँडेलले ३ हजार सदस्यहरुको सदस्यता फारामसहितका कागजात र उम्मेदवारी शुल्कको बाँकी रकम एनआरएन युकेको संरक्षक परिषदसमक्ष बुझाएका छन् ।
बिहीबार साँझ वीनेपालीसित कुरा गर्दै कँडेलले भने – ‘आइसिसीले भनेअनुसारको कागजात र उम्मेदवारी शुल्क आज संरक्षक काउन्सिललाई बुझाएको छु ।’ उनले अब चाँडै आइसिसीले विशेष साधारणसभा बोलाएर नेतृत्व आफूलाई हस्तान्तरण हुनेमा विश्वास पनि व्यक्त गरे ।
केन्द्रले कँडेललाई सदस्यता फाराम र उम्मेदवारी शुल्क दाखिल गर्न दुई साताको समय दिएको थियो । त्यसपछि विशेष साधारणसभा गरी कँडेललाई नेतृत्व हस्तान्तरण गर्ने आइसिसीले निर्णय गरेको छ ।
एनआरएनए युके संरक्षक काउन्सिलका प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदी युकेबाहिर भएका कारण सुवेदीकै आग्रहमा कागजात र शुल्क एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले बुझेका थिए ।
कागजात बुझेपछि वीनेपालीसित प्रतिक्रिया दिँदै गुरुङले भने- ‘संरक्षक काउन्सिलले महेन्द्र कँडेलले बुझाउनुभएको ३ हजार सदस्यको सदस्यता फाराम, फोटो, परिचयपत्र, प्रुफ अफ अड्रेस सबै रुजु गरी बुझिलियौँ ।’
काउन्सिललाई सबै सदस्यता फाराम र कागजात रुजु गर्न करिब चार घण्टा लागेको थियो । काउन्सिलका अनुसार बुझाइएका सबै फारामहरु स्वीकृत भएका छन् ।
यसैगरी उम्मेदवारी शुल्कवापत बुझाउन बाँकी ३ हजार ४४० पाउण्डको प्रा.डा. सुवेदीको नामको चेक पनि कँडेलले बुझाएका छन् । यसअघि उम्मेदवारी शुल्क बढी भएको भन्दै कँडेल पक्षले आंशिक शुल्क मात्र बुझाएका थिए । अहिले शुल्क थपेर उनले योगेन्द्र क्षेत्री समूहले बुझाए बराबर बनाएका छन् ।
आइसिसीको पत्र मुताबिकको कागजात दाखिला भएपछि गुरुङले भने, ‘आजको रिपोर्ट म भ्याए आजै वा भोलि आइसिसीलाई बुझाइदिन्छु । त्यसपछि आइसिसीका पदाधिकारीहरुको बैठकले कहाँ, कहिले र कसले विशेष साधारणसभा बोलाउने भन्ने तोक्ने छ ।’
आइसिसीले तोकेको समयभन्दा अगावै कँडेल पक्षले जिम्मेवारी पूरा गरेकोमा खुशी व्यक्त गर्दै गुरुङले एनआरएनए युकेको छवि राम्रो बनाउन सबैले सहयोग गर्नपर्ने बताए ।
फार्नब्रोस्थित गोरखा प्यालेस रेष्टुरेन्टमा भएको कागजात हस्तान्तरण कार्यक्रममा एनआरएन युकेका संरक्षक काउन्सिल सदस्य मेजर रिटायर्ड डमर घले, आइसिसी सदस्यहरु सुषमा राई, विनोद ज्ञवाली र थर्क सेन, उपाध्यक्ष शान्ति थापा कुँवर र पूर्व प्रवक्ता जीव बेल्बासे उपस्थित थिए ।
एनअारएनए युकेको योगेन क्षेत्री समूहले यसअघि नै पत्रकार सम्मेलन गरी अाइसिसीले गठन गरेको छानविन समितिको प्रतिवेदन स्वीकार्ने बताइसकेकाे छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत