लन्डन । ब्रिटेन युरोपेली संघ (ईयू) मै रहनुपर्ने जनमत बढेको छ । ब्रिटेनको एक प्रमुख समाचारपत्रले गराएको पछिल्लो जनमत सर्वेक्षणले बेलायतका अधिकांश जनता ब्रिटेन युरोपेली संघमै रहने पक्षमा रहेको देखाएको हो ।
द इन्डिपेन्डेन्ट पत्रिकाले गराएको मत सर्वेक्षणमा सहभागी ५२ प्रतिशतले ब्रिटेन युरोपेली संघमै रहनुपर्ने अभिमत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री टरेजा मेले ब्रिटेन ईयूबाट बाहिरिन गरेको प्रस्तावित सन्धि संसदमा निर्णयार्थ प्रस्तुत गर्नु अघि सार्वजनिक भएको सो मत सर्वेक्षणलाई निकै महत्वका साथ हेरिएको छ ।
सो प्रस्तावित सन्धिमा मंगलबार बेलायती संसदमा मतदान हुने अपेक्षा गरिएको छ ।
मत सर्वेक्षणमा सहभागी झण्डै आधाजसो मानिसहरुले प्रधानमन्त्री मेले प्रस्तुत गरेको सम्झौता ब्रिटेनका लागि खराब रहेको र सांसदहरुले त्यसलाई अस्वीकार गर्नुपर्ने राय पनि राखेका छन् ।
द इन्डिपेन्डेन्ट पत्रिकाकालागि बिएमजी रिसर्च नामक कम्पनीले एकहजार ५ सय मानिससंग अन्तर्वार्ता गरी सो मत सर्वेक्षण गरेको थियो ।
करिब अढाइ वर्ष अघि २३ जुन, २०१६ मा भएको जनमत संग्रहमा ५१ दशमलव ८९ प्रतिशत जनताले बेलायत ईयूबाट अलग्गिनुपर्ने र ४८ दशमलव ११ प्रतिशतले ईयूमै रहनुपर्ने पक्षमा मत जाहेर गरेका थिए । बाहिरिने पक्षको जित भएपछि तत्कालिन समयमा प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए । क्यामरुनको राजीनामासंगै मेले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
प्रधानमन्त्री मेलाई ब्रेक्जिट सम्झौता संसदबाट अनुमोदन गर्न निकै सकस हुने विश्लेषण गरिएको छ । उनको डिल विरुद्ध सत्तारुढ कन्जरभेटिभ पार्टीकै झण्डै एकसय भन्दा बढि र १० जना डियूपी पार्टीका सांसद उभिएको बेलायती अखवारहरुले जनाएका छन् । पराजयको अधिक सम्भावनापछि प्रधानमन्त्री मे मंगलबारको मतदान सार्ने मनस्थितिमा रहेको समेत समाचारमा जनाइएको छ तर प्रधानमन्त्री कार्यालयले यसलाई इन्कार गरिदिएको छ ।
प्रधानमन्त्री मेले उक्त सम्झौता अनुमोदन गर्न नसके सत्ता आफूहरुले लिने प्रमुख प्रतिपक्षी लेबरले जिकिर गरेको छ । प्रधानमन्त्री मेले भने आफ्नो पक्षमा मत हालेर लेबरलाई सत्ताको चाबी नसुम्पन सांसदहरुसमक्ष आग्रह गरेकी छन् । लेबरले शक्ति लिए त्यो जोखिम सामना गर्न नसकिने खालको हुने दावी प्रधानमन्त्री मेको छ । प्रधानमन्त्रीको सम्झौता पारित हुन नसके नयां निर्वाचन हुने आंकलन पनि कतिपयको छ ।
ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) को ५८५ पृष्ठ लामो दस्तावेज अनुसार ब्रिटेनले ईयू छाड्दा ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, बेलायत र ईयू देशका नागरिकहरुको हक अधिकार सुनिश्चितता र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्ड बीचको सीमा नरोकिने लगायत कुरा उल्लेख छन् ।
बेलायतले आगामी २९ मार्च २०१९ मा ईयू छाड्ने तालिका छ ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन