लन्डन । सन् २००७ मा बेलायतमा नेपालीमुलको पहिलो काउन्सिलर बनेपछि धन गुरुङ नेपालीमात्र होइन, बेलायती मिडिया र स्थानीय राजनीतिमा समेत एकाएक उदाए । ४ वर्ष काउन्सिलर बनेपछि उनीबाट प्रेरित भएर यहांको स्थानीय राजनीतिमा लाग्ने अरु धेरै थपिएका थिए ।
यही अवधिमा चर्चित ब्रिटिश अभिनेत्री जोआना लुम्लीसंग भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउने आन्दोलनमा अग्रमोर्चामा रहे उनी । उनकै नेतृत्वमा फोकस्टन केन्टमा ‘गोर्खा मेमोरियल स्मारक’ बन्यो ।
बेलायतको नेपाली समुदायमा चिरपरिचित पूर्व काउन्सिलर धन गुरुङ सप्ताहन्त भने फरक भूमिकामा देखिए । १८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर निवृत्त उनी १८ वर्षपछि गायकका रुपमा एकल कन्सर्टमा देखिंदा उनका सहकर्मी अधिकांशले पल्टनको याद समेत गरे ।
‘संगीतप्रतिको उत्सुकता अहिले पनि उच्च छ तर पहिला युवावस्थामा जस्तो उर्जा नहुने रैछ’- कार्यक्रमपछि इमान्दार भएर उनले वीनेपालीसंग भने-‘संगीत अभ्यास अझै सशक्त गर्नुपर्छ मैले ।’
लन्डनस्थित हयारो बरो फुटबल क्लबमा आयोजित ‘द हिमालयन टु’ नामक सांगीतिक कन्सर्टमा उनले करिब दुई घण्टा १६ वटा गीत गाए ‘ननस्टप’ । क्वान्टिटी भन्दा क्वालिटीका दर्शकमाझ उनले ‘म नेपाली मेरो देश नेपाल’, ‘मेरी आमा’, ‘तिमी र म’, ‘दाया बाया चौतारी’ लगायत राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउंदा दर्शक भावुक देखिन्थे । हिमालयन ब्याण्डको आफ्नै संगीत र रचनाका १६ वटा गीत गुरुङले नै कम्पोज गरेका हुन् ।
रक ब्याण्ड ‘द हिमालयन टु’ का अन्य सदस्यहरु मेन ड्रमर राजीव राई, लिड गितारिष्ट पवन थापा, बेस गितारमा विनय राई र किबोर्डमा आशिक गुरुङले लाइभ म्यूजिकमा गुरुङलाई साथ दिएका थिए ।
उक्त कन्सर्टमा प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी । उनले मन्तव्यका क्रममा पूर्व काउन्सिलर गुरुङ बेलायत नेपाल सम्बन्धको एउटा कडी भएको बताउंदै इतिहासमा उनको नाम सधैं रहिरहने उल्लेख गरे । राजदूत डा. सुवेदीले गुरुङ र आफू एउटै माटोमा हुर्किएको प्रसंग कोटयाउंदै गुरुङको दुर्गम गाउंमा शिक्षाको उज्यालो ज्योति पुरयाउने अभियानको प्रशंसा पनि गरे ।
गुरुङले उक्त कन्सर्ट रोल्पाको बलभद्र माविमा २१ वटा कम्प्युटरसहित ब्रिटिश स्टाण्टर्डको ‘कम्प्युटर टेक्नोलोजी एजुकेशन सेन्टर’ बनाउन गरेका हुन् । आगामी १५ सेप्टेम्बरमा स्वीन्डन र बांकी शहरमा पनि ‘म्यूजिकल टुर’ गर्ने योजनामा छन् गुरुङ । हयारोको पहिलो कन्सर्टबाट ६ हजार पाउण्ड संकलन भइसकेको जनाउंदै गुरुङले १५ हजार पाउण्ड संकलन गरेर रोल्पा स्कुलमा कम्प्युटर व्यवस्थापन गर्ने बताए ।
यसअघि उनले झापाको काकरभिट्टा उच्च माविमा ३१ वटा कम्प्युटर प्रदान गरेका थिए ।
ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेका गुरुङ झापा मेची नगरका स्थायी बासिन्दा हुन् । उनी १२ वर्षको उमेर देखि नै संगीतमा लागेका थिए । सन् १९८७ मा पल्टनमा तालिमका दौरान घर र देशको याद आएर ‘डांडा पारीको त्यो गाउं…’ ब्रिटिश फोर्सेस गोर्खा रेडियो हङकङमा पहिलो पटक लाइभ गाएपछि उनी एकाएक चिनिएका थिए । त्यतिखेर ब्रिगेड अफ गोर्खाजमा उनको ‘डिमाण्ड’ खुबै बढेको थियो । आर्मीमा छंदा पनि गीत प्रस्तुत गरिरहने उनी केही समय संगीतबाट विश्राम लिएका थिए । ‘अब फेरि यसैमा लाग्ने सोचेको छु’- उनले भने ।
हयारो कन्सर्ट फ्रान्सिस्का घले राईले आयोजना गरेकी हुन् । औपचारिक कार्यक्रम एनआरएनए यूकेका प्रवक्ता रमेश सिंह सरांगकोटीले सञ्चालन गरेका थिए । उक्त कन्सर्टमा उर्मिला पउल राई, रबिन लिम्बु, आशिक गुरुङ लगायतले पनि बीच बीचमा गाए ।
तस्विर- शिव भण्डारी
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]